जेठ महिनामा आन्तरिक राजस्व असुलीमा सुधार देखिएको छ। आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार गत वर्षको जेठ महिनाको तुलनामा १५ प्रतिशतले बढेको छ।
जेठ महिनामा मात्रै आन्तरिक राजस्व ३६ अर्ब ९९ करोड ६९ लाख रूपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको जेठ महिनामा ३२ अर्ब १० करोड रूपैयाँ राजस्व उठेको थियो।
आर्थिक क्रियाकलापमा सुधारको संकेत देखिएको कारण राजस्वमा सुधार देखिन थालेको आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले बताए। 'आन्तरिक राजस्वमा क्रमिक सुधार देखिएको छ जेठ महिनामा अन्तःशुल्कमा पनि सुधार देखिएको कारण आर्थिक क्रियाकलाप बढ्दै गएको भन्न सकिन्छ' उनले भने।
आन्तरिक राजस्वतर्फ गत वर्षको जेठ महिनाको तुलनामा कुनै पनि शीर्षकको राजस्व कमी छैन।
आयकरतर्फ ११ अर्ब ३४ करोड रूपैयाँ राजस्व उठेको छ। यो गत वर्ष जेठको तुलनामा २८ प्रतिशतले बढी हो।
मूल्य अभिवृद्धि कर आन्तरिकतर्फ १० अर्ब ७१ करोड उठेको छ। यो ६ प्रतिशतले बढी हो।
अन्तःशुल्क आन्तरिक तर्फ १२ अर्ब ७८ करोड रूपैयाँ उठेको छ। यो १२ प्रतिशतले बढी हो।
स्वास्थ्य सेवा, शिक्षा, घर बहाल तथा ब्याज कर समेत गत वर्षको जेठ महिनाको तुलनामा बढेको छ।
जेठ महिनामा गत वर्षको सोही महिनाको तुलनामा बढी राजस्व उठे पनि चालु वर्षको साउनदेखि जेठ महिनासम्मको ११ महिनाको अवधिमा भने आन्तरिक राजस्व करिब गत वर्षकै बराबर छ।
आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म ४ खर्ब १० अर्बको आन्तरिक राजस्व उठेकोमा यो वर्ष ४ खर्ब ८ अर्ब रूपैयाँ संकलन भएको छ।
भन्सार राजस्वमा भने उल्लेख्य कमी देखिएको छ। जेठ महिनामा ३७ अर्ब ९४ करोड रूपैयाँ भन्सार राजस्व उठेको छ।
जेठ महिनामा सरकारले ६० अर्ब ५५ करोड रूपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो। भन्सार विभागका निर्देशक पुण्यबिक्रम खड्काका अनुसार जेठ महिनाको लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व उठेको छ। त्यस्तै गत वर्ष जेठ महिनाको तुलनामा चार अर्ब ७६ करोड कम राजस्व उठेको छ।
समग्रमा जेठ महिनासम्म तीन खर्ब ५६ अर्ब ७५ करोड रूपैयाँको भन्सार राजस्व उठाएको छ। यो गत वर्ष उठाएको राजस्वको तुलनामा २० प्रतिशत कम हो।
गत वर्ष जेठ महिनासम्म ४ खर्ब ४६ अर्ब रूपैयाँको भन्सार राजस्व उठेको थियो। भन्सार राजस्व कम हुनुमा सरकारले गरेको आयात कडाइ र पछिल्ला महिनाहरूमा भन्सार छली बढेको कारण कम भएको सरोकारवालाको भनाइ छ।
भन्सार विभागका अधिकारीहरूले सबैभन्दा ठूलो प्रभाव पेट्रोलियम गाडीहरूको आयातमा आएको कमी बताएका छन्।
लक्ष्यसँग मिल्दैन तालमेल
सरकारले आन्तरिक र भन्सार राजस्व गरी जेठ महिनासम्ममा ११ खर्ब ५६ अर्ब रूपैयाँ राजस्व प्राप्ति गर्ने लक्ष्य राखेको थियो।
भन्सार विभाग र आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार जेठ महिनासम्म गैर कर बाहेकको राजस्व ७ खर्ब ६४ अर्ब रूपैयाँ मात्रै छ।
यस्तो छ लक्ष्य र प्राप्ति बिचको अन्तर
शीर्षक | लक्ष्य | प्राप्ति | लक्ष्य प्राप्ति (%) |
भन्सार राजस्व | ६ खर्ब ९ अर्ब ५४ करोड | ३ खर्ब ५६ अर्ब ७५ करोड | ५९ |
आयकर | २ खर्ब ४४ अर्ब ६१ करोड | १ खर्ब ७० अर्ब ४२ करोड | ७० |
मूल्य अभिवृद्धिकर (आन्तरिक) | १ खर्ब २४ अर्ब ४४ करोड | ९१ अर्ब ४१ करोड | ८० |
अन्त:शुल्क (आन्तरिक) | १ खर्ब २२ अर्ब ३८ करोड | ९६ अर्ब ९० करोड | ७९ |
अन्य | ५१ अर्ब ८ करोड | ४१ अर्ब ९० करोड | ८२ |