अर्थमन्त्री प्रकाशशरण महतले न्यून उत्पादन र कमजोर निर्यात नेपाली अर्थतन्त्रको समस्या भएको बताएका छन्।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्दै उनले यस्तो बताएका हुन्।
'मुलुकले भोग्दै आएको न्यून उत्पादन र उत्पादकत्व, उच्च व्यापार घाटा, कमजोर निर्यात, आर्थिक दृष्टिले सक्रिय उमेर समूहको जनशक्ति पलायन जस्ता समस्या समाधान गर्नु प्राथमिकताको विषय भएको छ,' महतले भने, 'उच्च र दिगो आर्थिक वृद्धि हासिल गरी उत्पादन वृद्धिसँगै रोजगारीका अवसर सिर्जनामार्फत् गरिबी न्यूनीकरण गर्ने, आर्थिक असमानता कम गर्दै वित्तीय स्थायित्व कायम गर्न अर्थतन्त्रलाई दिशानिर्देश गर्नु अपरिहार्य ठानेको छु।'
उनले अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गतिसँगै अघि बढाउने र आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नेपाली नागरिकहरूको जीवनस्तर सुधारका मार्ग पहिल्याउन आवश्यक रहेको बताए। आगामी आर्थिक वर्षको बजेट यस्ता जिम्मेवारी बहन गर्ने गरी प्रस्तुत गर्ने उनकाे भनाइ छ।
उनले तीन महिनाअघि नै संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको भन्दै यसले पर्याप्त छलफल गर्न सहयोग पुग्ने बताए।