नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन्।
लगानी योग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष मल्लले बताए।
'बैंक वित्तीय संस्थामा झण्डै ५ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुँजीगत खर्च गर्न सकेको छैन,' राष्ट्रिय व्यापार संघको साधारण सभामा अध्यक्ष मल्लले भने, 'अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन।'
सरकारको पुँजीगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए। बैंक वित्तीय संस्थामा उच्च ब्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको उनको भनाइ छ।
अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिए पनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उनले पुँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्ने बताए।
पँजीगत खर्च समयमै हुनेगरी समयवद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए।
साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्ने गरी राष्ट्र बैंकले वित्तीय नीति ल्याउनुपर्ने उनको माग छ।
'आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा ‘चालु आर्थिक वर्षमा ६ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ,' अध्यक्ष मल्लले भने, 'मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ।'