अध्यागमन विभागले विदेशी नागरिकलाई जारी गर्ने हस्तलिखित भिसा प्रतिस्थापन गर्दै डिजिटल भिसा दिन सुरु गरेको छ।
सोमबारदेखि विभागले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको सुरु गरेको हो।
उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ नोर्बु लामालाई प्रदान गरेका हुन्।
डिजिटल भिसामा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने हुँदा छिटोछरितो र विश्वासिलो हुने सरकारको विश्वास छ।
कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट वा थपघट गरेमा क्युआर कोडमा भएको विवरणका आधारमा पत्ता लाग्ने हुँदा थप सहज हुने विभागको भनाइ छ।
डिजिटल भिसाबाट राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
विभागले सुरु गरेको यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने योजना छ।
कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले सरकारी सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गरी प्रभावकारिता ल्याउने र सुशासन स्थापना यसले टेवा दिने बताए।
उनले भिसामा गरिएको प्रविधियुक्त सुधारले नेपाली भिसालाई अन्तर्राष्ट्रियस्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन मद्दत पुग्ने बताए।