अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा हाल देखिएको समस्या तत्कालीन नीतिको तथा कामको प्रभाव नभएको दाबी गरेका छन्।
कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उनले विगतमा बैंकिङ क्षेत्र र सरकारी लगानी उत्पादनमूलक क्षेत्रमा केन्द्रित नहुँदा अहिले त्यसको प्रभाव देखिएको बताएका हुन्।
उनले विगतमा इजी मनी (सजिलोसँग पुँजी) दिइएकोले अहिले तिर्ने क्रममा समस्या आएको बताए।
विगतमा ठूला भवन, जग्गामा धेरै लगानी जाँदा समस्या आएको र सेयर अप्राकृतिक रूपमा बढेको भन्दै उनले अब यसबाट पाठ सिक्नुपर्ने उनले बताए।
'आँखा चिम्लेर मैले ऋण लिएँ, भोलि फिर्ता गर्नु पर्दैन भन्ने अभियान कसैले पनि थाल्नु हुँदैन, साँच्चिकै अप्ठ्यारोमा परेकालाई राज्यले सहजीकरण गर्छ,' उनले भने।
उनले अहिले नेपालमा केही गर्न सकिँदैन सबै बिग्रियो भन्ने भाष्य सिर्जना गरेर सुधारमा अवरोध गर्न खोजिएको पनि आरोप लगाए। भाष्य खडा गरिएजस्तो अहिले अर्थतन्त्र खराब अवस्थामा नरहेको उनको भनाइ छ।
पर्यटक, रेमिटेन्स, राजस्व, खर्च सबैतर्फ अहिले सुधार देखिए पनि भोलि के हुने हो आशंका मानिसमा देखिएको उनको भनाइ छ।
सरकारले अनुदानलाई उत्पादनमा आधारित बनाएको भन्दै उनले मुलुकमै ठूलो सम्भावना रहेको बताए। मुलुकमा रहेको सम्भावना निजी क्षेत्रले नेतृत्व लिएर काम गर्नुपर्ने भन्दै उनले यसमा राज्यले सहयोग गर्ने बताए।
राजस्वमा पुरानो संरचना बदलिएको उनको भनाइ छ।
'अब हिजोको जस्तो संरचना छैन, सवारीसाधनबाट धेरै राजस्वमा उठ्ने गरेकोमा अहिले एक तिहाइ विद्युतीय सवारी समाधान देखिन थाले, ठूला–ठूला डिपार्टमेन्ट स्टोरबाट ठूलो मात्रामा कारोबार भएको छ,' महतले भने, 'एसी रुमभित्र बसेर राजस्व नियमन र सहजीकरण हुन सक्दैन, फिल्डमा जानु पर्छ।'
अर्थमन्त्री महतले संसारभर नै नवीकरणीय ऊर्जाको माग बढ्दै गएकोमा नेपालको जलविद्युत क्षेत्रले प्राथमिकता पाउन सक्ने, कृषि क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको, पर्यटन क्षेत्रमा ठूलो अवसर रहेको कारण पनि पर्याप्त अवसर रहेको बताए।
अर्थ सचिव कृष्णहरी पुष्करले राजस्व प्रशासनमा सुधारको कामलाई सरकारले निरन्तरता दिएको र त्यसको प्रभाव राजस्वमा देखिन थालेको दाबी गरे। उनले अर्थतन्त्र कमजोर छ भन्ने हौवा फैलाएर अनुचित लाभ उठाउने प्रयास भएको भन्दै त्यस्तो हुन नदिइने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि मनोविज्ञानमा परेको प्रभावलाई निराकरण गर्न आवश्यक रहेको बताए।
'अहिले सरकार अर्थतन्त्रको विषयमा चासो दिएको छ, सरकारले चासो राख्यो भनी कति प्रभाव पर्छ हिजोको नेप्से परिसूचकले पनि देखाउँछ,' उनले भने।
लामो समय ओरालो लागेको नेप्से बुधबार २० अंकले बढेको थियो। मंगलबार र बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रमा देखिएका समस्याको समाधान खोज्न भन्दै विज्ञ तथा सरोकारवालासँग आठ घण्टा लामो संवाद गरेका थिए।
अध्यक्ष ढकालले अर्थतन्त्र सुधारको लागि मनोविज्ञान बढाउने गरी काम सरकारले खर्च बढाउनु पर्ने, विगतको बक्यौता सबै दिइनु पर्ने, भ्याट फिर्ता गर्न सुरू गर्नु पर्ने लगायतका काम तत्काल गर्नु पर्ने बताए।