नेपाल ट्रेड युनियन कांग्रेसले कोरोना महामारीका कारण समस्यामा रहेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको तत्काल उद्दार गर्न सरकार समक्ष माग गरेको छ।
ट्रेड युनियन कांग्रेसले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै रोजगारीमा गएका नेपालीहरु अहिले विभिन्न समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।
"स्वदेशमा रोजगारी र उद्यमशिलता अभावका कारण विश्वका विभिन्न देशहरुमा करिव ४१ लाख नेपालीहरु कार्यरत छन् र त्यही श्रमशक्तीबाट जिडिपिको २९ प्रतिशत रेमिट्यान्स भित्रिन्छ । हाल ती वर्ग कोरोना महामारी र लकडाउनका कारण दिनप्रतिदिन समस्यामा पर्दै गईरहेका छन् सरकारले तत्काल अध्ययन गरि समस्याको समाधान गर्नु पर्छ" विज्ञप्तिमा उल्लेख गरिएको छ।
गन्तव्य मुलुकका सरकार र रोजगारदातासंग समन्वय गरि उनीहरुको औषधि उपचार, लकडाउनका कारण बेरोजगार भएकालाई तलबी बिदा, खाने बस्ने व्यवस्था र स्वास्थ्य सुरक्षाका लागी अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उपाया अबलम्बन गर्नु पर्ने,रोजगारी कटौती हुन नदिन आवश्यक पहल गर्नु पर्ने, कोरोना संक्रमित बिरामीको स्वास्थ्य उपचारमा विषेश ध्यान दिनु पर्ने, बैंकबाट कर्जा लिई वैदेशिक रोजगारीमा गएको तर महामारीका कारण रोजगारी गुमि स्वदेश फर्केकाहरुको कर्जा र व्याज मिनाहा गर्नु पर्ने, रोजगारी गुमाएका वा स्वदेश फिर्ता हुन चाहनेलाई सुरक्षित फर्काउनु पर्ने र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको ज्ञान,सिप र अनुभवलाई स्वदेशमै सदुपयोग गर्न रोजगारीको सृजना गर्न आगामी आर्थिक वर्ष ०७७/७८ मा विशेष नीति कार्यक्रम ल्याउनु पर्नेसमेत ट्रेड युनियन काँग्रेसले माग गरेको छ।