अर्थमन्त्री वर्षमान पुनले प्रतिफल बढी प्राप्त गर्ने परियोजनामा सरकारले विशेष ध्यान दिने बताएका छन्।
राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले प्रतिफल प्राप्त नभएका योजना खारेज गर्ने वा नयाँ ढंगले सञ्चालन गरेर प्रतिफलमुखी बनाउने प्रतिबद्धता गरेका हुन्।
'लगानी अनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनर्संरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने छ,' अर्थमन्त्री पुनले भने।
अर्थतन्त्रमा चुनौती कायम रहेको भन्दै उनले सुधारका लागि आर्थिक क्रियाकलाप बढाउने नीति अघि सार्ने बताएका छन्। उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने पुनले बताए।
सामूहिक प्रणालीका जग्गाको एकीकरण गरी बाँझो जमिनको प्रयोग र चक्लाबन्दीमा कृषि फर्म स्थापना गरिने मन्त्री पुनको जवाफ थियो।
उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न चाहेको भन्दै बजेटबाट निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम ल्याइने बताए।
सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजस्व र खर्चमा बढी रहेको अन्तरलाई कम गर्ने राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता,वैदेशिक नवीन स्रोतहरूको पहिचान र परिचालन नयाँ बजेटमा गरिने उनले बताए।
पुँजीगत खर्चको न्यूनताको समाधान गर्न नीति कानुन र प्रक्रिया सुधार अघि बढाइने प्रतिबद्धता अर्थमन्त्री पुनको छ।
उनले निर्माणाधीन आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने तथा अधुरा आयोजनाहरूको स्रोत सुनिश्चित अघि बढाउने काम सरकारको प्राथमिकतामा रहेको बताए।
अर्थमन्त्री पुनले अर्थतन्त्रमा देखिएका समस्या र सहकारी,लघुवित्त र मिटरब्याज समस्या प्रमुख प्राथमिकताका साथ समाधान गरिने उनको भनाइ छ।
बढ्दो युवा पलायनको विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री पुनले उत्पादन र उत्पादकत्व वृद्धिमा सरकारको जोड रहेको बताए।