निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनाव नजिकिएसँगै व्यवसायीका गतिविधि बढेका छन्। तीन वर्षपछिको नेतृत्वमा पुग्ने गरी हाल वरिष्ठ उपाध्यक्षका आकांक्षीहरू अहिले टिम बनाउन व्यस्त छन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुन्छ। त्यसैले वरिष्ठ उपाध्यक्ष आकांक्षीहरूका लागि मुख्य पद हो। हालसम्म अहिलेका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको आकांक्षी देखिएका छन्। महासंघको चुनावी साधारणसभा चैत २८ र २९ गते काठमाडौंमा हुँदै छ।
अञ्जनले पदाधिकारीका लागि आफ्नो टिम घोषणा गरिसकेका छन् भने उमेश र रामचन्द्र केही दिनमै घोषणा गर्ने तयारीमा जुटेका छन्। दिनेशले भने आफू छलफलमै रहेको बताएका छन्।
अञ्जनले घोषणा गरेको टिममा महासंघको वरिष्ठ उपाध्यक्षमा सबभन्दा बढी मत भार रहने जिल्ला नगरतर्फको उपाध्यक्षमा अरूणराज सुमार्गी। वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसियट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ छन्।
अञ्जन महासंघमा पछिल्लो २० वर्षदेखि सक्रिय छन्। हेटौंडाका व्यवसायी अरूणराज सुमार्गी महासंघको पछिल्लो तीन कार्यकाल लगातार महासंघ कार्यसमिति सदस्यमा जित्दै आएका छन्। उनी अहिले महासंघको कृषि समिति सभापतिसमेत छन्।
टेक्सटाइल उद्योगमा रहेका मनिषलाल प्रधान पनि महासंघमा लामोसमयदेखि सक्रिय छन्। उनी महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानका छोरा हुन्। उनी ज्वेलरी क्षेत्रमा पनि आबद्ध छन्।
पछिल्लो तीन कार्यकाल लगातार महासंघका लोकप्रिय मतसहित कार्यसमिति सदस्य जितेकी ज्योत्शाना सुब्बा श्रेष्ठ ज्वेलरी व्यवसायमा संलग्न छिन्।
आफ्नो टिम सबै क्षेत्रको प्रतिनिधित्व गर्ने गरी समावेशी टिम बनेको अञ्जनको भनाइ छ।
‘हामीले सबै क्षेत्र समेट्ने गरी समावेशी टिम बनाएका छौं, केही समयमै सदस्यसहितको पूर्ण टिम घोषणा हुनेछ’ उनले सेतोपाटीसँग भने।
महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ । एसोसिएटबाट १९, जिल्लानगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहनेछन् । प्रत्येक प्रदेशबाट दुई–दुईजनाका दरले १४ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । यस्तै, महासंघको पदाधिकारीमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्ष (विशिष्ट सदस्य)का रूपमा रहने व्यवस्था छ ।
वरिष्ठ उपाध्यक्षमा जित्नका लागि खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले पहिलो चरणमा खसेको कुल मतको ५० प्रतिशत कटाउन नसकेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ । महासंघको निर्वाचनमा जिल्ला–नगरको मत भार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रियसमेत)को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मत भार हुन्छ ।
अञ्जनको यात्रा
महासंघका नेतृत्व आकांक्षीमा प्राय घरना परिवारहरू देखिने गर्छन्। अञ्जन पोखराबाट अघि बढेका व्यावसायिक घरना लक्ष्मी ग्रुपका सदस्य हुन्।
परिवारले सञ्चालन गरेको सानो मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसयिक यात्रा अहिले धेरै क्षेत्रमा फेलिएको छ।
अञ्जनका अनुसार ४९ वर्षअघि ३०० रूपैयाँ लगानीको मिठाइ व्यापारबाट उनको व्यावसायिक यात्रा सुरू भएको थियो। आफैं व्यवसाय क्षेत्रमा संलग्न भएको ३० वर्षभन्दा बढी भएको उनी बताउँछन्।
‘महासंघमा २० वर्षको अनुभव छ, व्यवसायमा ३० वर्षदेखि सक्रिय छु, यो अनुभवले महासंघलाई नेतृत्व दिन सहयोग पुग्ने छ,’ अञ्जनले भने।
मिठाइ व्यवसायबाट सुरु गरेको यात्रा डेरि प्रोडक्ट, प्याकेजिङ उद्योग, अटोमोबाइल, डन्डी, स्टील हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ। लक्ष्मी ग्रुपले डेढ अर्ब लगानीमा नवलपरासीमा खाद्यान्न उद्योग, साढे दुई अर्बभन्दा बढीको लगानीमा बिलेट उद्योग सञ्चालनका लागि भन्दै उद्योग विभागमा उद्योग दर्ता गराएको छ।
अञ्जन साना उद्योगको विकासमा परिवार र आफ्नो ठूलो योगदान रहेको दाबी गर्छन्।
'पहिले साना तथा मझौला उद्योगका समस्या राष्ट्रिय मुद्दासमेत बन्न सकेको थिएन। हामीले राष्ट्रिय अर्थतन्त्र विकासको महत्वपूर्ण क्षेत्र रहेको साना तथा मझौला उद्योगका विषयलाई राष्ट्रिय मुद्दाका रूपमा स्थापित गरायौं,’ उनले भने, ‘ग्रामीण अर्थतन्त्र उकास्ने सबैलाई डेरी तथा खाद्य उद्योग सञ्चालनले ठूलो टेवा पुग्यो।’