पछिल्लो समय काठमाडौंमा घरजग्गा कारोबार बढ्न थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार बढेको देखाएको हो।
चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा काठमाडौं उपत्यकामा दुई हजार तीन सय १५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो भदौ महिनाको तुलनामा १८ प्रतिशत बढी हो। भदौमा एक हजार नौ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो।
साउनको तुलनामा भदौमा पनि दस प्रतिशतले घरजग्गा कारोबार बढेको विभागको तथ्यांक छ। साउनमा एक हजार सात सय ६० संख्यामा घरजग्गा कारोबार थियो।
गत वर्ष असोज महिनाको तुलनामा यस वर्ष सोही अवधिमा ४८ प्रतिशतले घरजग्गा कारोबार बढेको छ। गत वर्ष असोजमा एक हजार पाँच सय ९६ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो।
घरजग्गा किनबेचसँगै कित्ताकाट पनि वृद्धि भएको छ।
भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको विभागको तथ्यांक छ।
भदौमा पाँच सय ३२ संख्यामा जग्गा कित्ताकाट भएको थियो भने असोजमा सात सय १५ संख्यामा कित्ताकाट भएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनी अहिले घरजग्गा कारोबार बढ्नुको तीन कारण बताउँछन्।
पहिलो, कित्ताकाट खुल्नु।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। नियमावली अनुसार सबै स्थानीय तहलाई जग्गा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा वर्गीकरण गर्न भनिएको थियो। तर सरकारले तोकेको र थप गरिएको समयमा समेत सबै स्थानीय तहहरूले वर्गीकरणको काम सकेनन्। लामो समय जग्गा किनबेच ठप्प भयो।
यसले अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै गत वैशाख ५ को मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधन गरेर देशभर कित्ताकाट खोल्ने निर्णय गरेको हो।
संशोधित नियमावली अनुसार प्लानिङ अनुमति (परमिट) लिएकाहरूले साढे २ आना क्षेत्रफलमा जग्गा कित्ताकाट गर्न पाउँछन्। त्यसअघि कम्तीमा ४ आना १ दाममा मात्रै जग्गा कित्ताकाट गर्न पाइन्थ्यो। प्लानिङ अनुमति नलिई व्यक्तिगत रूपमा हुने जग्गा कित्ताकाटमा भने अहिले पनि न्यूनतम ४ आना १ दामकै प्रावधान छ।
मोही, अंशबण्डामा पनि अब साढे दुई आना क्षेत्रफलमै जग्गा कित्ताकाट गर्न पाइने भएको छ। पहिले न्यूनतम चार आना एक दाम मात्रै कित्ताकाट गर्न पाइन्थ्यो। वर्गीकरण नभएको क्षेत्रमा त्यति पनि कित्ताकाट गर्न पाइँदैन थियो। यसले गर्दा अशंबण्डा र मोहियानी हकदाबीमा समस्या भएको थियो।
संशोधनसँगै यी समस्या समाधान भएका छन्।
दोस्रो कारण हो बैंक कर्जाको ब्याजदर घट्नु।
वाणिज्य बैंकहरूले अहिले आधारदरको एक प्रतिशतदेखि अधिकतम पाँच प्रतिशतसम्म ब्याज लिएका छन्। पहिले भने आधारदरमा ६ देखि ७ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए। यस हिसाबले ब्याजदर घटेको देखिन्छ।
तेस्रो कारण हो रेमिटेन्स बढ्नु।
अघिल्लो वर्षको साउन र भदौ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा २२ प्रतिशत रेमिटेन्स बढेर दुई खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ।
रेमिटेन्स बढ्दाको सोझो प्रभाव घरजग्गामा देखिने राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
राष्ट्र बैंकले लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा रहेका घरपरिवारमध्ये ६८ प्रतिशतले घर वा जग्गा थपेको वा किनेको देखिएको थियो।
नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनी यिनै कारणले गर्दा घरजग्गाको कारोबारमा क्रमशः सुधार आउँदै जाने बताउँछन्।
'असोजदेखि सुधार हुन थालेको हो,' उनले भने, 'मसिंरदेखि सिजन सुरू हुने भएकाले घरजग्गा कारोबार झनै बढ्छ।'
कात्तिकमा भने दसैं-तिहार जस्ता चाडका कारण सार्वजनिक बिदा धेरै भएकाले घरजग्गा कारोबार केही घट्ने उनको अनुमान छ।