चालु आर्थिक वर्षको चार महिनामा नेपालको वस्तु आयात घटेको छ।
२०७९ असार देखिनै लगातार घटेको आयात व्यापार अघिल्लो महिना भने बढेको थियो। तर कात्तिक महिनामा पुनः घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
आयात घटे पनि भन्सार राजस्व भने बढेको छ। गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी राजस्व संकलन गरेको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा एक खर्ब २८ अर्ब राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षमा एक खर्ब ३७ अर्ब राजस्व संकलन गरेको छ।
गत वर्षको तुलनामा आयात व्यापारमा ३.७९ प्रतिशतले कमी आएको भए तापनि राजस्व संकलनमा भने सुधार देखिएको हो। गत वर्ष चार महिनामा पाँच खर्ब ३३ अर्बको आयात भएकोमा चालु वर्षको सोही अवधिमा पाँच खर्ब १२ अर्बको मात्र आयात भएको छ।
राजस्व नीतिमा गरिएको सुधार र राजस्व प्रशासनमा गरिएको कडाइको आयात घट्दा पनि राजस्व बढेको भन्सारका अधिकारीहरूले बताएका छन्। सरकारले चालु वर्षको बजेटबाट १७० वटा शीर्षकका वस्तुलाई भ्याट छुट हटाएको थियो।
भन्सार राजस्वमा महत्त्वपूर्ण योगदान दिने पेट्रोलियममा आधारित सवारी साधनको सट्टा न्यून महसुल भएका विद्युतीय सवारी साधनको आयात बढ्नु, पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्वमा बढोत्तरी नहुनु, फलामजन्य वस्तुबाट प्राप्त हुने राजस्वमा गिरावट आउनु र चोरी पैठारी अपेक्षित रूपमा नियन्त्रण नभएको अवस्थामा समेत राजस्व संकलन वृद्धि दर उच्च देखिनु सुधार परिणाम रहेको बताए।
आन्तरिक नियन्त्रण प्रणालीमा गरेको सुधार, राजस्व चुहावटमा लिएको शून्य सहनशीलता, भन्सार मूल्यांकनमा गरिएको सुधार तथा नीतिगत परिवर्तनका कारण राजस्व संकलनमा सुधार आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए।
विभागबाट अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडि पछाडि समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको बताइएको छ।
अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र माल वस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारबाही गर्न लगाउने गरिएको छ।
यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणको लागि टोली पठाउने कार्यको सुरुवात भएको बताइएको छ।
विभागले प्रत्यक्ष अनुगमनबाट मात्रै चालु आर्थिक वर्षको साउन महिनामा १२ करोड १८ लाख, भदौमा १४ करोड, असोजमा २० करोड र कात्तिकमा १२ करोड थप राजस्व असुल गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा २ करोड ३० भदौमा १ करोड ८६ लाख, असोजमा ८३ लाख र कात्तिकमा ५ करोड १० लाख थप राजस्व असुल गरेको थियो।