पछिल्ला केही महिनायता निरन्तर उकालो लाग्दै गरेको घरजग्गा किनबेच फागुनमा भने सुस्ताएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार यो वर्षको माघ र फागुनमा उस्तैउस्तै संख्यामा कारोबार भएको छ।
माघमा काठमाडौं उपत्यकामा भएको घरजग्गा किनबेचको संख्या दुई हजार एक सय ९० थियो। यो संख्या फागुनमा जम्मा ६ मात्र बढे दुई हजार एक सय ९६ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने यो वर्ष समग्र कारोबार नै एकदमै कम छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै पोहोरभन्दा कम कारोबार भएको हो।
पोहोर साउनदेखि फागुनसम्म कुल कारोबार संख्या ३७ हजार ४ सय ९१ थियो। यस वर्ष यही अवधिमा जम्मा १५ हजार ५ सय १२ संख्यामा मात्र घरजग्गा कारोबार भएको छ।
फागुन महिनाकै कुरा गर्दा पोहोर चार हजार ६ सय एक संख्यामा घरजग्गा कारोबार भएको थियो।
जग्गा कित्ताकाटको संख्या पनि यो फागुनमा बदलिएको छैन। माघमा कित्ताकाट संख्या ४ सय ९३ हुँदा फागुनमा चार सय ९२ छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो वर्ष कित्ताकाट आधाभन्दा कम हो। पोहोर साउनदेखि फागुनसम्म यस्तो कित्ताकाट संख्या ९ हजार दुई सय १५ थियो। यसपालि यही समयमा भएको कित्ताकाट संख्या ३ हजार सात सय ८१ मात्र छ।
यो आर्थिक वर्ष साउनदेखि मंसिरसम्म कारोबारमा उतारचढाव भइरहेको थियो। पुसदेखि भने विस्तारै थोरैथोरै संख्यामा उकालो लागिरहेको थियो। फागुनमा आएर फेरि कारोबार उक्लिन नसकेको हो।
केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेको छ। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको हो।
अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।
सरकारले गत मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। विभागका सूचना अधिकारी विष्णु कुमार महतका अनुसार हालसम्म करिब एक सय ३० पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको छ।
'अरू केही पालिकाले पनि वर्गीकरण सकेको र कित्ताकाट खोलेको सूचना आएको छ। आधिकारिक सूचना भने आइसकेको छैन,' उनले भने।
तीमध्ये केही पालिकाले सबै बिधामा जग्गा छुट्याएका छन्। उनका अनुसार मन्त्रालयले अरू पालिकालाई पनि जग्गाको वर्गीकरण छुट्याउन पत्राचार तथा सहजीकरण गरिरहेको छ।
जग्गा व्यवसायीहरू भने अहिले भइरहेको किनबेच पनि व्यावसायिक नभएको बताउँछन्। यो नियमित कारोबार नभई व्यवहार मिलाउने उद्देश्यले किनबेच भइरहेको जग्गा व्यवसायी विनोद सुवेदीले बताए।
'अहिले साविकको जस्तो नियमित कारोबार भएको छैन। कतिपयले आफ्नो व्यवहार मिलाउन जग्गा दिएर व्यक्तिहरूसँग ऋण लिइरहेका छन्। कतिपय चाहिँ बैंकबाट ऋण लिएकाहरूको जग्गा बैंकले नै बिक्री गरिरहेका हुन्,' उनले भने।
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्– कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
यो वर्ष पहिलेका महिनामा झैं फागुनमा पनि काठमाडौंमा भएको कारोबारमध्ये सबभन्दा बढी कलंकी मालपोत कार्यालयबाट भएको छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्ष फागुनमा ७ सय १ संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
फागुनमा दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट ४ सय ८४ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
त्यस्तै, तेस्रोमा परेको चाबहिल मालपोत कार्यालयबाट फागुनमा चार सय ३४ संख्यामा घरजग्गा किनबेच भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
फागुनमा मनमैजु कार्यालयबाट दुई सय ७४ संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट एक सय ९० संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट एक सय १३ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।
गत आर्थिक वर्ष २०७८/७९ को फागुनको तुलनामा चालु आर्थिक वर्षको फागुनमा देशभर घरजग्गा कारोबार भने ४५ प्रतिशतले घटेको छ।
गत वर्ष फागुनमा देशभर ७४ हजार ३६ संख्यामा घरजग्गा किनबेच भएकोमा यस वर्ष फागुनमा ४० हजार सात सय ३४ संख्यामा किनबेच भएको छ।