घर बनाउन सिमेन्ट अत्यावश्यक सामग्री हो। सहरी क्षेत्रमा मात्रै होइन गाउँका घरमा पनि सिमेन्ट निर्विकल्प बनिसकेको छ।
मागअनुसार सिमेन्टको भाउ बेलाबेलामा हेरफेर भइरहन्छ। दुई महिनाअघिको तुलनामा अहिले सिमेन्टको भाउ केही महँगो भएको छ। पुस महिनाको भाउको तुलनामा अहिले सिमेन्ट बोरामा पाँचदेखि दस रूपैयाँ महँगो भएको सिनामंगलस्थित क्षमादेवी इन्टरप्राइजेजका प्रोप्राइटर अन्सन शाखले जानकारी दिए।
बजारमा विभिन्न कम्पनीका सिमेन्ट पाइन्छ। ब्रान्ड र सिमेन्टको प्रकार हेरेर मूल्य फरकफरक हुन्छ। त्यसैले अहिले यसको भाउ कति छ भन्ने जान्नुअघि हामीकहाँ प्रयोग हुने सिमेन्टबारे थाहा पाउनु जरूरी छ।
हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ।
ओपिसी छिटो सुक्छ। जुन निर्माण छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ। ओपिसी स्ल्याब, पिलर, पुल ढलान आदि काममा प्रयोग हुन्छ।
ढलानका लागि ओपिसी मात्रै प्रयोग हुन्छ भन्ने चाहिँ होइन। लामो फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ। पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा पिपिसी धेरै प्रयोग हुन्छ।
प्रोप्राइटर शाखका अनुसार हाल ओपिसीको भाउ ब्रान्ड हेरी बोराको ६ सय ९० रूपैयाँदेखि ७ सय ६० रूपैयाँसम्म छ। हेटौंडा सिमेन्ट भने बोराको ८ सय ५० रूपैयाँसम्म पर्छ।
पिपिसी ओपिसीका तुलनामा केही सस्तो हुन्छ। अहिले पिपिसी बोराको ६ सय २० रूपैयाँ हाराहारी पर्छ।
'अहिलेको भाउ धेरै महँगो होइन। योभन्दा महँगो भएको पनि छ,' शाखले भने, 'मूल्य कम भए पनि अहिले बजारमा निर्माण सामग्रीको माग धेरै कम भएको छ।'
निर्माणको काम सुस्त भएकाले यसमा लाग्ने सामग्रीको माग कम भएको उनले बताए।
चार कोठाको एक तले घर बनाउन परे सिमेन्टमा कति खर्च लाग्छ?
सबैले एकैपटक ठूलो घर बनाउन सक्ने हुँदैन। आफ्नो आवश्यकता पूरा हुन्छ भने धेरैलाई चार कोठाको एक तले सानो घर बनाउने सोच हुन सक्छ। यस्तो घर बनाउन पर्दा सिमेन्टमा मात्र कति खर्च होला भन्ने जिज्ञासा पनि हुन्छ।
हामीले यहाँ चार वर्षदेखि घर निर्माण गर्दै आएको बिएल एन्ड कन्स्ट्रक्सन कम्पनीका सिइओ ध्रुवबहादुर कार्कीको सहयोगमा चार कोठाको एक तले घर बनाउँदा सिमेन्टमा लाग्ने खर्चको विवरण निकालेका छौं।
कार्कीका अनुसार सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि लागत निर्धारण गर्छ।
नौ इन्चको गारो लगाउँदाभन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। त्यस्तै नौ वटा पिलर राख्दा कम र बाह्र वटा पिलर राख्दा लागत बढी लाग्छ।
'सामान्यतया अहिले नौ इन्चको गारो लगाएर बाह्र वटा पिलर राख्छन्,' उनले भने।
उनका अनुसार नौ इन्चको गारो र बाह्र वटा पिलर राखेर बनाउने हो भने एकतले घर बनाउन पिपिसी र ओपिसी गरी करिब चार सय ५० बोरा सिमेन्ट लाग्छ। यो परिमाणको सिमेन्ट घरको कम्पाउन्डमा पनि लगाउन पुग्छ।
आजभोलि घर सुन्दर बनाउन टायल–मार्बल लगाउने चलन छ। यदि टायल-मार्बल पनि लगाउने हो भने थप सिमेन्ट लाग्ने उनी बताउँछन्।
'टायल-मार्बल लगाउने हो भने थप ७० बोरा सिमेन्ट लाग्छ,' उनले भने।
टायल र मार्बल राखेर एक तले घर बनाउने हो भने जम्मा पाँच सय २० बोरा सिमेन्ट अनुमान गर्नुपर्ने हुन्छ।
यसमध्ये पिलर र ढलानमा गरेर ओपिसी दुई सय बोरा चाहिन्छ। त्यस्तै, जोडाइ, प्लास्टर र फिनिसिङमा करिब तीन सय २० बोरा पिपिसी प्रयोग हुन्छ।
अहिलेको मूल्यका हिसाबले दुई सय बोरा ओपिसीमा एक लाख ३८ हजारदेखि एक लाख ५२ हजार रूपैयाँ खर्च हुन्छ। त्यस्तै, पिपिसीमा करिब दुई लाख रूपैयाँ अनुमान गर्नुपर्छ। यसरी दुवैथरी सिमेन्टमा गरेर तीन लाख ३८ हजारदेखि साढे तीन लाख रूपैयाँसम्म खर्च हुन्छ।
हेटौंडा सिमेन्ट नै प्रयोग गर्ने हो भने चाहिँ साढे चार लाख रूपैयाँसम्म छुट्याउनुपर्छ।
सिमेन्ट किन्दा ध्यान दिनुपर्ने कुरा
सामान्यतया सिमेन्ट बनेको मितिबाट तीन महिनाभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा उत्पादन गरिएको हप्ताअनुसार मिति लेखिएको हुन्छ।
यदि सिमेन्ट २०७९ साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०७९ र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०७९ र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०७९ सालको ५ औं हप्तामा बनेको हो। बनेको मितिबाट तीन महिनाभित्र प्रयोग हुने हिसाबले किन्नुपर्छ।
त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ। बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।
सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ। पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ। यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने वा संरचना कमजोर हुन्छ।