यो वर्षको माघ महिनामा घरजग्गाको कारोबार बढेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पुसको तुलनामा माघमा घरजग्गा कारोबार बढेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार पुसको तुलनामा माघमा घरजग्गा कारोबार करिब १४ प्रतिशत बढेको छ।
पुसमा काठमाडौं उपत्यकामा घरजग्गा किनबेचको संख्या एक हजार नौ सय ९ थियो। यस्तो किनबेचको संख्या माघमा दुई हजार एक सय ९० छ।
यो आर्थिक वर्षको सातै महिनामा घरजग्गा कारोबार कम छ।
अरू महिनाको तुलनामा भदौमा अलि बढी, २ हजार पाँच सय ११ संख्यामा कारोबार भएको थियो। हालसम्म यो वर्ष सबभन्दा धेरै कारोबार भएकै भदौमा हो। यसपछि दोस्रोमा माघ महिनामै धेरै कारोबार भएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा को तुलनामा यो वर्ष कारोबार निकै कम भएको हो। पोहोर साउनदेखि माघसम्म जम्मा कुल कारोबार संख्या ३२ हजार ८ सय ९० थियो। यस वर्ष यही अवधिमा जम्मा १३ हजार ३ सय १६ संख्यामा मात्र घरजग्गा कारोबार भएको छ।
माघकै कुरा गर्दा पोहोर चार हजार ६ सय ४९ संख्यामा घरजग्गा कारोबार भएको थियो।
जग्गा कित्ताकाट भने यो वर्ष माघमा पुसको तुलनामा थोरै कम भएको छ। पुसमा कित्ताकाट संख्या ५ सय १ हुँदा माघमा ४ सय ९३ छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष कित्ताकाट पनि आधाभन्दा कम छ। पोहोर साउनदेखि माघसम्म यस्तो कित्ताकाट संख्या ७ हजार ९ सय २७ थियो। यसपालि यही समयमा भएको कित्ताकाट संख्या ३ हजार २ ८९ मात्र छ।
केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेको छ। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको हो।
अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।
सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको विभागका सूचना अधिकारी विष्णु कुमार महत बताउँछन्।
काठमाडौं उपत्यकामा २६ वटा पालिका छन्। त्यसमध्ये २४ पालिकाले कृषि तथा गैर कृषि जग्गा वर्गीकरण गरिसकेको विभागमा जानकारी आएको उनले बताए।
'अन्य पालिकाले पनि वर्गीकरण सकेर कित्ताकाट खोलेको भन्ने सूचना आएको छ। तर विभागमा त्यसको आधिकारिक सूचना भने आएको छैन,' उनले भने।
ती पालिकाले कृषि र गैह्र कृषि मात्रै छुट्याएका छन्। बाँकी विधामा भने छुट्याउन बाँकी नै छ।
उनका अनुसार मन्त्रालयले अन्य पालिकालाई पनि जग्गाको वर्गीकरण छुट्याउन पत्राचार तथा सहजीकरण गरिहेको छ।
अहिले घरजग्गाको नियमित कारोबार नभई व्यवहार मिलाउने उद्देश्यले मात्रै भइरहेको जग्गा व्यवसायी विनोद सुवेदी बताउँछन्।
'कतिपयले व्यवहार मिलाउन जग्गा दिएर व्यक्तिहरूसँग ऋण लिने गरिरहेका छन् भने बैंकबाट ऋण लिएकाहरूको जग्गा बैंकले नै बिक्री गरिरहेका छन्,' उनले भने।
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्- कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
अहिले काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट भएको छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्षको माघमा ७ सय २० संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
माघमा दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ। यस कार्यालयबाट चार सय ४४ संख्यामा घरजग्गा किनबेच भएको छ।
आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
त्यस्तै तेस्रोमा परेको साँखु मालपोत कार्यालयबाट ४ सय १८ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
माघमा मनमैजु कार्यालयबाट दुई सय ७५ संख्यामा कारोबार भएको छ। यस कार्यालयबाट अघिल्लो महिना (पुस) मा घरजग्गा कारोबार भएको थिएन। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट एक सय ८९ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट एक सय ४४ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।
गत आर्थिक वर्ष २०७८/७९ को माघको तुलनामा चालु आर्थिक वर्षको माघमा देशभर घरजग्गा कारोबार भने ३० प्रतिशतले घटेको छ। गत वर्ष माघमा देशभर ५९ हजार पाँच सय १६ संख्यामा घरजग्गा किनबेच भएकोमा यस वर्ष माघमा ४१ हजार ८६ संख्यामा किनबेच भएको छ।