नेपालको आयात व्यापारमा सबैभन्दा बढी योगदान डिजेल, पेट्रोल र एलपी ग्यासको छ।
लामो समयदेखि सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल पहिलो नम्बर, पेट्रोल दोस्रो नम्बर र एलपी ग्यास तेस्रो नम्बरमा रहँदै आएका थिए।
चालु वर्षमा भने भटमासको कच्चा तेलले पेट्रोललाई पछि पारेको छ।
विशेषगरी पछिल्ला तीन महिना भटमासको कच्चा तेलको आयात अत्याधिक बढेको छ।
चालु वर्षको ७ महिनाको अवधिमा डिजेल ६६ अर्ब ४८ करोड रूपैयाँ बराबरको आएको छ।
भटमासको कच्चा तेल ३८ अर्ब २९ करोड रूपैयाँको आयात भएको छ भने पेट्रोल ३७ अर्ब ६४ करोड रूपैयाँ बराबरको आयात भएको छ।
जबकि गत वर्षको यही समयमा भटमासको कच्चा तेल ८ अर्ब ५४ करोड रूपैयाँ बराबरको आयात भएको थियो।
पेट्रोल ३८ अर्ब ८२ करोड रूपैयाँको आयात भएको थियो। परिमाणात्मक रूपमा यो वर्ष पेट्रोलको आयात बढे पनि मूल्य घटेको कारण केही कमी देखिएको छ।
पेट्रोल पूर्णत स्थानीय बजारको खपतको लागि आयात हुने गरे पनि भटमासको कच्चा तेल भने प्रशोधन गरेर निर्यात गर्ने गरिन्छ।
भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेन लगायतका देशबाट किनिएको छ।
रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ।