चालु आर्थिक वर्षको सुरूदेखि नै नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा माथि मूल्य वृद्धि देखिएको छ।
चालु आर्थिक वर्षभरीको लागि औसत ६.५ प्रतिशत मूल्य वृद्धिको लक्ष्य लिएकोमा गत साउनदेखि नै यो ७ प्रतिशत माथि छ। असोजसम्मको औसत मूल्य वृद्धि भने ७.७४ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थअन्तर्गत मरमसलामा ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुमा १८.२२ प्रतिशत, फलफूलमा १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डामा ११.९२ प्रतिशतले मूल्य वृद्धि भएको छ। घ्यू तथा तेलको मूल्य ११.६१ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिमा १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवामा १२.११ प्रतिशत, शिक्षामा ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूमा ६.२५ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यातायातमा भने १.६२ प्रतिशतले मूल्य घटेको छ।
काठमाडौं उपत्यकाले १०.२३ प्रतिशत महँगी खेपिरहँदा तराईकाले ५.६६ प्रतिशत, पहाडकाले ७.३८ प्रतिशत र हिमालकाले १०.२४ प्रतिशत खेपिरहेका छन्।