चालु आर्थिक वर्षमा समग्र अन्तर्राष्ट्रिय व्यापार घटे पनि अधिकांश सूचकहरू सुधारोन्मुख देखिएका छन्।
फागुनसम्म मुद्रास्फीति भने गत वर्षको तुलनामा घटेको छ। गत वर्ष फागुनसम्म ७.८८ प्रतिशत रहेको मुद्रास्फीति यो वर्ष फागुनसम्म ५.०१ प्रतिशत छ। यसबीचमा मुद्रास्फीति २.८७ प्रतिशत विन्दुले घटेको छ।
आयात, निर्यात र कुल व्यापार घाटा घटेको छ। तर भुक्तानी सन्तुलन, चालु खाता सञ्चिति र विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ। विप्रेषण आप्रवाह (रेमिटेन्स)मा पनि व्यापक सुधार देखिएको छ।
अर्थमन्त्रालयको तथ्यांक अनुसार गत वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब रूपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म १० खर्ब ३० अर्ब रूपैयाँ बराबरको भएको छ।
त्यस्तै, गत वर्ष फागुनसम्म निर्यात १ खर्ब ४ अर्ब रूपैयाँको भएकोमा चालु वर्षको फागुनसम्म १ खर्ब रूपैयाँ बराबरको भएको छ।
शोधानान्तर स्थिति गत वर्षको फागुनमा १ खर्ब २८ अर्ब रूपैयाँ सञ्चिति रहेकोमा चालु वर्षको फागुनमा १ खर्ब ६९ अर्ब रूपैयाँ बचतमा रहेको छ।
त्यस्तै, विदेशी विनिमय सञ्चिति गत वर्षको फागुनसम्म १३ खर्ब ८३ अर्ब रूपैयाँ रहेकोमा यस वर्षको सोही अवधिमा १८ खर्ब ४४ अर्ब रूपैयाँ पुगेको छ।
गत वर्षको तुलनामा कुल खर्चमा वृद्धि भएको छ। तर, पुँजीगत खर्च भने घटेको छ। चालु खर्च र वित्तीय व्यवस्थापन अन्तर्गतको खर्च गत वर्षको तुलनामा बढेको छ।
गत वर्षको फागुनसम्म पुँजीगत खर्च ८४ अर्ब २५ करोड रूपैयाँ भएकोमा चालु वर्षको सोही अवधिमा ८१ अर्ब २१ करोड रूपैयाँ खर्च भएको छ।
संघीय सरकारको राजस्वमा औसत सात प्रतिशतको वृद्धिदर रहेको छ। तर, आयकर भने गत वर्षको तुलनामा १६ प्रतिशतले बढेको छ।
सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने बढेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको ब्याजको आधार दर भने घटेको छ।
गत वर्ष फागुनसम्म ११ हजार ६११ बैंक तथा वित्तीय संस्थाका शाखा रहेकामा चालु वर्षको सो अवधिमा घटेर ११ हजार ५८७ कायम भएका छन्। नेप्से सूचक गत वर्षको फागुनमा १९५३.०६ विन्दुमा रहेकामा चालु वर्षको फागुनमा २१०८.७३ विन्दुमा पुगेको छ।
त्यस्तै वाणिज्य बैंकहरूको औसत ब्याजदर गत वर्ष १०.७२ प्रतिशत रहेकोमा चालु वर्षको फागुनमा ९.०६ प्रतिशत कायम छ।