पेट्रोलियम पदार्थको खपत तथा आयात घट्दो छ। खरिद गर्दा बाहिरिने रकम उल्लेख्य बढे पनि परिमाणमा भने चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात घटेको छ।
उद्योगी व्यवसायीहरूले लगातार मागमा आएको कमीको कारणले उत्पादन क्षमता घटेको बताइरहेका छन्। औद्योगिक क्षेत्र र ढुवानीमा धेरै प्रयोग हुने पेट्रोलियम पदार्थको खपतमा पनि कमी देखिएको हो।
'मागमा निकै कमी आएको छ। क्षमताको दृष्टिले उद्योगहरूले न्यून मात्रै उत्पादन गरेका छन्। यसको असर अन्य क्षेत्रहरूमा पनि देखिएको छ,' नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले भने।
मूल्यको हिसाबले समग्र पेट्रोलियम पदार्थको आयात २ प्रतिशतले बढेको छ। तर मूल्य वृद्धिको कारण आयात बढेको तथ्यांकमा देखिन्छ। परिमाणको आधारमा भने १५ प्रतिशतले गिरावट आएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षमा ग्यास २, डिजेल ३२ र पेट्रोलको आयात १० प्रतिशतले कमी आएको छ।
परिमाणको आधारमा राजस्व उठाइने भएको कारण आयात मूल्य बढ्दा पनि पेट्रोलियम पर्दाथबाट उठ्ने राजस्व घटेको छ।
पेट्रोलियम पदार्थको आयातमा आएको कमीको कारण राजस्वमा ११ अर्ब रूपैयाँले कमी आएको छ। अपवाद वर्षहरू बाहेक डिजेल, पेट्रोल र ग्यासको आयात घटेको छैन।
पछिल्लो १० वर्षको औसत आयात वृद्धिदर १३ प्रतिशत छ। आर्थिक रूपमा संकट परेको तथा विपदको समयमा पनि सामान्य पेट्रोलियम पदार्थको खपत सामान्य मात्रै घट्ने गरेको थियो।
कोभिड-१९ को कारण देशभर नै लकडाउन गरिएको र उद्योग कलकारखाना समेत सञ्चालन गर्न समस्या परेको वर्ष २०७६/७७ मा ग्यासको खपत ६ प्रतिशतले बढेको थियो।
डिजेलको १२ प्रतिशतले खपत घट्दा पेट्रोलको २ प्रतिशतले घटेको थियो।
डिजेल, पेट्रोल र ग्यासको आयात तथा राजस्व
|
|
आयात परिमाण (किलोलिटर)
|
आयात मूल्य
|
उठेको राजस्व
|
पेट्रोलियम पदार्थ
|
२०७८/७९
|
२०७९/८०
|
२०७८/७९
|
२०७९/८०
|
२०७८/७९
|
२०७९/८०
|
पेट्रोल
|
६ लाख १६ हजार २८
|
५ लाख ५९ हजार ६७
|
५४ अर्ब ८३ करोड ९६ लाख
|
५५ अर्ब ७९ करोड २५ लाख
|
३१ अर्ब ९५ करोड २७ लाख
|
३० अर्ब २१ करोड ८७ लाख
|
डिजेल
|
१४ लाख ४३ हजार ४५२
|
१० लाख ८६ हजार २३०
|
एक खर्ब २३ अर्ब ७९ करोड
|
एक खर्ब २५ अर्ब ३६ करोड
|
५१ अर्ब १३ करोड ५३ लाख
|
४३ अर्ब ४० करोड ८४ लाख
|
ग्यास
|
४४ करोड १३ लाख ६३ हजार
|
४२ लाख ८६ करोड ८२ लाख
|
५२ अर्ब
|
४९ अर्ब ७२ करोड
|
९ अर्ब ६९ करोड
|
९ अर्ब २७ करोड
|
यो वर्षमा भने उल्लेख्य रूपमा खपत घटेको देखिएको छ। खपत घट्नुमा आर्थिक शिथिलता हुनु, भारतीय सीमावर्ती क्षेत्रमा मूल्य कम हुनु र विद्युतको प्रयोग बढ्नु हाे।
सबैभन्दा ठूलो कारण आर्थिक शिथिलता भएको व्यवसायीहरूको भनाइ छ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान निर्माणका काममा आएको सुस्तता र उद्योग क्षेत्रमा देखिएको उत्पादन कमीले डिजेलको खपत घटेको बताउँछन्।
तथ्यांक अनुसार निर्माण क्षेत्र अहिले मन्दीमा छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार लगातार दुई वटा त्रैमासमा निर्माण क्षेत्रको ऋणात्मक वृद्धिदर छ।
लगातार दुई त्रैमासमा ऋणात्मक वृद्धि देखिएमा मन्दीमा गएको बुझिन्छ।
डिजेलको प्रयोग निर्माणको चरणमा रहेका आयोजना तथा औद्योगिक क्षेत्रमा ४० प्रतिशतले र यातायात र अन्य क्षेत्रमा ६० प्रतिशत हुने गरेको पेट्रोलियम डिलर्स एसोसिएसनमा अध्यक्ष प्रधान बताउँछन्। तर, चालु वर्षमा भने निर्माण क्षेत्र र औद्योगिक प्रयोगमा १५/२० प्रतिशत मात्रै प्रयोग भएको उनको अनुमान छ।
'हामीले वा सरकारी पक्षले कहाँ कति खपत हुन्छ भनेर व्यवस्थित अध्ययन गरेको छैनाैं, हाम्रो अनुमानमा विगतका वर्षमा निर्माण आयोजना तथा अन्य उद्योग क्षेत्रले गरेर ४० प्रतिशतको प्रयोग गर्ने गरेका थिए, अहिले १५/२० प्रतिशतमा झरेको छ' उनले भने।
त्यस्तै, औद्योगिक र पर्यटन क्षेत्रमा ग्यासको प्रयोग २५ देखि ३० प्रतिशत हुने अनुमान गरिएकोमा अहिले ग्यासको प्रयोग पनि यही क्षेत्रमा घटेको ग्यास उद्योगीहरूको भनाइ छ।
'कुनै उपभोक्ताको प्रयोगमा सामान्य कमी आएको पनि होला तर प्रयोगकर्ता बढेका छन्’ नेपाल एलपी ग्यास उद्योग संघका उपाध्यक्ष तथा मनोज ग्यासका सञ्चालक मनोज दासले भने, 'अहिले होटल रेष्टुराँ र औद्योगिक क्षेत्रमा प्रयोग हुने ग्यासको खपत घटेको हाम्रो अनुमान छ।'
नेपाल आयल निगमका अधिकारीहरू पनि निर्माण र उत्पादनमा देखिएको शिथिलताको प्रभाव देखिएको बताउँछन्।
नेपाल आयल निगमका पूर्व निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई सीमावर्ती बजारमा र नेपाली बजारमा देखिएको मूल्य अन्तरको कारण पनि आयातमा कमी आएको बताउँछन्।
खुला सीमानाको कारणले गर्दा उपभोक्ताले समेत भारतीय पेट्रोल पम्पमा गएर तेल हाल्ने र ठूलोमा मात्रामा आयात निर्यातमा प्रयोग हुने मालबाहक सवारी साधानले भारत तर्फमा मात्रै तेल भर्ने गरेको कारणले पनि कमी आएको हुन सक्ने उनको भनाइ छ।
'विगतमा भारतीय सीमावर्ती वर्षको तुलनामा २०/२५ रुपैयाँसम्म सस्तो तेल नेपालमा पाइने गरेको थियो, अहिले १५ रुपैयाँ महँगो छ' उनले भने 'हाम्रो डिजेल/पेट्रोल खपत आयात निर्यातमा प्रयोग हुने ढुवानीले ठूलो हिस्सा अटेको छ र यी साधनले भारतीय बजारमा डिजेल पेट्रोल हाल्दा पनि आयात घटेको हुन सक्छ।'
उनले पनि प्रमुख कारण भने आर्थिक शिथिलता भएको नै देखाए।
त्यस्तै पछिल्लो समयमा विद्युतको प्रयोग बढेको कारणले पनि पेट्रोलियम पदार्थको खपतमा ह्रास आएको हुन सक्ने अनुमान गरिएको छ। सरकारको घोषित नीति नै विद्युतको प्रयोग बढाएर पेट्रोलियम पदार्थको खपत घटाउने छ। सहरी क्षेत्रको घरायसी प्रयोजनमा विद्युतको प्रयोग सामान्य बढेकाे विद्युत प्राधिकरणका अधिकारी बताउँछन्।
अहिले पेट्रोलियम पदार्थको आयातमा आएको कमीमा विद्युतको प्रयोगका हिस्सा निकै न्यून हुन सक्ने आयालमा निगमका अधिकारीहरू बताउँछन्।
'विद्युतको प्रयोग बढेर आयात घटे राम्रो हो, अहिले उद्योगी व्यवसायी लोडसेडिङ भयो भनेर भनिरहनु भएको छ, घरायसी प्रयोजनमा ग्यासको खपत घटेको छैन' आयल निगमका एक अधिकारी भन्छन्, 'अहिले विद्युतको प्रयोग बढेको कारणले पेट्रोलको खपतमा प्रभाव परेजस्तै लाग्दैन।'