श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गरिन्।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आइओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा भयो।
मन्त्री श्रेष्ठले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे।
श्रेष्ठले वैदेशिक रोजगारमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गरे। त्यस्तै गरी वैदेशिक रोजगारीबाट आर्जन गरेको सीप र पुँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले गरेको सहयोगको समेत मन्त्री श्रेष्ठले चर्चा गरे।
‘पाँच बर्षे रणनीतिमा उल्लेख गरिएका बिषय कार्यन्वयन गर्नमन्त्रालय र आइओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्छ। मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच बर्षे संयुक्त रणनीति पत्रको मस्यौदा गर्न विज्ञ समिति गठन आबश्यक छ,’ मन्त्री श्रेष्ठले भने।
मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने राज्यको नीति रहेको बताए।