लामो समय सुस्ताएको घरजग्गा कारोबार जेठ महिनामा बढेको छ।
काठमाडौं उपत्यकामा चालु आर्थिक वर्ष २०७९/८० कै सबैभन्दा बढी जग्गा किनबेच जेठमा भएको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा जेठमा दुई हजार पाँच सय २७ संख्यामा घरजग्गा कारोबार भएको छ।
चालु आर्थिक वर्षको सुरूआती चरणदेखि नै घटेको घरजग्गा कारोबार जेठमा किन बढ्यो?
घरजग्गा व्यवसायीहरू कर्जाको ब्याजदर क्रमिक रूपमा घट्नु, बैंकिङ प्रणालीमा कर्जायोग्य रकम थुप्रिनु र बैंकहरूले घरकर्जालाई प्राथमिकतामा राख्न थालेसँगै कारोबार बढ्न थालेको बताउँछन्।
त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा घरजग्गा कारोबारमा सहजीकरण गर्ने घोषणा भएसँगै व्यवसायीमा आशा पलाएको जग्गा व्यवसायी विनोद सुवेदीले बताए।
'बजेटमा घरजग्गा कारोबारमा सहजीकरण गरिने घोषणा हुनु र ब्याजदर पनि घट्दै जानुले व्यवसायी उत्साहित भएका छन्,' उनले भने।
सरकारको यो नीतिका कारण पनि कारोबार बढ्न थालेको उनको भनाइ छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष माघमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत भएकामा चैत अन्तिमसम्म १२.८४ प्रतिशत भएको छ। बैंकहरूका अनुसार अब असारमा कर्जाको ब्याजदर थप घट्नेछ।
ब्याजदर कम हुँदै जाँदा घरजग्गा कर्जाको माग पनि बढिरहेको एक बैंकरले बताए।
'आवासीय कर्जा हामीले दिइरहेका छौं,' ती बैंकरले भने, 'अहिले कर्जाका लागि ग्राहकको सोधपुछ बढिरहेको छ। बर्खापछि आवासीय कर्जा अझै बढ्ने देखिन्छ।'
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। योसँगै कारोबारमा पनि कमी आएको थियो। घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा प्रभाव परेको भन्दै वैशाख ५ गते मन्त्रिपरिषद बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको थियो।
यो कारणले पनि घरजग्गा कारोबार बढेको व्यवसायीहरूको अनुमान छ।
भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट सहज बनाउने गरी नियमावली संशोधन गर्दैछ।
मन्त्रालयका सचिव दामोदर रेग्मीका अनुसार वर्गीकरणको समय थप गरिने तथा अशंबण्डा र मोहियानी हकदाबीमा आएको समस्या समाधान हुने गरी संशोधन गर्नेबारे छलफल भइरहेको छ।
यी सबैले घरजग्गा व्यवसायमा सकारात्मक प्रभाव पारेको हो।
चालु आर्थिक वर्षको पहिलो महिना, साउनदेखि नै काठमाडौंमा घरजग्गा कारोबार सुस्त थियो। साउनमा १६ सय ५५ संख्यामा भएको कारोबार भदौमा भने एक्कासि बढेर दुई हजार पाँच सय ११ संख्या पुग्यो। तर यो कारोबारले निरन्तरता पाउन पाउन सकेन।
असोजमा आएर आएर पुनः घट्यो। कात्तिकमा पनि उस्तै कारोबार भयो। असोजमा एक हजार पाँच सय ९६ संख्यामा कारोबार भएको थियो भने कात्तिकमा एक हजार पाँच सय ४७ संख्यामा कारोबार भएको छ।
मंसिरमा भने घरजग्गा किनबेच थोरै उकालो लाग्यो देखिन्छ। मंसिरमा एक हजार नौ सय ८ संख्या र पुसमा एक हजार नौ सय ९ संख्यामा कारोबार भयो।
माघ फेरि केही बढेर दुई हजार एक सय ९० संख्यामा पुग्यो। फागुनमा दुई हजार एक सय ९६ संख्यामा कारोबार भयो।
चैतमा दुई हजार दुई सय ५५ संख्यामा भएको कारोबार वैशाखमा एक हजार नौ सय २१ संख्यामा भयो।
यसरी निरन्तर ओरालो लागिरहेको घरजग्गा कारोबार जेठमा भने उकालो लागेको छ। यही क्रम जारी रहे कारोबारले गति लिने व्यवसायीहरूले बताएका छन्।
हेर्नुहोस् गत साउनदेखि जेठसम्म काठमाडौं उपत्यकामा भएको घरजग्गाको कारोबारः
चालु आर्थिक वर्ष २०७९/८० | घरजग्गा किनबेच संख्या |
साउन | १६५५ |
भदौ | २५११ |
असोज | १५९६ |
कात्तिक | १५४७ |
मंसिर | १९०८ |
पुस | १९०९ |
माघ | २१९० |
फागुन | २१९६ |
चैत | २२५५ |
वैशाख | १९२१ |
जेठ | २५२७ |