वैदेशिक रोजगार विभागले म्यानपावरलाई ‘ब्ल्याकमेल’ गरेको वैदेशिक रोजगार व्यवसायी सघंले आरोप लगाएको छ।
अनुगमन गर्न जाँदा मिडियालाई भिडियो खिच्न लगाई व्यवसायीलाई अपममानजनक शब्दहरु बोल्ने, धम्क्याउने, व्यवसायीक चरित्र हत्या हुनेगरी गलत र भ्रामक प्रचार/प्रसार गर्ने, ब्ल्याकमेल गर्ने जस्ता कार्य भएको वैदेशिक रोजगार व्यवसायी सघंका महासचिव सुजित श्रेष्ठले बताए।
यो लगायत विभिन्न समस्या सुल्झाउन विभागअघि धर्ना बसेर २१ बुँदे ज्ञापन पत्र बुझाएको श्रेष्ठले जानकारी दिए।
‘चारै तर्फबाट व्यवसायीलाई दुःख दिने र अपमान गर्ने काम मात्रै भइरहेको छ। त्यसकारण आफ्ना माग राखेका हौँ,’ श्रेष्ठले सेतोपाटीसगँ भने।
विभागको अनलाइन प्रणालीको समस्या छिट्टै सुल्झाउनु पर्ने, शाखा खोल्न पाउनु पर्ने, विनाकारण कम्पनीको धरौटी कट्टा र कारोबार रोक्का बन्द गर्नुपर्ने, व्यवसायीलाई सम्मानजनक व्यवहार गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख छ।