वैदेशिक रोजगारमा जाने श्रमिकहरुले क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र म्यानपावरमार्फत् नै पाउने भएका छन्।
शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच भएको छलफलमा उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा पठाउने सम्झौता भएको हो।
म्यानपावर कम्पनीहरुले कामदारको विवरण अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए। सो व्यवस्था आजैदेखि लागू हुने महासचिव श्रेष्ठले बताए।
यसअघि खोप प्रमाणपत्र लिन श्रमिकहरु घण्टौँ लाइन कुर्नुपर्ने बाध्यता थियो। अव्यवस्थित र झन्झटिलो प्रणालीका कारण वैदेशिक रोजगारीमा जाने युवाहरु मारमा परेका थिए। कतिपयको त उडान नै छुटेको थियो।