पोखराको घारीपाटनस्थित एउटा घरको अँध्यारो कोठामा ५५ वर्षीया भगवती थापामगरका आँखामा आँसु झरिरहेछन्। सेतो कपडाले आङ ढाकेर बसेकी भगवतीका सामुन्ने उनका श्रीमान् वीरबहादुरको तस्बिर राखिएको छ। माला लगाइदिएको तस्बिरमुनि दियो बालिएको छ।
‘सहकारीले मेरा श्रीमानको जीवनभरको कमाइ खाइदियो। अहिले श्रीमान् पनि खाइदियो,’ उनी भनिरहन्छिन्।
वीरबहादुर करिब ३५ वर्षअघि लमजुङको श्रीभन्ज्याङबाट श्रीमतीका साथ पोखरा आएका थिए। सम्पत्तिका नाममा साथमा केही पनि थिएन। उनी गाडी चलाउन जान्दथे। इमानदारी उनको खास विशेषता थियो। गाडी चलाएर कमाएको पैसाले र इमानले उनलाई पोखरामा टिकाएको थियो।
उनले पोखराको सिसुवामा एउटा घडेरी जोडेका थिए। घर बनाउन सकेका थिएनन्। उमेर ढल्किँदै जाँदा काम गर्न सक्ने क्षमता घट्दै गयो। घडेरी यत्तिकै राख्नुभन्दा बेचेर सहकारीमा पैसा राख्ने र त्यसको ब्याजले घरखर्च चलाउने निधो गरे। पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक र कर्मचारीसँग सम्पर्क भयो। उनले पैसा त्यसमै जम्मा गरे।
‘सहकारीमा जम्मा गरेपछि पेन्सन जसरी महिनैपिच्छे पैसा आउँछ भनेको थियो। सुरूमा दिएको पनि थियो,’ आँखाबाट बगेर चिउँडोसम्म पुगेको आँसुको भेल पुछ्दै भगवतीले भनिन्, ‘पैसा छैन भनेर बिस्तारै घटाउँदै गयो अनि दिनै छाड्यो। एक पैसा पनि नपाएको दुई वर्ष भयो।’
उनका अनुसार वीरबहादुरले पोखरामा गाडी चलाएर दुई छोराछोरी पढाए। घडेरी बेचेर आएको २२ लाख रुपैयाँ ब्याजले घर चल्छ भन्ने ढुक्क भएर सूर्यदर्शन बचत तथा ऋण सहकारीमा जम्मा गरे।
सहकारीले ब्याज दिन छाडेपछि वीरबहादुर र भगवतीको जीवनमा नसोचेको दुःख आइलाग्यो। जीवनभरको कमाइ अर्कैले खाइदिएपछि वीरबहादुर विरक्तिएका थिए। पैसा फिर्ता पाउन कहिले काठमाडौं धाए त कहिले पोखरामा हुने आन्दोलनमा सहभागी भए।
उस्तै पिर भगवतीलाई पनि थियो।
‘सूर्यदर्शन सहकारी पीडित संघर्ष समिति’ का संयोजक किरण श्रेष्ठका अनुसार काठमाडौंमा आन्दोलनमा सहभागी हुँदा वीरबहादुरले सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँग पैसा फिर्ता गरिदिन आग्रह गरेका थिए।
‘वीररबहादुर दाइले आँखाभरि आँसु लिएर आफ्नो जीवनभरको कमाइ त्यही हो भन्दै फिर्ता गरिदिन कुमारलाई भन्नुभएको थियो,’ किरणले भने, ‘पैसा फिर्ता पाउन कास्की प्रहरी र प्रशासनमा पनि धाउनुभयो। सबै आन्दोलनमा सहभागी हुनुभएको थियो।’
उनी चिनेजानेका गन्यमान्यलाई पनि सहयोगका लागि आग्रह गर्थे। छिमेकी भगवान पन्तसँग सहकारीले डुबायो भन्ने गुनासो गर्थे।
‘पाँच दिनअघि वीरबहादुर दाइसँग भेट भएको थियो। जीवनभरको कमाइ सहकारीले खाइदियो, हातमुख जोर्नै गाह्रो भयो भन्दै आँखाभरि आँसु पारेका थिए,’ भगवानले भने, ‘सहकारीमा पैसा डुबेपछि विक्षिप्त जस्तै भएका थिए।’
उनका अनुसार पैसा डुबेपछि वीरबहादुर मधुमेह र उच्च रक्तचापका रोगी भएका थिए। आँखाको दृष्टिमा पनि समस्या भएको थियो। एकपटक आँखाको उपचार पनि गराएका थिए।
‘वीरबहादुर दाइ साह्रै इमानदार थिए। कुनै लप्पनछप्पन थिएन। टोलछिमेकमा सामाजिक काममा पनि सक्रिय थिए,’ उनले भने, ‘परिश्रम गरेर एउटा घडेरी जोडेका थिए। सहकारीले पैसा खाइदिएपछि ठूलो चिन्तामा थिए।’
वीरबहादुर यही पुस १२ गते अचानक बिरामी परे। अस्पतालले हृदयाघात भएको भन्यो। भोलिपल्ट १३ गते उनको ईहलीला समाप्त भयो।
मर्नु अघिसम्म आफ्नो पैसा फिर्ता पाउन उनी जानुपर्ने जति ठाउँमा गएका थिए। सहकारीबाट आफ्नो पैसा उठाउन उनले सबै चिनेजानेकालाई गुहारे।
पोखरामा उनले विभिन्न संघसंस्था र व्यक्तिका गाडी चलाएका थिए। पोखराका व्यवसायी प्रेमबहाुदर श्रेष्ठ ‘लायन्स क्लब अफ पोखरा’ का गभर्नर रहँदा दुई वर्ष उनको गाडी चलाएका थिए।
‘उहाँले मेरो गाडी चलाउनुभयो। दुई वर्ष मलाई मेची–महाकाली डुलाउनुभयो,’ प्रेमबहादुरले भने, ‘उहाँ अलिअलि होइन, साह्रै सोझो र असल मान्छे हुनुहुन्थ्यो।’
प्रेमबहादुर सन् १९९८ मा ‘लायन्स क्लब अफ पोखरा’ का गभर्नर भएका थिए।
उनका अनुसार केही महिनाघि वीरबहादुरले उनलाई भेटेर पैसा फिर्ता पाउन सहयोगको आग्रह गरेका थिए।
‘तपाईं त सबैलाई चिन्नुहुन्छ। मेरो पैसा सहकारीले खाइदियो, सहयोग गर्नुपयो भन्दै रुनुभएको थियो,’ प्रेमबहादुरले भने, ‘हामीले कसैलाई भनसुन गरेर पैसा फिर्ता हुने अवस्था थिएन। उहाँलाई सहयोग गर्न सकिएन।’
छिमेकी भगवान पन्त नेपाल खाद्य संस्थानका अवकाशप्राप्त सहायक निर्देशक हुन्।
वीरबहादुरले दुई वर्षदेखि घरभाडा तिर्न नसकेको भगवानलाई पनि थाहा छ।
उनी भन्छन्, ‘घरपटी असल भएरमात्रै बस्न पाएका हुन्। किरिया बस्न पनि दिएका छन्।’
सूर्यदर्शन सहकारीमा पैसा जम्मा गरेका अरू पीडितहरूले आइतबार वीरबहादुरका परिवारजनलाई भेटे। आपसमा केही पैसा उठाएर किरियाखर्चका लागि सहयोग पनि गरे।
‘हामी पीडितहरूका तर्फबाट पैसा उठाएर ९ हजार ७५ रुपैयाँ सहयोग गर्यौं,’ संघर्ष समितिका संयोजक किरणले भने, ‘अझै कति वीरबहादुरहरू मर्नुपर्ने हो, थाहा छैन। सबै सर्वसाधारण बचतकर्ता ठूलो मानसिक आघातमा छन्।’
सूर्यदर्शन सहकारीबाट मात्रै झन्डै साढे एक अर्ब रुपैयाँ अपचलन गरेका संस्थापक सञ्चालक जिबी राई र अन्य सञ्चालकहरू फरार छ। कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी मात्र पक्राउ परेका छन्।
‘सरकारले दोषी व्यक्ति पक्राउ गर्ला, छानविन गरेर कारबाही गर्ला, आफ्नो पैसा फिर्ता आउला भनेर आशा गर्ने ठाउँ नै रहेन,’ भगवान भन्छन्, ‘सरकार कमजोर भयो। कारबाही गर्न सकेन। वीरबहादुर दाइ त सरकारका मान्छे पनि मिलेका छन् भन्नुहुन्थ्यो।’
भगवानका अनुसार सहकारीले ब्याज दिन छाडेपछि वीरबहादुरलाई ऋण लागेको थियो। खाना र घरभाडाकै लागि पनि ऋण लिनु परेको थियो। अहिले किरियाखर्च पनि छैन।
उनी भन्छन्, ‘कोही मनकारी छन् भने वीरबहादुरको परिवारलाई सहयोग गरून्।’
वीरबहादुर धार्मिक प्रकृतिका व्यक्ति थिए। उनी हरेक वर्ष सत्यनारायणको पूजा लगाउँथे। रुद्री पाठ गराउँथे।
पोखरा महानगरको छानबिन प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीमा सर्वसाधारणले बचत गरेको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको छ। पूर्वअध्यक्ष एवं संरक्षक जिबी राईसहित १७ जना फरार छन्।
सरकारले सञ्चालकहरूको नाममा रहेको सम्पत्ति लिलाम गरेर भए पनि छिटोभन्दा छिटो बचतकर्ताको रकम फिर्ता गराउनुपर्ने पीडितहरूको माग छ।
‘हाम्रो माग हाम्रो पैसा देऊ भन्ने हो। राज्यले चाहने हो भने सबै सञ्चालको सम्पत्ति लिलाम गरेर भए पनि फिर्ता गराउन सक्छ,’ भगवानको प्रश्न छ, ‘आफ्नो पसिनाको कमाइ फिर्ता पाउन अझै कति जना वीरबहादुरले ज्यान गुमाउनुपर्ने हो सरकार?’
पोखरामा २०६५ सालमा सुरू भएको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालकहरूले अनेक कम्पनी खडा गरी गैरकानुनीरूपमा लगानी गर्ने गरेको छानविन प्रतिवेदनको निष्कर्ष छ। जिबी राई अध्यक्ष रहेको ‘ग्यालेक्सी टेलिभिजन’ चलाउने कम्पनी ‘गोर्खा मिडिया प्रालि’ मा पनि १० करोड रुपैयाँ लगानी भएको देखिएको छ।