श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदुत डेनियला सेजोनोभ टेनले भेट गरेका छन्।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–रोमानियाको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिषा आवेदनका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेकोले नेपालबाटै हुने गरी सहजिकरणको लागि समन्वय गर्न आग्रह गरे।
मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको चर्चा गर्नुहुँदै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताए। नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गर्दै मन्त्री श्रेष्ठले प्रस्तावित मस्यौदाप्रति आएको सकारात्मक प्रतिकृयाका लागि धन्यवाद दिए।
पछिल्लो पाँच बर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या ७ हजार ६ सय १८ जना रहेको छ। नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्वन्ध स्थापना भएको थियो। नेपालको तर्फबाट जर्मनीको बर्लिन र रोमानियाको तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दुतावासमार्फत कुटनीतिक सम्वन्ध कार्यान्वयन भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
युरोपेली मुलुक रोमानियामा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले नेपालीका लागि उपयुक्त गन्तव्य हुनसक्ने वैदेशिक रोजगार विज्ञहरुको भनाइ छ। राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताए।
राजदूत डेनियला राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्लीबाट काठमाडौं आउनुभएको थियो ।