अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा (इसिएफ) को तेस्रो किस्ता अन्तर्गत ५२.२५ मिलियन डलर (करिब ७ अर्ब रुपैयाँ) दिने भएको छ।
नोभेम्बर २९ मा बसेको आइएमएफको बैठकले नेपाललाई चार वर्षे विस्तारित कर्जा सुविधाअन्तरगत् तेस्रो किस्ता बापतको यो रकम दिन स्वीकृति दिएको हो।
आईएमएफले विस्तारित कर्जा सुविधाअन्तरगत नेपाललाई कुल ५२ अर्ब रूपैया (३९५९ लाख डलर) दिने निर्णय गरेको थियो। आइएमएफले सरकारको खर्च क्षमता वृद्धि, राजस्वमा सुधार, वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण क्षमतामा सुधारलगायतमा खर्च गर्न विस्तारित कर्जा सुविधा दिएको हो।
तेस्रो समीक्षाका लागि बसेको आइएमएफको बैठकले नेपालले इसिएफअन्तर्गत्को कार्यक्रम कार्यान्वयनमा राम्रो प्रगति गरेको जनाएको छ।
कोरोना महामारी र विश्वभर फैलिएको आर्थिक मन्दीको प्रभावलाई थौरै भए पनि कम गर्न यो कार्यक्रमले सहयोग पुगेको आइएमएफको भनाइ छ।कोभीड–१९पछि भएको कर्जा विस्तारले अर्थतन्त्रलाई पुरानै लयमा ल्याएको भए पनि गत वर्ष कर्जा प्रवाहसमेत उल्लेख्य घट्न पुगेको छ। आन्तरिक माग घटेसँगै नेपालले भोगिरहेको बाह्य दबाब कम भएको तर यसले गर्दा सरकारको राजस्व समेत घटेको छ। सरकारले खर्च कटौती गरिरहेपनि बजेट घाटा बढेको आइएमएफको भनाइ छ।
मूल्य वृद्धि घटे पनि सेप्टेम्बरमा यो ८.२ प्रतिशत रहेको, आर्थिक वृद्धिदर ३.५ प्रतिशत हुने भ एपनि यो सम्भावित वृद्धभन्दा कम रहेको उल्लेख गरेको छ। पर्यटनमा सुधार आइरहेको, विद्युत् उत्पादन क्षमता बढेको र आन्तरिक मागमा सुधार भइरहेकोले वृद्धिमा सहयोग पुग्ने देखिएको आइएमएफको भनाइ छ।