चालु वर्षमा अन्तःशुल्क आन्तरिक (आन्तरिक राजस्व विभागले प्रशासन गर्ने) ३.१० प्रतिशतले घटेको छ।
भन्सार विन्दुमा उठ्ने अन्तःशुल्क १४ प्रतिशतले बढे पनि आन्तरिक अन्तःशुल्क भने घटेको हो।
आन्तरिक राजस्व विभागका अधिकारीका अनुसार यस्तो अन्तःशुल्क विगतमा कुनै पनि वर्षमा घटेको थिएन।
गत वर्ष समग्र राजस्व १० प्रतिशतले घट्दा समेत आन्तरिक अन्तःशुल्क बढेको थियो। यसको प्रभाव भने भन्सार विन्दुमा उठाइने (अन्तःशुल्क पैठारी) मा देखिएको छ।
यो वर्ष फागुनसम्म २४ अर्ब चार करोड अन्तःशुल्क पैठारी संकलन भएको छ। गत वर्ष भने जम्मा २० अर्ब ९८ करोड संकलन भएको थियो।
अन्तःशुल्क आन्तरिक भने गत वर्ष फागुनसम्म ६४ अर्ब ८१ करोड संकलन भएको थियो। गत वर्ष भने दुई अर्ब रूपैयाँले घटेर ६२ अर्ब ८१ करोड संकलन भएको छ।
अन्तःशुल्क आन्तरिक घट्दा मूल्य अभिवृद्धि कर (भ्याट) आन्तरिक भने बढेको छ। विभागको तथ्यांक अनुसार गत वर्ष फागुनसम्म यस्तो ६८ अर्ब ८२ करोड संकलन भएको थियो। यो वर्ष भने बढेर ७५ अर्ब ३३ करोड संकलन भएको छ।
भन्सार विन्दुमा लाग्ने (पैठारी भ्याट) पनि ७ प्रतिशतले बढेर एक खर्ब १८ अर्ब पुगेको छ।
सबैभन्दा धेरै वृद्धिदर भने आयकरमा देखिएको छ। यो वर्ष आयकर १६ प्रतिशतले बढेको छ। आन्तरिक राजस्व विभागका अनुसार फागुनसम्म आयकर १२.६९ प्रतिशतले बढेको छ।
गत वर्ष फागुनसम्म एक खर्ब ४२ अर्ब ७० करोड आयकर संकलन भएको थियो। यो वर्ष एक खर्ब ६६ अर्ब २४ करोड पुगेको छ।