निर्माण क्षेत्रमा गिटी–बालुवा अत्यावश्यक मानिन्छ। पछिल्लो समय निर्माणको काम सुस्त भएकाले काठमाडौं उपत्यकामा विगत एक वर्षदेखि गिटी–बालुवाको भाउ स्थिर छ।
निर्माण सामग्रीको बिक्री-वितरण गर्दै आएको गोल्डेन निर्माण सप्लायर्स, बल्खुका सञ्चालक ऋषि खतिवडाका अनुसार अहिले उपभोक्ताले गिटी प्रतिटिपर २९ हजारदेखि ३० हजार रूपैयाँमा पाइरहेका छन्। बालुवाको मूल्य पनि यस्तै छ।
यो करिब एक वर्षअघिकै भाउ हो।
काठमाडौंका निर्माण क्षेत्रमा धादिङको माधवबेसी, गजुरी, सिन्धुपाल्चोकको मेलम्ची खोला, भकुन्डेबेसी, बैरेनी लगायत ठाउँबाट गिटी–बालुवा आउने गरेको छ।
सिन्धुपाल्चोकको तुलनामा धादिङबाट आयात हुने गिटी–बालुवा गुणस्तरीय मानिने वितरकहरू बताउँछन्।
एक तले घर बनाउन गिटी–बालुवामा कति खर्च लाग्छ?
सबैले एकैपटक ठूलो घर बनाउन सक्छन् भन्ने हुँदैन। आफ्नो आवश्यकता पूरा हुन्छ भने धेरैको एक तले सानो चिटिक्क परेको घर बनाउने सोच हुन सक्छ। यस्तो घर बनाउन पर्दा गिटी–बालुवामा मात्र कति खर्च होला भन्ने जिज्ञासा पनि हुन्छ।
खर्च बुझ्नुभन्दा पहिले कस्तो खालको गिटी र बालुवा प्रयोग गर्ने भन्नेबारे जानौं।
सामान्यतया हामीकहाँ डबल-वास, खानी र खोलाको गरी तीन प्रकारको बालुवा पाइन्छ।
खोलाबाट निकालिएकोलाई खोलाको र खानीबाट निकालिएकोलाई खानीको बालुवा भनेर बुझिन्छ।
खोलामा पनि दुई किसिमका बालुवा पाइन्छ। त्यो बालुवा गारो लगाउन र प्लास्टर गर्न दुवैमा प्रयोग हुन्छ।
गिटी पेल्दा निक्लेका टुक्रालाई ग्रेडिङ (पिसेर) गरेर निकालिएको बालुवालाई डबल-वास भनिन्छ। त्यस्तै खोलाबाट सिधै निकालेर फिल्टर गरेको बालुवालाई पनि डबल-वास नै भनिन्छ।
उपत्यकाका निर्माण क्षेत्रमा खोलाको बालुवा पनि प्रयोगमा आउँछ। व्यापारीहरूका अनुसार यस प्रकारको बालुवा मेलम्ची तथा त्रिशुलीबाट आउने गरेको छ।
त्यस्तै, गिटी सेतो र कालो गरी दुई प्रकारको हुन्छ।
हामीले यहाँ चार वर्षदेखि घर निर्माण गर्दै आएको बिएल एन्ड कन्स्ट्रक्सन कम्पनीका सिइओ ध्रुवबहादुर कार्कीको सहयोगमा एक तले घर बनाउँदा गिटी–बालुवामा लाग्ने खर्चको विवरण निकालेका छौं।
कार्कीका अनुसार सामान्य एक तले घर बनाउन दुई टिपर गिटी भए पुग्छ। त्यस्तै बालुवा चार टिपर चाहिन्छ।
'हात्तीपाइलालाई एक, पिलर र गारो एक, ढलान एक र प्लास्टरमा एक गरी जम्मा चार टिपर बालुवा लाग्छ,' उनले भने।
त्यसमध्ये तीन टिपर खस्रो र एक टिपर मसिनो बालुवा प्रयोगमा आउने उनी बताउँछन्। सामान्यतया ढलानका लागि डबल-वास बालुवा राम्रो मानिन्छ। प्लास्टरका लागि सामान्य बालुवा प्रयोग गरिन्छ।
उनका अनुसार गिटीको कुरा गर्नुपर्दा सेतोको तुलनामा कालो ३० प्रतिशत जति महँगो हुन्छ।
'प्रयोग एकै हो तर दीर्घकालमा कालो गिटी राम्रो हुन्छ,' कार्कीले भने, 'त्यसैले धेरैले कालो गिटी नै प्रयोग गर्छन्।'
हालको मूल्यअनुसार एक तले घर बनाउन चार टिपर बालुवाका लागि एक लाख १६ हजारदेखि एक लाख २० हजार रूपैयाँ खर्च हुने देखिन्छ।
त्यस्तै, दुई टिपर गिटीका लागि ५८ हजारदेखि ६० हजार रूपैयाँसम्म खर्च अनुमान गर्नुपर्छ।
एक तले घर बनाउने हो भने गिटी र बालुवामा गरी एक लाख ७४ हजारदेखि एक लाख एक लाख ८० हजार रूपैयाँसम्म छुट्याउनुपर्ने देखिन्छ।
छत ढलान नगरी जस्ता पाता वा टायलको छाना राखेर बनाउने हो भने गिटी–बालुवाको लागत अलि कम पर्छ। त्यस्तै यो परिमाणको गिटी–बालुवाले घर मात्र बनाउन पुग्छ।
गिटी–बालुवामा लाग्ने खर्च ढुवानी, समय र अन्य कारणले फरक भने पर्न सक्ने कार्की बताउँछन्।