नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो समयमा साना तथा मझौला उद्योगमा ठूलो समस्या देखिन थालेको बताएका छन्।
मंगलबार भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ साधारण अर्थतन्त्रमा देखिएको शिथिलता र मनोवैज्ञानिक प्रभाव साना तथा मझौला उद्योगमा परेको भन्दै यस्ता उद्योगको पुनरुत्थान ध्यान दिनु पर्ने बताए।
उनले मुलुकको आर्थिक स्थायित्व सरकार र निजी क्षेत्र दुवैको चासोको विषय भएको भन्दै मिलेर काम गर्नुपर्ने तर्क गरे।
सरकार र निजी क्षेत्रको सहकार्यबाट ल्याइएका नीतिहरूले मात्रै आर्थिक स्थायित्व कायम गर्न सहयोग पुर्याउने उनको भनाइ छ। 'अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ। सरकारी तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ। करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्छ,' मल्लले भने।
मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक भए पनि निजी क्षेत्र र आम सर्वसाधारणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको उनले बताए। मुलुकमा औद्योगिक एवम् व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ।
सरकार फेरिएसँगै नीतिहरू फेरिनुले पनि अर्थतन्त्र अस्थिर हुने गरेको उनले बताए। बजेटमा महत्त्वाकांक्षी कार्यक्रमहरू घोषणा भए पनि कार्यान्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको उनको भनाइ छ।