सरकारले उत्कृष्ट करदातालाई विशेष पास उपलब्ध गराउने भएको छ।
उत्कृष्ट करदाताको माग बोमोजिम विशेष परिचय पास उपलब्ध गराउन लागिएको अर्थसचिव कृष्णहरी पुष्करले बताए।
बिहीबार करदाता सम्मान कार्यक्रममा सुर्य नेपालका प्रतिनिधि रवि केसी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले करदातालाई उत्प्रेरणा दिनको लागि सिंहदरबार लगायतका स्थानमा जादा झन्झट भएको गुनासो गरेका थिए।
महासंघ अध्यक्ष ढकालले यसका लागि कम्तिमा उत्कृष्ठ करदातालाई पास उपलब्ध गराउन आग्रह गरेका थिए।
सो अनुसार उत्कृष्ठ करदातालाई विशेष पास उपलब्ध गराइन लागिएको अर्थसचिव पुष्करले जानकारी दिए। पास आन्तरिक राजस्व विभागले उपलब्ध गराउने छ। उक्त पास देखाएर उत्कृष्ठ करदाताहरू सिंहदरबारसमेत सहज रूपमा प्रवेश गर्न सक्नेछन्।
उत्कृष्ठ करदातालाई सम्मान गर्दै आएको विभागले यस वर्ष १६ विधाका उत्कृष्ठ करदातालाई सम्मान गरेको छ।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दुरसञ्चार कम्पनीको नेपाल टेलिकमले बुझाएको विभागले जनाएको छ।
त्यस्तै निर्यात कारोबारबाट डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्ट्स्, कृषि तथा पशुपंक्षी उद्योगतर्फ ओबिसी फुड्स प्रालि, सहकारी तथा लघुवित्त संस्थातर्फ छिमेकी लघुवित्त, बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आइएमई बैंक, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ्य शिक्षा क्षेत्रतर्फ नोभेल मेडिकल कलेज, पर्यटनतर्फ मनकामना केवललकार, वस्तु व्यापारतर्फ भाभटेनी सुपर मार्केटले सबैभन्दा बढी कर बुझाएका छन्।
त्यस्तै ५० करोड देखि एक अर्बको कारोबारबाट नेपाल स्टक एक्स्चेन्ज, ऊर्जामूलक उद्योगतर्फ भोटेकोसी जलविद्युत्, रेमिट्यान्सतर्फ आइएमई रेमिटेन्सले सबैभन्दा बढी कर तिरेका हुन्।
यसपालि व्यक्तिगततर्फ सबैभन्दा बढी कर विजयकुमार शाहले तिरेका छन्। संस्थागततर्फ सबैभन्दा बढी कर तिर्ने र समयमा बिलबिजक बुझाउनेमा सूर्य नेपाल प्रालि रहेको विभागले जनाएको छ।
उल्लेलेखित करदाताले आफ्नो विधामा सबैभन्दा बढी कर बुझाएको संस्था र व्यक्तिलाई आन्तरिक राजस्व विभागले बिहीबार सम्मान गरेको हो। सम्मान पाएका संस्था र व्यक्तिले विशेष पास पाउनेछन्।