काठमाडौं उपत्यकामा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मा जग्गा कित्ताकाट बढेको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही महिनाको तुलनामा दोब्बरले कित्ताकाट बढेको हो।
साउन महिनामा उपत्यकामा चार सय ८१ संख्यामा जग्गा कित्ताकाट भएको छ। गत साउनमा दुई सय १७ संख्यामा जग्गा कित्ताकाट भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
साउनमा कारोबार संख्यामा पनि थोरै बढेको छ। गत साउनमा १६ सय ५५ संख्यामा घरजग्गा कारोबार भएको थियो भने यो साउनमा १७ सय ६० संख्यामा घरजग्गा कारोबार भएको छ।
सरकारलाई घरजग्गा व्यवसायबाट साउन महिनामा ७२ करोड २४ लाख रूपैयाँ प्राप्त भएको छ।
घरजग्गा व्यवसायीहरू कर्जाको ब्याजदर क्रमिक रूपमा घट्नु, बैंकिङ प्रणालीमा कर्जायोग्य रकम थुप्रिनु र बैंकहरूले घरकर्जालाई प्राथमिकतामा राख्न थालेसँगै कारोबार बढ्न थालेको बताउँछन्।
त्यस्तै, बजेटमा घरजग्गा कारोबारमा सहजीकरण गर्ने घोषणा भएसँगै व्यवसायीमा आशा पलाएको जग्गा व्यवसायी विनोद सुवेदीले बताए।
'बजेटमा घरजग्गा कारोबारमा सहजीकरण गरिने घोषणा हुनु र ब्याजदर पनि घट्दै जानुले व्यवसायी उत्साहित भएका छन्,' उनले भने।
सरकारले हालै मात्रै भू–उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खोलेको छ। यसले पनि क्रमिक रूपमा घरजग्गा कारोबार बढ्दै जाने उनको भनाइ छ।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो।
स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। योसँगै कारोबारमा पनि कमी आएको थियो।
घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा प्रभाव परेको भन्दै सरकारले भू–उपयोग नियमावली संशोधन गरेको छ।
संशोधित नियमावली अनुसार अब प्लानिङ पर्मिट लिएकाहरूले साढे २ आना क्षेत्रफलमै जग्गा कित्ताकाट गर्न पाइनेछ।
यसअघि न्यूनतम ४ आना १ दाममा मात्रै जग्गा कित्ताकाट गर्न पाइने थियो। प्लानिङ पर्मिट नलिइ व्यक्तिगत तहमा हुने गरेका कित्ताकाटमा भने न्यूनतम ४ आना १ दामकै प्रावधान रहनेछ।
मोही, अंशवण्डामा पनि अब साढे दुई आना क्षेत्रफलमै जग्गा कित्ताकाट गर्न पाइने भएको छ।
त्यस्तै, भू–उपयोग नियमावली आएको छ महिनाभित्र स्थानीय तहले जग्गा वर्गीकरण गरिसक्नु पर्नेमा संशोधित नियमावलीले एक वर्षको समय दिएको छ।
गत वर्षको सुरूआतदेखि नै घरजग्गा कारोबार सुस्ताएको थियो।
काठमाडौंमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा झन्डै आधा मात्र घरजग्गाको कारोबार भएको थियो।
२०७८/७९ को तुलनामा २०७९/८० मा घरजग्गा कारोबार ५२ प्रतिशतले घटेको हो।
२०७८/७९ मा कुल ५२ हजार चार सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। २०७९/८० मा भने २४ हजार आठ सय ३७ संख्यामा मात्र घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
काठमाडौंमा कहाँ कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्ष पहिलो महिना (साउन)मा ७ सय ३४ संख्यामा घरजग्गा कारोबार भएको छ।
यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट साउनमा ३ सय ९९ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
त्यस्तै, तेस्रोमा चाबहिल मालपोत कार्यालय हो। यस कार्यालयबाट साउनमा ३ सय ५४ संख्यामा कारोबार भएको छ।
आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
मनमैजु कार्यालयबाट साउनमा २ सय १ संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट एक सय ७५ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट ९७ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।