प्रशान्तका बुबा उत्तर सिंह लिम्बु, भिनाजु दिल कुमार लिम्बु र श्रीमति कमला लिम्बु पत्रकार सम्मेलनमार्फत आफ्नो दुखेसो पोख्दै थिए। उनीहरुको मुहारमा थकान, पिर र त्रास प्रस्टै झल्कन्थ्यो।
प्रशान्तका ५ वर्षीय छोरा मञ्जिल भने आफ्नी आमा कमलालाई पिरोल्दै थियो। छेउछामा टन्नै क्यामरा र त्यो भन्दा धेरै अपरिचत मान्छे देखेर मञ्जिलले असहज मानेको आँकलन गर्न त्यति गाह्रो भएन।
कमलाले छोरालाई सम्हाल्ने खुबै कोसिस गरिन्। ५० रुपैयाँको नोट हातमा राखिदिएपछि मात्र मन्जिल शान्त भयो।
अबोध मन्जिललाई के थाहा, उ जुन पैसा पाएर खुसी मान्दै छ त्यही पैसाको अभावमा उनका पिता मरुभुमीको देशमा फसेका छन्।
रोजगारीका लागि झापा बुद्ध शान्ति गाउँपालिकाका प्रशान्त लिम्बु २०७३ साल साउन २६ गते साउदी उडे। १ हजार ८ सय रियाल (करिव ५३ हजार नेपाली रुपैयाँ) तलव हुने आशमा रोभ इन्टरनेशनल म्यानपावर प्रालि मार्फत १ लाख ३५ हजार तिरेर उनी उडेका थिए। साउदी अरेबियाको ‘कर्मा अल खलिन फर ब्लक एण्ड प्रिकास्टिङ’ कम्पनीमा मालवाहक सवारी साधन चलाउनेगरी भिषा लागेको थियो।
कम्पनीले उनलाई त्यहाँ लाइसेन्सको कुनै प्रकृयामा लाग्न नदिई सोझै काममा खटायो। उनले लाइसेन्स बनाउन लाग्ने पैसा आफै हाल्छु भन्दा पनि कम्पनीले समय दिएन र काममा मात्र खटायो। तलव पनि १२ सय रियाल (करिव ३४ हजार नेपाली रुपैयाँ) मात्र भयो। परदेशको ठाउँमा लिम्बुको के लाग्थ्यो र उनी कम्पनीले खटाए अनुसार नै काम गर्न थाले। सबै ठिकै चल्दै थियो।
एक दिन उनीमाथि बज्रपात पर्यो। काम गर्न थालेको करिव ९ महिनापछि २०१७ अप्रिल २९ को राति सामान लोड गरेर गन्तब्य तिर गइरहेको उनको गाडीलाई साउदी नागरिक खलिल रवि अल क्वहतनीले चलाएको सानो गाडीले पछाडिबाट ठक्कर दियो। साउदी नागरिकको मृत्यु भयो।
घटना लगत्तै लिम्बुलाई प्रहरीले हिरासतमा लियो। उनी रियादस्थित मलास भन्ने जेलमा करिव ८ महिनासम्म थुनिए। अदालतको फैसलापछि २०१८ फेबु्रअरी १३ मा उनी छुटे।
अदालतले उनलाई दुर्घटनामा ७५ प्रतिशत दोषी मान्दै तोकिएको ब्लड मनीवापत २ लाख २५ हजार रियाल र दुर्घटनामा क्षति भएको कारको १५ हजार रियाल गरी २ लाख ४० हजारको ५० प्रतिशत अर्थात १ लाख २० हजार रियाल तिर्नुपर्ने आदेश दियो। यो रकम ३५ लाख नेपाली रुपैयाँको हाराहारीमा हुन्छ।
उनी फेरि त्यही कम्पनीमा त गए, तर २ महिनासम्म तलव पनि दिएन। खाने बस्ने प्रवन्ध पनि गरेन। तलव माग्दा उल्टै धम्काएपछि उनी त्यो कम्पनी छोड्न बाध्य भए।
उनी केही समय चिनजानको साथीहरुसँग बस्न थाले। उनको सम्पूर्ण वास्तविकता परासीको सुरक्षित वैदेशिक रोजगार केन्द्रमा पुग्यो। केन्द्रले प्रवासी नेपाली समन्वय समितिलाई जानकारी गरायो। समितिले लिम्बुको उद्धारको लागि किराँत याक्थुम चँलुङ, जनजाति महासंघ, गैर आवासीय नेपाली संघ, नेपाली राजदुतावाससँग उनको उद्दारका लागि निरन्तर समन्वय गर्यो। अहिले नेपाली राजदुतावासले रोजगार दाता कम्पनीसँग परामर्श गरेपछि मेसिन अपरेटरको रुपमा उनले काम गरिरहेका छन्।
तर अदालतले तोकेको ३५ लाख तिर्नका लागि न प्रशान्तको त्यति कमाई छ, न त परिवारको सम्पत्ति नै छ। त्यही समस्यालाई लिएर उनका परिवारले सोमबार पत्रकार सम्मेलन गरेका थिए। सम्मेलनकै क्रममा प्रशान्तसँग म्यासेन्जरमा भिडियो सम्पर्क भयो।
भिडियो कुराकानीमा उनले कम्पनीले जबरजस्ती गाडी चलाउन लगाएको र सो गाडीको इन्स्योरेन्स नभएका कारण आफु जेल बस्नु परेको बताए। उनले अहिले कम्पनीमा निकै कस्टकर जीवन भोगिरहेको गुनासो गरे।
‘म नेपाल फर्कन चाहन्छु। नेपाली दूतावासले पनि पैसा नतिरी हामी केही गर्न सक्दैनौँ भन्छ’ प्रशान्तले भने। ३५ लाख नतिरी उनी नेपाल फर्कन सक्दैनन्। प्रवासी नेपाली समन्वय समितिले लिम्बुको उद्धारको लागि पैसा उठाउने तयारी गरेको छ। समितिले ग्लोवल आईएमई बैंकको प्रवासी नेपाली समन्वय समितिका नाममा, खाता नम्बर ३९०१०१०००००४०९ मा पैसा संकलनको कार्य अघि बढाएको छ।