टिच फर नेपालले वर्ष २०७८/७९ का लागि टिच फर नेपाल फेलोसिप आवेदन खुला गरेको छ। बुधबार एक औपचारिक कार्यक्रमबीच उक्त आवेदन खुला गरिएको हो।
कोरोना महामारीले पठनपाठन ठप्प रहेको कठिन परिस्थितिमा बहुसंख्यक सामुदायिक विद्यालयका विद्यार्थी मारमा परिरहेका छन्। यस्तोमा 'जे सकिन्छ गर्ने, जसरी नि गर्ने' भन्ने सोच र जोस भएका करिब सय जना नयाँ फेलोइखोज्न लागेको जानकारी टिच फर नेपालकी सह-संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक स्वस्तिका श्रेष्ठले दिइन्।
'टिच फर नेपाल भनेको नेतृत्व लिन सक्ने युवाको लडाइँ हो। हालको परिस्थितिमा शिक्षाको विकल्प नभएको र चुप लागेर बसेर समाधान कुर्नु अर्को अन्याय गर्नु सरह हो,' उनले भनिन्।
हाल सात जिल्लाका ५५ सामुदायिक विद्यालयमा कार्यरत टिच फर नेपालले कोभिड महामारीबीच पनि वैकल्पिक शिक्षाका लागि प्रयोगात्मक कार्यक्रम सुरू गरेको छ। लकडाउनका सुरूआती महिनामा रेडियो कार्यक्रम, वर्कबुकका साथै विद्यार्थीको मनोवैज्ञानिक विकासका लागि सहयोग पुग्ने कार्यक्रम ल्याइएको थियो। आगामी दिनमा केही नविन सोच र समाधानसहित आउने युवालाई आवेदन दिन टिच फर नेपालले आह्वान गरेको हो।
टिच फर नेपालका अनुसार फेलोसिपको मुख्य उद्देश्य ग्रामीण नेपालका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने हो। साथै विद्यार्थीको सिकाइलाई निरन्तर विकास गरी सहयोगी भूमिका निर्वाह गर्न युवाहरूलाई दुई वर्षका लागि गाउँघर समुदाय पठाउने अभियान हो। हरेक वर्ष फेलोसिपमा अंग्रेजी, विज्ञान, गणित विषयका लागि प्रज्ञार्थी (फेलो) आह्वान गरिएकामा यस वर्षदेखि कम्प्युटर विषय पनि समावेश छ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा सांसद गगन थापा उपस्थित रहेको टिच फर नेपालले जनाएको छ। टिच फर नेपालमा सुरूआती दिनदेखि नेतृत्वदायी परिषदमा रहेर काम गरेका थापाले समस्याको समाधान खोज्न युवाहरूले समुदायलाई समय दिएर हेर्न आह्वान पनि गरे।
'फेलोसिप गरेर कोही पछुताउन पर्दैन। उल्टै प्रत्येक समस्याको समाधान खोज्ने युवा बनेर निस्किन सकिन्छ, आवेदन ढुक्कसँग दिनुहोस्,' थापाका भनाइ टिच फर नेपालद्वारा जारी विज्ञप्तिमा उद्धृत छ।
टिच फर नेपाल सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील अभियान हो। यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ, पर्सा र तनहुँमा सञ्चालन गरिरहेको छ।
अभियानका लागि संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवालाई छनौट तथा तालिम पश्चात अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषयमा फेलोसिप प्रदान गराउँदै आएको छ।हाल ५५ सामुदायिक विद्यालयमा अभियान सञ्चालित छ जसमा १०७ जना प्रज्ञार्थी कार्यरत छन्।
यस कार्यक्रमका लागि विभिन्न संघसंस्था तथा व्यक्तिले विभिन्न प्रकारको सहयोग गर्दै आएको संस्थाले जनाएको छ। आवेदनका लागि WWW.TEACHFORNEPAL.ORG वेबसाइटमा गएर आवेदन भर्नुहोला।