दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया गए। सन् २००१ मा मेनपावर कम्पनीलाई ८५ हजार बुझाएर मलेसिया गएका आचार्यको कमाइ करिब १० हजार मात्र हुन्थ्यो ।
विदेश जाँदा काढेको ऋण तिर्नै उनलाई हम्मेहम्मे पथ्र्यो। काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उनको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन।
सत्र महिना मलेसियामै आराम गरेर उनी स्वदेश फर्किए। मलेसिया जाँदाको ऋण तिर्न आचार्य एक लाख १५ हजार ऋण खोजेर कतार लागे । “कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,” उनले पीडा सुनाए।
करीब सात वर्षसम्म घरमै थकान मेटेका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निए । मलेसिया पुग्नुभएको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । “इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,” उनले भने “एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।”
आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए। टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहे। “घरबाट सात लाख मगाएर उपचार गरी फर्किएँ,” विगत सम्झँदै आचार्य भन्छन्, “ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।”
शारीरिक अपाङ्गता भएर घर फर्किएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गरेका छन्। दुई छोरा र श्रीमतीको साथमा रहेका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दै आएका छन्। रासस