डन्डीको भाउ अहिले किलोमै १५ रूपैयाँसम्म बढेको छ।
व्यवसायीहरूका अनुसार दसैंअघिको तुलनामा डन्डीमा किलोको १२ देखि १५ रूपैयाँ बढेको हो। पसल र कम्पनीअनुसार भाउ अलिकति फरक पर्छ।
अम्बे, जगदम्बा र पञ्चकन्या स्टिलका आधिकारिक विक्रेता विकास श्रेष्ठका अनुसार सबैजसो छडको मूल्य अहिले बढेको छ।
हाल अम्बे किलोको एक सय ५ रूपैयाँ छ। त्यसैगरी जगदम्बा उपभोक्ताले एक सय ८ रूपैयाँमा पाउँछन्। पञ्चकन्या पनि दसैंअघिभन्दा ५ रूपैयाँ बढेर एक सय १७ रूपैयाँ पुगेको छ।
फलामे छड बनाउने कच्चा पदार्थ, बिलेट आयातमा कर र अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ पनि बढेको भन्दै केही व्यवसायीले छडको मूल्य बढाएका हुन्।
न्यु कटुवाल डन्डी उद्योगका सञ्चालक मोहन कटुवाल भने केही व्यवसायीले अन्तर्राष्ट्रिय बजार मूल्यको बहानामा भाउ धेरै बढाएको बताउँछन्।
'अन्तर्राष्ट्रिय मूल्यले यहाँको बजारमा प्रभाव पार्नु स्वाभाविक हो। तर जुन हिसाबले बाहिर बढेको छ, त्यो अनुपातमा नेपालमा धेरै नै बढेको छ,' उनले भने, 'उता दस प्रतिशत बढ्दा यहाँ ५० प्रतिशत बढाउने चलन छ। अनियन्त्रित रूपमा भएको मूल्यवृद्धिमा सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्छ।'
बाहिरी बजारमा बढेको अनुपातमा मात्र मूल्य बढाउन उचित हुने उनी बताउँछन्। तर उता भाउ बढेपछि भण्डारमा रहेका सामानको मूल्य बढाएर बदमासी गरेको उनको आरोप छ।
अब अहिलेको भाउमा यदि एक तले घर बनाउनुपर्यो भने छडमा कति पैसा छुट्याउनुपर्ला?
हामीले यहाँ निर्माण तथा परामर्श कम्पनी बिल्ड इनोभेसनका निर्देशक तथा इञ्जिनियर सुवास अधिकारीको सहयोगमा एक हजार वर्गफिटमा बन्ने चार कोठे घरमा चाहिने डन्डीको विवरण निकालेका छौं।
अधिकारीका अनुसार कुनै पनि संरचना बनाउँदा त्यसमा राखिने पिलर, भित्रको पर्खाल आदिले छडको लागत निर्धारण हुन्छ।
'जग राख्दा कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय २५ किलोभन्दा बढी डन्डी लाग्छ,' उनले भने, '१२ वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी अनुमान गर्नुपर्छ।'
जगसँगै राखिने बिममा १२ मिमीको डन्डी र ८ मिमीको रिङ प्रयोग गर्नुपर्ने हुन्छ। अधिकारीका अनुसार यहाँ जम्मा छ सय २० किलोभन्दा बढी डन्डी प्रयोग हुन्छ।
हामीले यहाँ एकतले घरका लागि १२ वटा पिलर राखेर डन्डी मापन गरेका छौं। डिपिसी बिमका लागि पनि छ सय २० केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।
यसपछि झ्यालमा तल र माथि गरी १० मिमीको डन्डी र हुक तीन सय केजीभन्दा बढी लाग्छ। यहाँ चार कोठे घरमा प्रति कोठा दुइटा झ्यालको हिसाब गरिएको छ।
भर्याङमा १२ मिमीको डन्डी प्रयोग हुन्छ। एक तला मात्रै घर बनाइने भएकाले लगभग ९० किलो लाग्छ।
पहिलो तलाको बिममा छत अडिएको हुन्छ। छ सय २० केजीभन्दा बढी डन्डी यहाँ प्रयोग हुन्छ। समग्रमा पहिलो तलामा तीन वटा बिम हुन्छ जहाँ बराबर डन्डी आवश्यक पर्छ।
छतमा सबभन्दा धेरै डन्डी प्रयोग गर्नुपर्छ। यहाँ १० र ८ मिमीका प्रयोग गरिन्छ। जम्मा छतका लागि करिब दुई हजार दुई सय किलो डन्डी लागत अनुमान गर्नुपर्ने हुन्छ। यति भएपछि पहिलो तलाका लागि डन्डीको मात्रा पूरा हुने अधिकारीले बताए।
माथिको लागत अनुमानअनुसार जगदेखि एकतले घरका लागि पाँच हजारदेखि छ हजार किलो डन्डी अनुमान गर्नुपर्छ। पहिलो तलामा जगको काम पनि गर्नुपर्ने भएकाले लागत बढी हुन्छ। दोश्रो तलामा तुलनात्मक रूपमा कम लाग्छ।
मुख्य डन्डीबाहेक करिब एक सय पचास किलो 'बाइन्डिङ वायर' प्रयोग हुने अधिकारी बताउँछन्। साथै डन्डीको आकार अनुसार मूल्य फरक पर्छ।
'८ मिमी र योभन्दा कम आकारको डन्डी सामान्यतया किलोमा पाँच रूपैयाँसम्म महँगो हुन्छ। २५ मिमीभन्दा मोटो डन्डीको मूल्य पनि बढी हुन्छ,' अधिकारीले भने, '१० मिमीदेखि २५ मिमीसम्मको डन्डी बजारमा सामान्य मूल्यमा पाइन्छ।'
हाल विभिन्न कम्पनीअनुसार छड उपभोक्ता मूल्य करिब एक सय ५ रूपैयाँदेखि एक सय १७ रूपैयाँ प्रतिकिलोसम्म छ।
माथिको अनुपातलाई यही मूल्यसँग तुलना गर्दा एक हजार वर्गफिटभन्दा कम क्षेत्रफलमा बन्ने एक तले घरका लागि करिब साढे ६ लाखदेखि ७ लाख रूपैयाँ छडमा खर्च हुन्छ। यो छ हजार किलो डन्डीको हिसाब हो।
पाँच हजार किलो मात्र लागे पाँचदेखि छ लाखसम्मले भ्याउँछ।
भाउ नबढाएका कम्पनीका छड प्रयोग गरे करिब ५० हजार रूपैयाँसम्म सस्तो पर्न जान्छ। बजार मूल्य परिवर्तन हुँदा लागत स्वतः घटबढ भइहाल्छ।
माथिको जानकारीअनुसार डन्डी प्रयोग गर्दा दुई तलासम्मको घर बनाउन सकिन्छ। तर त्योभन्दा धेरै तला थप्नु जोखिम हुनाले इञ्जिनियरको सल्लाह लिनुपर्ने अधिकारी बताउँछन्।
आवासीय घर बनाउँदा छडको सही छनोट कसरी गर्ने?
प्रतिस्पर्धी बजारमा सबै कम्पनीले आफू अब्बल रहेको दावी गरिरहेका हुन्छन्। धेरै उपभोक्तालाई भने घरमा कस्तो छड प्रयोग गर्ने भन्ने अलमल भइरहेको हुन्छ।
इञ्जिनियर सुवास अधिकारीका अनुसार छड किन्ने बेलामा ध्यान दिनुपर्ने मुख्य कुरा ग्रेड र गुणस्तर हो।
साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। आवासीय घर निर्माणमा एफइ ५०० र एफइ ४१५ ग्रेडका छड धेरै प्रयोग हुन्छ। छडको ग्रेड, भारवहन क्षमताका साथै लचकताबारे उत्तिकै सचेत हुनुपर्छ।
'ग्रेडले छडको बलियोपन बुझाउँछ। उच्च ग्रेडका छड भए थोरै परिमाणले काम चल्छ र बलियो पनि हुन्छ,' अधिकारीले भने, 'लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन सहयोग गर्छ।'
ध्यान दिनुपर्ने अर्को कुरा छडको गुणस्तर हो।
निर्माण कम्पनीले बजारमा पठाएको छडको प्रयोगशाला परीक्षण गरेको हुनुपर्छ। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।
त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम भएको अधिकारीले जानकारी दिए।
'छड धेरै किन्दा होस् वा थोरै, प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन,' उनले भने, 'कम्पनी वा आधिकारिक विक्रेताले रिपोर्ट दिन मानेनन् भने आफैंले पनि गुणस्तर जाँच गराउन सक्छौं।'
घर डिजाइन गर्ने कम्पनीहरूले प्रयोगशाला परीक्षण गर्ने र सरकारी तहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा छडको गुणस्तर जाँच हुने उनले जानकारी दिए। सानो होस् वा ठूलो निर्माणका लागि, नबिर्सिकन छड गुणस्तर चिह्न प्राप्त हो कि होइन यकिन गर्नुपर्छ।
'कहिलेकाहीँ नाम चलेका कम्पनीबाटै गडबढी भएको हुन्छ। यो कुरामा ध्यान दिनुपर्छ,' उनले भने, 'कवाडी फलाम पगालेर बनाएको डन्डी पर्यो भने निर्माण कमजोर हुन्छ। कम गुणस्तरका डन्डी कम मूल्यमा पाइने पनि हुन्छ। सस्तोमा पाइयो भन्दैमा किन्नु जोखिमपूर्ण हुन्छ।'
आफूलाई छडबारे जानकारी छैन भने घर निर्माण जिम्मा दिइएको इञ्जिनियरसँग सोधपुछ गरी बुझ्न पनि उनी सुझाउँछन्।