नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत जम्मा हुने श्रमिकहरुको रकम सरकारले खान्छ भन्ने हल्ला निराधार भएको उल्लेख गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले हल्लाका पछि नलाग्न आग्रह गरेका छन्।
‘हाम्रो पसिना सरकारले खाइदिन्छ भन्ने कुरा गलत छ। हाम्रो पसिना हाम्रै सुरक्षाका लागि जम्मा हुने हो,’ कार्यक्रममा उनले भने।
असार मसान्तसम्म योगदान गर्नेहरुले जागिर छाडेपछि एकमुष्ठ रकम पाउने व्यवस्था भएकाले सबैलाई असार मसान्तभित्र सूचीकृत हुन उनले आग्रह गरे।
सामाजिक सुरक्षा योजना निजी क्षेत्रका सबै श्रमजिविका लागि अनिवार्य हुँदा औपचारिक, अनौपचारिक तथा स्वरोजगार क्षेत्रका सबै श्रमिक कोषमा समेट्न सरकारले पनि पहल गर्नुपर्ने उनले जोड दिए।
पछिल्लो समय केही बैंकरहरुले कर्मचारीहरुलाई उठाएर विरोध गरिरहेको प्रति जिफन्टले आपत्ति जनाएको छ।
सामाजिक सुरक्षा कोषमा जाँदा खाईपाई आएको सेवासुविधा नघट्ने प्रत्याभूत श्रम ऐनले गरेकाले ढुक्कले कोषमा जान श्रेष्ठले सबैलाई आग्रह गरे।