नेपालबाट खाडी लगायत मुलुकमा घरेलु कामदार पठाउन गरिएको प्रतिवन्ध फुकुवा गर्न सरोकारवाला निकायहरुले सरकारलाईं ज्ञापन पत्र बुझाएका छन्।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालमा आबद्ध संस्थाहरुले आज सरकारलाई ज्ञापन पत्र बुझाएका हुन्।
प्रतिवन्धले रोजगारीको खोजीमा विदेशिने महिला श्रमिकहरु प्रत्यक्ष मारमा परेकाले सरकारले तत्काल फुकुवा गर्नुपर्ने उनीहरुको माग छ।
घरेलु कामदारमा वैधानिक तवरमा प्रतिवन्ध लगाइए पनि भारत ट्रान्जिट हुँदै जोखिम मोलेर नेपालीहरु खाडी मुलुकमा पुग्ने गरेको वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुले औँल्याएका छन्। जसले गर्दा युवाहरु मानव तस्करको जालोमा पर्ने गरेको हुन्।
सरकारले घरेलु कामदारमा प्रतिबन्ध लगाउनु मौलिक अधिकार विपरीत भएको संघसंस्थाहरुको तर्क छ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाली आप्रवासी श्रमिकहरुको हकहितका लागि काम गर्दै आएको आम्काश नेपालकी कार्यकारी निर्देशक विजया राईले सरकारले घरेलु कामदारमा जान प्रतिबन्ध गर्नु विभेदकारी नीति भएको बताइन्।
‘घरेलु कामदारका रुपमा अधिकांश महिला श्रमिकहरु जान्छन्। सरकारले महिलालाई रोक्न घरेलु कामदार प्रतिबन्ध लगाएको हो। सुरक्षाको ग्यारेन्टी गरेर फुकुवा गर्नुपर्छ,’ उनले भनिन्।