जेठ महिनामा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ।
भूमि, व्यवस्था तथा अभिलेख विभागका अनुसार जेठ महिनामा काठमाडौंमा दुई हजार पाँच सय २७ संख्यामा घरजग्गा किनबेच भएको छ।
यो संख्या वैशाखको तुलनामा दाेब्बरले बढी हो। वैशाखमा काठमाडौंमा एक हजार एक सय २१ संख्यामा कारोबार भएको थियो।
कारोबार बढेसँगै कित्ताकाट पनि लगभग दोब्बरले बढेको छ।
वैशाखमा काठमाडौंमा चार सय ८१ संख्यामा कित्ताकाट भएकोमा जेठमा ८ सय १३ संख्यामा कित्ताकाट भएको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार यो आर्थिक वर्षको माघ र फागुनमा उस्तै–उस्तै संख्यामा कारोबार भएको थियो। चैतमा आएर थोरै संख्यामा उकालो लागेको घरजग्गा कारोबार वैशाखमा फेरि घटे पनि जेठमा उकालो लागेको छ।
वैशाखमा काठमाडौं उपत्यकामा एक हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ।
यस्तो किनबेच चैतमा काठमाडौं उपत्यकामा दुई हजार दुई सय ५५ संख्यामा थियो। त्यस्तै, माघमा दुई हजार एक सय ९० संख्यामा र फागुनमा जम्मा ६ मात्र बढेर दुई हजार एक सय ९६ पुगेको थियो।
जेठमा जग्गाको कारोबार बढ्नुको विभिन्न कारण रहेको जग्गा व्यवसायीहरू बताउँछन्।
कर्जाको व्याजदर क्रमिक रूपमा घट्नु, बैंकिङ प्रणालीमा कर्जायोग्य रकम थुप्रिनु र बैंकहरूले घर कर्जालाई प्राथमिकतामा राख्न थालेसँगै कारोबार बढ्न थालेको जग्गा व्यवसायी विनोद सुवेदीले जानकारी दिए।
त्यससँगै आगामी आर्थिक वर्षको बजेटमा घरजग्गा कारोबारमा सहजीकरण गर्ने घोषणा भएसँगै व्यवसायीमा आशा पलाएको उनी बताउँछन्।
'बजेटमा घोषणा गर्नु र ब्याजदर पनि घट्दै जानुले व्यवसायी उत्साहित भएका छन्,' उनले भने।
राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा कर्जाको औषत ब्याजदर १३.०३ रहेकोमा चैत अन्तिममा १२.८४ मा आइपुगेको छ।
बैंकहरूका अनुसार असारमा कर्जाको ब्याजदर थप घट्नेछ।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो।
स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। योसँगै कारोबारमा पनि कमी आएको थियो।
घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा प्रभाव परेको भन्दै वैशाख ५ गते बसेको मन्त्रिपरिषद बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको थियो।
यो कारणले पनि घरजग्गा कारोबार बढेको व्यवसायीको भनाइ छ।
भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट सहज बनाउने गरी नियमावली संशोधन गर्दैछ।
मन्त्रालयका सचिव दामोदर रेग्मीका अनुसार वर्गीकरणको समय थप गरिने तथा अशंबण्डा र मोहियानी हकदाबीमा आएको समस्या समाधान हुने गरी संशोधन गर्नेबारे छलफल भइरहेकोे छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने यो वर्ष समग्र कारोबार नै एकदमै कम छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै पोहोरभन्दा कम कारोबार भएको हो।
पोहोर साउनदेखि जेठसम्म कुल कारोबार संख्या ४८ हजार ५ सय ८२ थियो। यस वर्ष यही अवधिमा जम्मा २२ हजार दुई सय १५ संख्यामा मात्र घरजग्गा कारोबार भएको छ।
गतवर्ष जेठ महिनामा काठमाडौंमा दुई हजार नौ सय ७८ संख्यामा घरजग्गा कारोबार भएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो वर्ष कित्ताकाट आधाभन्दा बढीले कम हो।
गत आर्थिक वर्ष साउनदेखि वैशाखसम्म यस्तो कित्ताकाट संख्या ११ हजार एक सय १० थियो। यसपाली यही समयमा भएको कित्ताकाट संख्या ८ सय १३ मात्र छ।
काठमाडौंमा कहाँ कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन् कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
यो वर्ष पहिलेका महिनामा झैं वैशाखमा पनि काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्ष वैशाखमा ७ सय ५८ संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट ५ सय ७६ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
त्यस्तै, तेस्रोमा चाबहिल मालपोत कार्यालय हो। यस कार्यालयबाट जेठमा चार सय ७९ संख्यामा कारोबार भएको छ।
आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
मनमैजु कार्यालयबाट वैशाखमा तीन सय ६ संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट दुई सय ३५ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट एक सय ७३ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।