चालु आर्थिक वर्ष २०८१/८२ को माघमा घरजग्गा कारोबार घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो।
माघमा देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो अघिल्लो महिनाको तुलनामा २.९१ प्रतिशतले न्यून हो। पुसमा देशभर ४७ हजार चार सय ७९ संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।
गत वर्ष माघको तुलनामा पनि यो वर्ष माघमा घरजग्गा कारोबार ९.४७ प्रतिशतले घटेको छ। गत माघमा देशभर ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो।
घरजग्गा कारोबार घटेसँगै राजस्व पनि घटेको छ। माघमा सरकारलाई घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
यो अघिल्लो महिनाको तुलनामा ८.९३ प्रतिशत न्यून हो। पुसमा सरकारलाई चार अर्ब २५ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
गत माघको तुलनामा यो वर्ष १४.७१ प्रतिशतले राजस्व घटेको छ। गत वर्ष माघमा भएको घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब ३७ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।