कुनै पनि घर बनाउँदा प्रयोग गरिने सरसामानले त्यसको स्वरूपमा महत्वपूर्ण भूमिका खेल्छ।
सिमेन्ट, डन्डी, रङ लगायत जस्तै झ्याल–ढोकाको पनि घर निर्माणमा धेरै महत्व हुन्छ।
पहिलेपहिले सबैजसो घरमा काठका झ्याल–ढोका प्रयोग हुन्थे। सिसाको झ्याल राख्दा पनि चौकोस अनिवार्य रूपमा काठकै हुन्थ्यो। अचेल यो दृश्य फेरिएको छ। बजारमा आलुमिनियम र युपिभिसी (एक प्रकारको प्लास्टिक) का झ्याल–ढोका पाइन्छ।
काठको तुलनामा आलुमिनियम र युपिभिसी झ्याल–ढोका सस्तो पर्छ। तर महँगो भए पनि काठका झ्याल–ढोका चाहेजस्तो डिजाइन दिन, आकारप्रकार र गुणस्तर रोज्न, पुनः प्रयोग गर्न सकिने र टिकाउ हुनेजस्ता विशेषताले सदावहार छ।
अचेल झ्याल–ढोकाका पल्लामा भने काठ राख्ने चलन धेरै छैन। झ्यालमा सिसा राखिन्छ भने पिभिसी, युपिभिसी, प्लाइउड र काठकै तयारी ढोका पाइन्छ।
त्यसैले हामीले यहाँ काठको झ्याल–ढोकाको चौकोसको मूल्यबारे मात्र चर्चा गरेका छौं।
सबभन्दा पहिले बजारमा पाइने काठबारे कुरा गरौं। भक्तपुर, काँडाघारीस्थित इन्द्रावती फर्निचर उद्योगका सञ्चालक विवेक ढकालले हामीलाई बजारमा पाइने काठका प्रकार, गुणस्तर र मूल्यबारे जानकारी दिएका छन्।
चौकोस भन्नाले घरको भित्तासँग जोडिएको झ्याल वा ढोका अड्याइराख्ने फ्रेम हो। यो आवश्यकताअनुसार मोटो, पातलो, बलियो र कमसल काठबाट बनेको हुन्छ।
विवेकका अनुसार झ्याल, ढोका र फर्निचरका लागि देशभित्रकै र विदेशबाट पनि गुणस्तरीय तथा केही सस्तो काठ काठमाडौं आउँछ। अहिले बजारमा नेपाली र भारतीय अग्राख, जामुन, साल, सिसौ लगायत विभिन्न प्रकारका काठ चल्तीमा छन्। त्यसमध्ये भारतीयको तुलनामा नेपाली काठ महँगो पर्छ।
बजारमा काठको हिसाब क्युबिक फिटमा गरिन्छ। नेपाली अग्राखको मूल्य प्रति क्युबिक फिट ६ हजार पाँच सय रूपैयाँ छ। त्यस्तै अरू काठको प्रति क्युबिक फिट तीन हजार रूपैयाँ हाहारी पर्छ।
भारतीय अग्राखको मूल्य भने प्रति क्युबिक फिट पाँच हजार पाँच सय रूपैयाँ छ।
‘नेपाली सालको काठ सबभन्दा राम्रो र गुणस्तरीय मानिन्छ। यसबाट बनेका झ्याल–ढोका हत्तपत्त बिग्रिँदैन। कीरा–धमिरा लाग्दैन,' विवेकले भने।
चार कोठे घर बनाउँदा झ्याल–ढोकाको चौकोसमा कति खर्च अनुमान गर्ने त?
हामीले चार वर्षदेखि घर निर्माण गर्दै आएको बिएल एन्ड कन्स्ट्रक्सन कम्पनीका सिइओ ध्रुवबहादुर कार्कीको सहयोगमा चार कोठाको घर बनाउँदा झ्याल–ढोकाको चौकासमा लाग्ने खर्चको विवरण निकालेका छौं।
कार्कीका अनुसार सामान्यतया कोठाको आकार हेरी प्रत्येकमा कम्तिमा एउटादेखि दुइटा झ्याल राखिन्छ। त्यस्तै ट्वाइलेट/बाथरूममा एउटा झ्याल हुन्छ। समग्रमा चार कोठाको घरमा कोठा र बाथरूममा गरी पाँच वटा देखि नौ वटासम्म झ्याल राखिन्छ।
त्यस्तै, मूल ढोका, प्रत्येक कोठामा एक–एक वटा, छतमा जाने भर्याङमाथि, बाथरूम र घरको पछाडिको भागमा समेत गरी कम्तीमा आठ वटा ढोका राखिन्छ।
पहिले झ्यालको चौकोसबारे बुझौं।
सामान्यतया चार फिट लम्बाइ र छ फिट चौडाइ (४ बाइ ६) र साढे चार फिट लम्बाइ र छ फिट चौडाइ (४.५ बाइ ६) को झ्याललाई स्यान्डर्ड साइज मानिन्छ। एउटा झ्यालका लागि २.५ क्युबिक फिट काठको चौकोस चाहिन्छ।
झ्यालका लागि पनि नेपाली काठ राम्रो मानिन्छ। तर घर बनाउन आफूसँगै भएको पैसाअनुसार हिसाब गरेर आफूलाई उपयुक्त झ्याल–ढोका राख्न सकिने कार्की बताउँछन्।
नेपाली अग्राख राम्रो हुने भएकाले कार्की उपभोक्तालाई त्यही प्रयोग गर्न सुझाव दिन्छन्। अहिले नेपाली अग्राखको मूल्य प्रति क्युबिक फिट ६ हजार पाँच सय रूपैयाँ छ।
त्यसअनुसार अग्राखको एउटा झ्यालको चौकोसमा १६ हजार दुई सय ५० रूपैयाँ खर्च हुन्छ। चार वटा कोठामा एक/एक वटा झ्याल राख्दा ६५ हजार रूपैयाँ खर्च हुन्छ। दुइटाका दरले राख्ने हो भने त्यसैअनुसार मूल्य बढ्छ, कम्तीमा एक लाख ३० हजार रूपैयाँ अनुमान गर्नुपर्छ।
‘तर प्रायः एउटा झ्याल नै राख्ने चलन छ,' कार्कीले भने, ‘हिँड्ने बाटो भएको ठाउँमा मात्रै दुइटा झ्याल राख्छन्।'
यो मूल चौकोसको कुरा भयो। अब झ्यालको खापा (पल्ला) चौकोसको कुरा गरौं।
कार्कीका अनुसार स्ट्यान्डर्ड आकारको एउटा झ्यालमा तीनटा खापा हुन्छ। यसमा कुल २७ वर्गफिट काठ लाग्छ। एक वर्गफिट काठको ६ सय रूपैयाँ पर्छ। यसहिसाबले १६ हजार दुई सय रूपैयाँ लाग्छ।
त्यसैगरी बाथरूम/ट्वाइलेटमा पनि झ्याल राख्नुपर्छ। यो झ्याल कोठाको भन्दा सानो आकारको हुन्छ। सामान्यतया तीन फिट चौडाइ र चार फिट लम्बाइको राखिन्छ। यसमा खापा र मूल चौकोस सबै गरी कुल १.५ क्युबिक फिट काठ लाग्छ। अर्थात् ९ हजार ७ सय ५० रूपैयाँ चाहिन्छ।
यसरी चार कोठामा चार वटा र बाथरूम/ट्वाइलेटमा एउटा गरी पाँच वटा झ्यालको चौकोसमा (खापाको चौकोससहित) झन्डै एक लाख रूपैयाँ लागत अनुमान गर्नुपर्छ।
त्यस्तै एक कोठामा दुइटा झ्याल राख्ने हो भने करिब एक लाख ७५ हजार रूपैयाँसम्म चाहिन सक्छ।
अब ढोकाको चौकोसबारे बुझौं।
सामान्यतया एक तले घरमा ८ वटा ढोका चाहिन्छ।
मुख्य ढोका ८ फिट लम्बाई र ३.५ फिट चौडाइको हुन्छ। यसमा कुल २.२५ क्युबिक फिट काठ लाग्छ प्रतिक्युबिक फिट ६ हजार ५ सय रूपैयाँ दरले हिसाब गर्दा यसमा १४ हजार ६ सय २५ रूपैयाँ खर्च हुन्छ।
कोठाको ढोका ६ फिट लम्बाइ र ४ फिट चौडाइ स्ट्यान्डर्ड आकार मानिन्छ। यसमा १.४२ क्युबिक फिट काठ लाग्छ। यस हिसाबले एउटा ढोकाको चौकोसमा नौ हजार २ सय ३० रूपैयाँ लाग्छ। कोठाका चार वटा र पछाडि राखिने एउटा गरी पाँच वटा ढोकाको चौकोसमा ४६ हजार एक सय ५० रूपैयाँ चाहिन्छ।
बाथरूमको ढोका सानो भए पनि हुन्छ। सामान्यतया दुई फिट चौडाइ र ४ फिट लम्बाइको हुन्छ। यसमा ०.७ क्युबिक फिट काठ लाग्छ। चार हजार पाँच सय ५० रूपैयाँ चाहिन्छ।
त्यस्तै भर्याङको ढोका सात फिट लम्बाइ र दुई फिट चौडाइ हुन्छ। यसको चौकोसमा १.५ क्युबिक काठ लाग्छ। नौ हजार सात सय ५० रूपैयाँ खर्च हुन्छ।
यसरी हिसाब गर्ने हो भने चार कोठाको एक तले घरमा चाहिने ढोकाको चौकोसमा मात्र करिब ७५ हजार रूपैयाँ खर्च लाग्छ।
झ्याल र ढोका दुवैको चौकोसमा एक लाख ७५ हजार रूपैयाँ लागत अनुमान गर्नुपर्छ। ठाउँ, ढुवानी खर्च र बिक्रेता हेरी यो मूल्य थपघट भने हुन सक्छ।
त्यस्तै नेपाली अग्राखको सट्टा अरू काठ प्रयोग गर्दा यो खर्च आधा कम हुने कार्की बताउँछन्। अरू काठ प्रति क्युबिक फिट तीन हजार रूपैयाँमा पाइन्छ। त्यस्तै भारतीय अग्राख राख्न पनि अलि कम नै पर्छ।
‘काठको प्रकार हेरी मूल्य घटबढ हुन्छ,' उनले भने, ‘कुन राख्ने भन्ने रोजाइ घर बनाउने मान्छेको हो।'
सोझै गएर आफ्नो हिसाबले काठ किन्नु भने बुद्धिमानी हुँदैन। घरको नक्साअनुसार इञ्जिनियर वा ठेकेदारलाई देखाएर उनीहरूको सुझावअनुसार लिनुपर्छ।