कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न सरोकारवालालाई आग्रह गरे।
'हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक संघर्षबाट प्राप्त संघीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो,' उपप्रधानमन्त्री खड्काले भने।
सरकार अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको रहेको अर्थतन्त्र ट्रयाकमा आउन थालेको उनको भनाइ छ।
उपप्रधानमन्त्री खड्काले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताए। 'अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौँ। एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारको लागि महत्त्वपूर्ण सहयोग हुन सक्छ,' उनले भने।
कतिपय सूचकहरूका कारण अर्थतन्त्र दबाबमा रहे पनि यसको समधान गर्न सकिने उनको भनाइ छ।
'बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैब दबाबमा छ। त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृत रूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मिहिनेत गर्नुपर्ने स्थिति छ,' उपप्रधानमन्त्री खड्काले भने, 'सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमहरूले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ।'
उपप्रधानमन्त्री खड्काले सरकार लगानीको वातावरणमा सुधार गर्न सुरूदेखि नै कटिबद्ध रहेको बताउँदै यसका लागि सरकारले निजीक्षेत्र–मैत्री नीति तथा उपायहरू कार्यान्वयनमा ल्याइरहेको बताए। उनले अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू पनि देखिएको बताए।