निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रौनक बढेको छ। चैत २९ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।
महासंघको चुनावमा त्रिपक्षीय भिडन्त हुने स्पस्ट भएको छ। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई छन्।
तीन जनाले छुट्टाछुट्टै प्यानल बनाएर अघि बढ्ने तय भए पनि कसको टिमबाट को-को प्रतिस्पर्धा गर्ने अझै निश्चित देखिँदैन। आजसम्म पदाधिकारीको टिम भने तीनै वटै उम्मेदवारले तय गरेका छन्।
सोमबार वरिष्ठ उमेशलाल श्रेष्ठ टिमले पदाधिकारीको प्यानल टिम घोषणा गर्दै छ। यसअघि अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको प्यानलले पदाधिकारीको टिम घोषणा गरेको छ।
अहिलेसम्म अन्जन श्रेष्ठको टिमबाट वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा अरूणराज सुमार्गी र एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे छन्। यसअघि अन्जनको टिमको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ थिइन्। आइतबार उनको कित्ता परिवर्तन भएपछि टिमबाट अहिले प्रवल देखिएका हुन्।
रामचन्द्र संघाईको टिमबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य छन्। वस्तुगत उपाध्यक्ष सकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छन्।
उमेशलाल श्रेष्ठको टिमबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् भने वस्तुगतमा हेमराज ढकाल र एसोसिएटमा भरत आचार्य छन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छ। त्यसैले वरिष्ठ उपाध्यक्ष आकांक्षीहरूका लागि मुख्य पद हो। महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ।
एसोसिएटबाट १९, जिल्लानगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहने छन्। प्रत्येक प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। यस्तै महासंघको पदाधिकारीमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष (विशिष्ट सदस्य) का रूपमा रहने व्यवस्था छ।
वरिष्ठ उपाध्यक्षमा जित्न खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले पहिलो चरणमा खसेको कुल मतको ५० प्रतिशत कटाउन नसकेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ। महासंघको निर्वाचनमा जिल्ला–नगरको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रिय समेत) को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार हुन्छ।
हालसम्म पदाधिकारीमा उम्मेदवारी दर्ता रामचन्द्र संघाई टिमको मात्रै भएको देखिएको छ। उनको टिमकी ज्योत्सना श्रेष्ठले अहिलेसम्म उम्मेदवारी दर्ता नगराए पनि संघाई, हिराचन र वैद्यले आइतबारै दर्ता गराइसकेको महासंघ निर्वाचन समितिले जानकारी गराएको छ। अन्य १७ जना सदस्यले पनि दर्ता गराएका छन्।
उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ टिमले भने मंगलबार नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। महासंघ निर्वाचन समितिले मंगलबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्ने तालिका मिलाएको छ।
तीनै वटा वरिष्ठ उपाध्यक्षको प्यानलले पदाधिकारीका उम्मेदवार तय गरे पनि सदस्यहरू सहितको पूर्ण टिमको घोषणा उम्मेदवारी दर्तापछि मात्रै गर्ने भएका छन्। यसले सदस्यमा सबै जनाको पूर्ण टिम नहुन सक्ने देखिएको छ।
‘उम्मेदवारी दर्ता भएपछि मात्रै सदस्यहरू समेटेर टिम बनाउने तयारीमा छौं,’ उमेशलाल श्रेष्ठ टिममा एसोसिएट उपाध्यक्ष भरत आचार्यले भने। अन्य टिमले पनि चैत २५ गतेपछि मात्रै सदस्यहरू सहितको टिम घोषणाको तयारी गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारहरू टिम घोषणा गरिए पनि अझै पदाधिकारीको टिम मिलाउने प्रयासमा रहेका छन्। संघाई टिमबाट वस्तुगत र जिल्लानगर उपाध्यक्षमा उम्मेदवारको उम्मेदवारी दर्ता गराइए पनि अन्यले टिमका उम्मेदवारले भने मंगलबारसम्म टिम थप परिमार्जन गरेर दर्ता गराउने प्रयास गरेका छन्।
एसोसिएट उपाध्यक्षमा देखिएका तीन जना मध्येबाट दुई जना मात्रै उम्मेदवार हुन सक्ने आकलन छ।
‘प्रवलजंग पाण्डे र भरत आचार्य एक अर्कासँग प्रतिस्पर्धा गर्न नचाहे पनि अहिले दुई टिममा देखिएका छन्,’ महासंघका एक सदस्यले भने, ‘उनी दुवै जना मध्येबाट एक जना मात्रै उम्मेदवार रहन्छन्। कसले छोड्ने र कसको टिममा हुने भन्ने पछि खुल्ने छ।’
अन्य पदमा कसले बाजी मार्छ अझै आकलन गर्न सकिँदैन। तर महासंघको विधानअनुसार नै आगामी अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल आगामी तीन वर्षे कार्यकालको अध्यक्ष बन्ने छन्।
विगतमा यस्तै व्यवस्थाबाट स्वत: अध्यक्ष बनेका भवानी राणा र शेखर गोल्छा राम्रो टिम आवश्यक पर्ने भन्दै एक पक्षमा खुलेका थिए।
भावी अध्यक्ष ढकाल भने अहिलेसम्म खुलेका छैन। तर रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठको टिमको आफ्नो टिमलाई समर्थन रहेको बताउने गरेका छन्। ढकालले भने आफू सहमति प्रयासमा केन्द्रित भएकाले आफू अहिलेसम्म कुनै टिममा नदेखिएको प्रतिक्रिया दिएका छन्।