पछिल्लो समय केही मुख्य निर्माण सामग्रीको मूल्य हेरफेर भएको छ। व्यवसायीहरूका अनुसार गिटी-बालुवाको भाउ स्थिर छ। इँटा, सिमेन्ट र डन्डीको भाउ थोरै तलमाथि भएको हो।
हाल बजारमा इँटाको भाउ कम भएको छ, सिमेन्ट र डन्डीको बढेको छ। त्यस्तै गिटी-बालुवाको स्थिर छ।
हेरौं कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो।
इँटा
अहिले बजारमा इँटाको मूल्य गुणस्तर हेरेर गोटाको १४ देखि २१ रूपैयाँसम्म पर्ने गोल्डेन निर्माण सप्लायर्स, बल्खुका सञ्चालक ऋषि खतिवडाले जानकारी दिए।
उनका अनुसार धादिङको लोकल इँटा प्रतिगोटा १४ देखि साढे १४ रूपैयाँसम्म पर्छ। त्यस्तै भक्तपुरे इँटा गोटाको १५ देखि १६ रूपैयाँ पर्छ। तराईको इँटा भने महँगो छ। यो प्रतिगोटा २० देखि २१ रूपैयाँ छ।
'इन्धनको मूल्य बढेकाले दुई/तीन महिनायता तराईको इँटा गोटामा एक/दुई रूपैयाँ बढेको छ,' उनले भने।
अहिले देशको आर्थिक अवस्थासँगै उपभोक्ताको किन्ने क्षमता पनि कम छ। यही कारण इँटाको भाउ अझै घट्ने संकेत देखिएको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार बताउँछन्।
'घर बनाउनेको संख्या घट्दो छ। त्यसैले इँटाको मूल्य अझै घट्न सक्छ,' उनले भने।
गिटी–बालुवा
गोल्डेन निर्माण सप्लायर्सका सञ्चालक खतिवडाका अनुसार गिटी-बालुवाको भाउ विगत आठ महिनादेखि स्थिर छ।
अहिले उपभोक्ताले गिटी–बालुवा प्रतिटिपर २९ हजारदेखि ३० हजार रूपैयाँमा पाइरहेको उनले जानकारी दिए।
काठमाडौंका निर्माण क्षेत्रमा धादिङको माधवबेसी, बैरेनी, गजुरी, सिन्धुपाल्चोकको मेलम्ची खोला, भकुन्डेबेसी लगायत ठाउँबाट गिटी-बालुवा आउँछ। सिन्धुपाल्चोकको तुलनामा धादिङबाट आयात हुने गिटी-बालुवा गुणस्तरीय मानिन्छ।
सिमेन्ट
सिमेन्टको भाउ केही बढेको छ। दुई महिनाअघि बोरामा पाँचदेखि दस रूपैयाँ बढेको पुरानो सिनामंगलस्थित क्षमादेवी इन्टरप्राइजेजका प्रोप्राइटर अन्सन शाखले बताए।
'पुसदेखि मूल्य बढेको छ। त्यसअघि त कम नै थियो,' उनले भने।
भाउ जान्नुअघि हामीकहाँ प्रयोग हुने सिमेन्टबारे थाहा पाउन जरूरी हुन्छ। हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ।
ओपिसी छिटो सुक्छ। जुन निर्माण छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ। ओपिसी स्ल्याब, पिलर, पुल ढलान आदि काममा प्रयोग हुन्छ।
ढलानका लागि ओपिसी मात्रै प्रयोग हुन्छ भन्ने चाहिँ होइन। लामो फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ। पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा पिपिसी धेरै प्रयोग हुन्छ।
प्रोप्राइटर शाखका अनुसार हाल ओपिसीको भाउ ६ सय ९० रूपैयाँ बोरादेखि ७ सय ६० रूपैयाँसम्म छ। हेटौंडा सिमेन्ट भने बोराको ८ सय ५० रूपैयाँसम्म पर्छ।
पिपिसी ओपिसीका तुलनामा केही सस्तो हुन्छ। अहिले पिपिसी बोराको ६ सय २० रूपैयाँ हाराहारी पर्छ।
'अहिलेको भाउ धेरै महँगो होइन। तर निर्माण सामग्रीको माग धेरै कम भएको छ,' उनले भने।
डन्डी
पछिल्ला दुई महिनामा डन्डीको भाउ बढेको छ। प्रोप्राइटर शाखका अनुसार डन्डीको मूल्य किलोमा ७ रूपैयाँसम्म बढेको हो।
अहिले ब्रान्डअनुसार डन्डी किलोको १ सय ११ रूपैयाँदेखि १ सय २८ रूपैयाँसम्म पर्ने उनले जानकारी दिए।
एक तले घर बनाउन कति लाग्छ इँटा, गिटी-बालुवा, सिमेन्ट र डन्डीमा खर्च?
यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरमा यी निर्माण सामग्रीको लागत अनुमान विवरण तयार पारेका छौं।
विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकहरूसँगको कुराकानीपछि हामीले यो विवरण तयार पारेका हौं।
सिमेन्ट
एक तले घरमा लाग्ने सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि लागत निर्धारण गर्छ।
सामान्यतया आठ सयदेखि एक हजार वर्गफिटमा बन्ने घरका लागि बढीमा तीन सय बोरा ओपिसी अनुमान गर्नुपर्छ। पिपिसी पनि यति नै लाग्छ। दुवै मिलाएर करिब छ सय बोरा सिमेन्ट चाहिन्छ।
अहिलेको मूल्यका हिसाबले ओपिसीमा दुई लाख ७ हजारदेखि दुई लाख ३० हजार रूपैयाँ खर्च हुन्छ। त्यस्तै पिपिसीमा करिब एक लाख ९० हजार रूपैयाँ अनुमान गर्नुपर्छ।
यसरी दुवैथरि सिमेन्टमा करिब चार लाखदेखि चार लाख २० हजार रूपैयाँसम्म खर्च हुन्छ।
इँटा
प्राविधिकका अनुसार घरको जग र पहिलो तलामा नौ इन्च गारो लगाउँदा राम्रो हुन्छ। जगमा बलियो पार्नुपर्ने र पहिलो तला तुलनात्मक रूपमा ओसिलो हुनाले मोटो गारो लगाउन सुझाव दिइन्छ।
गारोको उचाइ र मोटाइ हिसाब गरेर कुनै पनि घरमा लाग्ने इँटाको संख्या पत्ता लगाउन सकिन्छ। झ्याल र ढोकाको आकारले इँटाको लागत फरक पार्छ। प्रत्येक कोठामा स्ट्यान्डर्ड आकार (लम्बाइ छ फिट र चौडाइ चार फिट) को दुइटा झ्याल र एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा अनुमान गर्नुपर्छ।
अहिले इँटा १४ देखि २१ रूपैयाँ गोटासम्मका पाइन्छन्। यो हिसाबले एक तले घरमा करिब चार लाखदेखि पाँच लाख ९० हजार रूपैयाँ बराबरको इँटा किन्नुपर्छ।
गिटी–बालुवा
चार कोठे घरका लागि १५ टिपर गिटी–बालुवा चाहिन्छ। हालको मूल्यका हिसाबले गिटी–बालुवामा करिब साढे चार लाख रूपैयाँ छुट्याउनु पर्छ।
फिनिसिङ, गारोको आकारले बालुवाको लागत निर्धारण हुन्छ। मूल्य तलमाथि भएको अवस्थामा लागतमा पनि कम बढी हुन्छ। त्यस्तै छत ढलान नगरी बनाइने एकतले घरमा भने गिटी–बालुवाको लागत एक तिहाइ कम हुन्छ।
डन्डी
पिलर, भित्रको पर्खाल आदिले डन्डीको लागत निर्धारण गर्छ। प्राविधिकका अनुसार जग राख्दा जमिनबाट कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर १ सय २५ किलोभन्दा बढी डन्डी लाग्छ।
जगसँगै राखिने बिम, डिपिसी बिम, झ्यालको तल र माथि, पहिलो तलाको ढलान अड्ने बिम, भर्याङ र ढलानमा गरी करिब साढे ५ टन (पाँच हजार ५ सय किलो) डन्डी आवश्यक पर्छ।
हालको डन्डीको भाउअनुसार एकतले घरका लागि करिब ६ लाखदेखि ७ लाख रूपैयाँ लगानी गर्नुपर्छ।
यसरी हेर्दा चार कोठे घर बनाउन इँटा, सिमेन्ट, गिटी-बालुवा र डन्डीमा मात्र साढे १८ लाखदेखि साढे २२ लाख रूपैयाँ खर्च हुने देखिन्छ।
घर बनाउनेको रोजाइ र आवश्यकता अनुसार यो हिसाब फरक पर्छ।
यसबाहेक घर बनाउँदा खर्च हुने ठाउँ धेरै हुन्छन्। ठेकदार ज्यालादेखि नक्सा र डिजाइन, झ्याल ढोका, पाइप जडान, ट्यांकी, बिजुली, रंगरोगन, भान्सा, बाथरूममा पनि खर्च हुन्छ। त्यस्तै रोजाइ र आवश्यकताअनुसार अरू सामानमा पनि खर्च बढ्छ।