४० वर्षिय मन्जुर खाँ पठान कतारस्थित ट्रक चालकका रुपमा काम गर्थे। उनी दैनिक १२ देखि १३ घण्टासम्म काममा खट्थे।
केही समयदेखि उनले आफ्नो क्याबिनमा एयर कन्डिस्निङ खराब भएको गुनासो पनि गरेका थिए। ९ फेब्रुअरी २०२१ मा उनी कोठामा अचानक ढले। एम्बुलेन्स आइपुग्दा उनको मृत्यु भइसकेको थियो।
३२ वर्षिय सुजन मियाँ पनि मरुभूमिको एउटा परियोजनामा पाइप फिटरको काम गर्थे। उनका सहकर्मीहरुले उनलाई ९ सेप्टेम्बर २०२० को बिहान मृत अवस्थामा फेला पारे।
मियाँको मृत्यको चार दिन अघि त्यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको पाइएको थियो। त्यस्तै बेलुका सकुशल सुतेका ३४ वर्षिय तुलबहादुर घर्ती बिहान मृत भेटिए।
कतारस्थित निर्माण क्षेत्रमा काम गर्ने उनी २२ फेब्रुअरी २०२० का दिन ३९ डिग्री सेल्सियससम्मको तापक्रममा १० घण्टा काममा खटेका थिए।
सोही मुलुकमा विमानस्थलमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका ३४ वर्षिय यमबहादुर रानाले कामकै क्रममा ज्यान गुमाए। उनी लामो समय घाममा खट्नुपर्थ्यो।
एम्नेस्टी इन्टरनेशनलले कतारमा रोजगारीका क्रममा अचानक ज्यान गुमाएका नेपाल र बंगलादेशका नागरिकको मृत्यूलाई विस्तृत अध्ययन गरेको थियो।
एम्नेस्टीले ६ जना आप्रवासी श्रमिकहरु निर्माण कार्यमा संलग्न चार, एक जना सुरक्षाकर्मी र एकजना ट्रक चालकको मृत्यूलाई विस्तृत अध्ययन गर्दा कसैलाई पनि स्वास्थ्य समस्या थिएन।
कतार जानुअघि सबैले अनिवार्य स्वास्थ्य परीक्षण गराएका थिए। असुरक्षित काम गर्ने वातावरणका कारण आप्रवासीहरुले अकालमा ज्यान गुमाउनु परे पनि कतारी अधिकारीहरुले भने मृत्यूबारे अनुसन्धान नै नगरेको पाइएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ।
कतारले पर्याप्त अनुसन्धान नै नगरी अचानक मृत्युलाई प्राकृतिक कारण वा अस्पष्ट रुपमा परिभाषा दिने गरेको एमनेस्टीको प्रतिवेदन इन द प्राइम अफ दियर लाइभ्सले देखाएको छ।
पिडित परिवारलाई क्षतिपूर्ति नदिनका लागि कतारी अधिकारीहरुले मृत्युको स्पष्ट कारण नखुलाएको एम्नेस्टीको ठहर छ।
अध्याधिक श्रम तथा कतारको उच्च तापक्रमका कारण श्रमिकहरु जोखिममा परेको अध्ययनले प्रकाश पारेको छ।
इम्नेस्टी इन्टरनेशनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरुको मृत्यु प्रमाणपत्रको अध्ययन गरेको थियो।
प्रमाणपत्रमा मृत्युको कारण अज्ञात तथा श्वासप्रश्वास गर्दा विफलता लेखिएको उल्लेख छ।
कतारको आधिकारिक तथ्यांकअनुसार सन् २०१० देखि २०१९ को बीचमा सबै उमेर र पेशा समुहका १५ हजार २१ आप्रवासी श्रमिकहरुको मृत्यु भएको देखिन्छ।
गार्जियनले गरेको एक अध्ययनले समेत सन् २०१० देखि २०२०को बीचमा नेपाली, भारतीय र बंगलादेशी ६९ प्रतिशत श्रमिकको मृत्युको कारण प्राकृतिक देखाइएको छ।