वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति चयन भएको छ।
समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि उद्धव भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको वरिष्ठ उपाध्यक्ष थिए।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो कान्तिपुर), उपाध्यक्षमा रेशमराज पौडेल (मध्यान्ह दैनिक), महासचिवमा केशव भूल (नेपाल प्रेस), सचिवमा निर्मला घिमिरे (सेतोपाटी), कोषाध्यक्षमा मनुका कुँवर (रेडियो नेपाल) छन्।
त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान (क्लिकमाण्डु), अमिर लामा (आर्थिक प्लस), प्रविन राउत (आर्थिक दैनिक) र सुरेन्द्र बजगाई (उकेरा)चयन भएका छन भने सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन।
कार्यक्रममा समाजद्धारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन, कोभिडपछि अवको बाटो’समेत विमोचन गरिएको थियो।
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथिका तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको यर्थाथताकाबीच अधिकांश नेपाली वाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको बताए।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षा तथा मानवअधिकारका सम्बन्धमा सरोकारवाला सबैको ध्यान जानुपर्ने उनको भनाई छ।
श्रम सचिव सुर्यप्रसाद गौतमले कोभिडले आर्थिक गतिविधी ठप्प बनाउदासमेत रेमिट्यान्सकै कारण अर्थतन्त्र चलायमान बनेको बताए।
उनले वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित, मर्यादित तथा प्रतिष्ठित बनाउन सरकार, नीजि क्षेत्र तथा सरोकारित निकायले सक्दो पहल गर्नुपर्ने बताए।
संचारमाध्यमलाई पनि नकारात्मक भन्दा सकारात्मक ढंगबाट विषय उठान गर्न सचिव गौतमले आग्रह गरे।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने परिपाटी रोकेर रोक्न नसकिने भएकाले दक्ष जनशक्ति पठाउन जोड दिनुपर्ने बताए।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरु ढिलै भएपनि संस्थागत भएको भन्दै खुसी व्यक्त गरे।