नेपालबाट निर्माण सामग्रीको निर्यात क्रमशः बढ्दै गएको छ।
निर्यात सुरू गरेको पहिलो वर्ष नै सिमेन्ट निर्यातको आधार वार्षिक दुई अर्ब रूपैयाँभन्दा माथिको पुगेको छ। डन्डीको निर्यात पनि बढ्दै गएको छ।
गत साउनमा पाल्पा सिमेन्टले ४९ लाख रूपैयाँ बराबरको सिमेन्ट निर्यात यो यात्रा सुरू गरेको थियो। चालु आर्थिक वर्षको ११ औं महिनासम्म आइपुग्दा तीनवटा सिमेन्ट उद्योगबाट करिब ७० करोड रूपैयाँको निर्यात भइसकेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटबाट सिमेन्ट निर्यातमा नगद ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ। योसँगै नेपाली सिमेन्ट उद्योगीहरूको निर्यात क्षमता बढेको हो। भारतीय बजारमा प्रतिस्पर्धा गर्दै नेपाली सिमेन्ट माग बढ्दो रहेको व्यवसायीहरूले बताएका छन्।
पछिल्लो दशक सामान्य मूल्य अभिवृद्धि गरेर निर्यात भएका सामानहरूको मात्रा बढ्दै गएकाले निर्यात व्यापारमा केही सुधार देखिए पनि नेपाली उत्पादनको निर्यात भने बढ्न सकेको थिएन। चालु आर्थिक वर्षमा भने निर्माण सामग्रीसँगे सेवा क्षेत्रतर्फ बिजुलीको निर्यात हुन थालेको छ।
गत आर्थिक वर्षमा फलाम तथा स्पात र यसका उत्पादनहरू १८ अर्ब ५४ करोड रूपैयाँ बराबरको आयात भएको थियो। निर्यात भने जम्मा तीन अर्ब ७४ करोड रूपैयाँको मात्रै भएको थियो। यो वर्ष ११ महिना अवधिमा कुल निर्यात बढेर नौ अर्ब ८९ करोड रूपैयाँको पुगेको छ। आयात घटेर १५ अर्ब ३८ करोड रूपैयाँमा झरेको छ।
नेपालमा डन्डी विदेशबाट कच्चा पदार्थ लिएर उत्पादन गरिने भए पनि सिमेन्टमा ९० प्रतिशत मूल्य अभिवृद्धि नेपाली वस्तुकै कारण हुन्छ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार नेपाली उद्योगहरूको वार्षिक एक खर्ब रूपैयाँ बराबरको सिमेन्ट निर्यात सम्भावना छ।
सिमेन्ट निर्यातको पहिलो वर्ष वार्षिक दुई अर्ब रूपैयाँको आधार तय भएको उद्योगीहरूको भनाइ छ। गत फागुन महिनादेखि मासिक ११ करोड रूपैयाँभन्दा बढीको सिमेन्ट निर्यात भएको छ भने जेठ महिनाबाट निर्यात गर्ने उद्योग थपिएका छन्। करिब आधा दर्जन निर्यातको तयारीमा छन्।
यस्तो छ मासिक निर्यात स्थिति
२०७९ असार २४ गतेबाट पाल्पा सिमेन्ट निर्यात सुरू गरेको थियो। अहिले अर्घाखाँची र बालाजी सिमेन्टले पनि निर्यात गरिरहेका छन्।
अर्घाखाँचीले २०७९ असोज १ गतेबाट र बालाजीले २०८० जेठ २९ बाट निर्यात सुरू गरेका हुन्। त्यस्तै जगदम्बा, सर्वोत्तम, सौर्य, घोराही लगायत उद्योग पनि निर्यातको तयारीमा छन्।
कुनै समय ९० प्रतिशतसम्म आयातीत सिमेन्टकै भर पर्नुपर्ने स्थिति रहेकामा नेपाली सिमेन्ट अहिले आत्मनिर्भर पनि बनिसकेका छन्।
नेपालमा सिमेन्ट उद्योग फस्टाउनुको मुख्य कारण यहाँ सिमेन्टलाई चाहिने प्रमुख कच्चापदार्थ चुनढुंगा खानी प्रशस्त हुनु भएको विज्ञहरूले बताएका छन्। पहिले चुनढुंगा उत्खनन गर्न उद्योगहरूसँग लगानी र प्रविधि पर्याप्त थिएन। खानी उत्खननसम्बन्धी सरकारी नीति पनि कडा थियो। त्यसैले उद्योगीहरू भारतबाट क्लिंकर आयात गर्थे। आर्थिक वर्ष २०७४/७५ मा करिब ३० अर्ब रूपैयाँको क्लिंकर आयात भएको थियो।
तर खानी तथा भूगर्भ विभागले २०७५/७६ सम्म १७१ वटा चुनढुंगा खानीको लाइसेन्स जारी गरेपछि आयात कम हुँदै गएको छ। आर्थिक वर्ष २०७५/७६ मै क्लिंकरमा जम्मा पाँच अर्ब रूपैयाँ मात्र बाहिरियो। यही क्रमले निरन्तरता पाउँदै गत वर्ष एक अर्ब रूपैयाँ हाराहारीको क्लिंकर आएको थियो भने यो वर्षसम्म आइपुग्दा चार करोडभन्दा कम मूल्यको भित्रिएको छ।
चालु आर्थिक वर्षको ११ महिनामा भारतीय सिमेन्ट उद्योगहरूमा तीन लाख ८८ हजार २ सय ७७ टन नेपाली क्लिंकर प्रयोग भएको छ। त्यस्तै भारतको पूर्वाधार निर्माणमा पाँच लाख चार हजार ८ सय ४४ टन सिमेन्ट प्रयोग भएको छ।
गत असोजदेखि नै भारतमा सिमेन्ट निर्यात गरिरहेको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका भारतीय बजारमा नेपाली सिमेन्टको माग क्रमशः बढ्दै गएको बताउँछन्। उनले नेपाली सिमेन्टलाई प्रतिस्पर्धी मूल्य तय गर्न चुनौती भने कायम रहेको बताए।
व्यापार विज्ञ तथा पूर्वसचिव चन्द्र घिमिरे पनि अझै कम लागतमा उत्पादन गर्ने चुनौती रहेको र सरकारले केही कदम चाल्दा सस्तो बनाउन सकिने बताउँछन्।
'भारतको तुलनामा नेपाली उद्योगको लागत बढी छ। अहिलेलाई अनुदान दिने हो, दीर्घकालमा उद्योगीहरू आफैं प्रतिस्पर्धी बन्नुपर्छ। यसका लागि उच्चतम प्रविधि भित्र्याउने र लागत घटाउने अन्य उपाय खोजिनुपर्छ,' उनले भने।
लागत घटाउने उपायका रूपमा प्रमुख सीमा नाकासम्म रेले-वे सञ्जाल बनाउने, तेस्रो मुलुकबाट आयात हुने कोइला भारतीय बजारबाट किन्ने गरी व्यापार नीति संशोधन गर्नुपर्ने उनको भनाइ छ।
यो पनि पढ्नुहोस्- तीन वर्षमै नेपाल यसरी बन्यो सिमेन्टमा आत्मनिर्भर