हामीले घर बनाउँदा प्रायःजसो सोचेको वा निर्धारित बजेटभित्र बनेको पाउँदैनौं। बजेट अभावकै कारण सोचेको समयमा फिनिसिङ गर्न नसकेका उदाहरण प्रशस्तै भेटिन्छन्। विभिन्न निर्माण कम्पनीले गरेको अध्ययनले यो प्रमाणित गरिसकेको छ।
अनुमानित बजेटभित्र बन्यो कि बनेन भनेर भर्खरै घर बनाइसकेका आफन्त वा छिमेकीलाई पनि सोध्न सक्छौं।
उसो भए बजेटभित्र घर निर्माण कसरी सक्ने? वा के-कस्ता कारणले बजेटभित्र निर्माण सकिँदैन? नयाँ घर बनाउँदै गर्दा यी प्रश्न महत्वपूर्ण हुन्छ।
त्यसो त कुनै पनि ठूला काम गर्दा बजेटभन्दा धेरै नै खर्च हुन्छ। सोचेभन्दा दुई–चार प्रतिशत बढी आउनु स्वाभाविक हो। तर आवासीय घर बनाउँदा अनुमानितभन्दा ५० प्रतिशतसम्म बढी खर्च हुनु स्वाभाविक होइन।
निजी घर निर्माण कम्पनी 'मेरो घर'का संस्थापक तथा इञ्जिनियर विपीन गैरेले हामीलाई बजेटभित्र घर सक्न अपनाउनुपर्ने सजगताबारे आठ चरणमा जानकारी दिएका छन्ः
१. घर बनाउने स्थानः
घर बनाउने निर्णय लिँदै गर्दा सबभन्दा पहिले जग्गाको स्थिति ख्याल गर्नुपर्छ। आफ्नो जग्गा भएको स्थानमा तुरुन्तै घर बनाउन सकिन्छ वा सकिन्नबारे धेरैले ख्याल गर्दैनन्।
'जग्गा किन्न पुग्ने पैसा हुनासाथ मेरो पनि जमिन हुने भयो भनेर धेरैजसो उत्साहित हुन्छन्। त्यो खुसीमा कस्तो जग्गा किन्ने, मेसोमा पर्दैन,' इञ्जिनियर गैरे भन्छन्, 'उस्तै परे त्यो जग्गामा घर बनाउन पर्छ भन्ने भुल्छौं। जग्गाको प्लटले बजेट घटाउने वा बढाउने निश्चित गर्छ। तर हामी यस्तो कुरा ख्यालै गर्दैनौं।'
आफ्नो तुलनामा आफन्तको उस्तै घर सस्तोमा बनेको भए आफू ठगिएको महशुस गर्ने गैरे बताउँछन्। आफन्तको घर सस्तोमा बनेको मात्रै याद आउँछ। तर कसरी सस्तो भयो वा आफ्नो कसरी महँगो पर्न गयो भन्ने प्रश्नको उत्तर नभेटिन सक्छ। यसले घरको बजेट मात्रै होइन, घरधनीको तनाव पनि बढाउँछ।
मोहडा नमिलेको, मुख्य बाटोले नछोएको, बाटोभन्दा तल परेको वा धेरै भिरालो, कमलो माटो भएको जग्गाले घर बनाउँदा खर्च बढाइरहेको हुन्छ।
'किन्ने बेलामा ध्यान नदिनेहरूले घर बनाउँदा बल्ल जग्गा नमिलेको, बाटो तल परेको जस्ता समस्या भोग्न थाल्छन्,' गैरेले भने, 'अहिले पाँच लाख बढी खर्चेर राम्रो जग्गा पाइन्छ भने घर बनाउँदा दस लाख कम हुन सक्छ। तर अहिले पाँच लाख सस्तो जग्गा लिए घर बनाउँदा जग्गा मिलाउनै दस लाख खर्चिनु पर्ने हुन सक्छ।'
उनी अगाडि थप्छन्, 'संरचनामा १५ लाख बढी खर्च आयो भने बुद्धिमानी भएन। जग्गा रोज्दा पछि खर्च गर्न नपर्ने गरी रोज्नु पर्छ।'
२. केका लागि घर?
अवश्य पनि घर सुरक्षा, सहजता र आवश्यकता हेरेर बनाइन्छ। चाहना र आवश्यकता ख्याल गर्न नसक्दा घर बनाइसकेपछि चित्त नबुझ्ने हुन्छ। त्यसैले परिवार संख्या हेरेर कति तला वा कोठाको चाहिएको हो, निश्चित गर्नुपर्छ।
छिमेकीको भन्दा अग्लो र ठूलो भए प्रतिष्ठा बढ्ने धारणा आममान्छेमा भएकाले पनि घरको लागत बढेको गैरेको अनुभव छ।
'सामान्यतया हामीलाई डेढ तलाको घरले पुग्छ। तर सबैजसोलाई साढे दुई तलाकै बनाउनुपर्ने हुन्छ। यो सामाजिक असुरक्षासँग जोडिएको विषय पनि हो,' गैरे भन्छन्, 'घरलाई प्रतिष्ठासँग जोडेर कहिलेकाहीँ घरधनी आफैंले प्रतिस्पर्धा गरिरहेका हुन्छन्।'
यो धारणा परिवर्तन हुनुपर्छ। घर आवश्यकता हो, आफूलाई आवश्यक घरको आकार-प्रकार छनौट गर्न छिमेकी हेर्नु हुँदैन। घरमा तीन जना छन् भने तीन वटा बेडरूम भए पुग्छ। यो ज्ञान हुनुपर्छ। नत्र घर सुविधाजनक भन्दा पनि बोझ बन्ने सम्भावना बढ्छ।
३. घर बनाउने पूर्व तयारीः
अब्राहम लिंकनका भनाइ अनुसार चार घन्टा लगाएर रूख काट्नुपर्ने छ भने तीन घन्टा बन्चरो धार लगाउनु पर्छ। घर बनाउँदा पनि यसरी लामो समय तयारी गर्नुपर्ने गैरे बताउँछन्।
काम सुरू गर्नुअघि नै योजना, डिजाइनको महत्व बुझ्न जरुरी छ।
'मैले आफैं काम गर्दागर्दै कोठा सानो भएर फेरि भत्काउनु परेको, ठूलो भएर छुट्याउनु परेका धेरै समस्या भोगेको छु,' उनले भने, 'यो समस्या योजना र डिजाइन नपुगेर भएको हो। कतिपय अवस्थामा डिजाइन नै नहेरी घर बनाउन सुरू गर्ने पनि छन्।'
यस्तो अवस्थामा घर बनाउँदै जाँदा थपघट गर्नुपर्छ। थप झमेला उठाउनुपर्छ। खर्च पनि बढ्छ। त्यसमाथि भनेअनुसार बनाउन नमिल्दा दुःख गरेर बनाएको संरचना नै मननपर्न सक्छ। यी समस्याबाट बच्न घर बनाउने गृहकार्य गर्नुपर्ने गैरेको सुझाव छ।
४. विज्ञको सल्लाहः
सामान्यतया हामीले पहिल्यै घर बनाइसकेका आफन्त वा छिमेकीसँग सल्लाह लिन्छौं। उनीहरूले जानी-नजानी, बिगारेर वा विभिन्न समस्या भोगेर एउटा घर बनाएका हुन्छन्। तर घरको विज्ञान उनीहरूलाई थाहा भएको हुँदैन। अनुभवी भन्न मिल्छ, विज्ञ होइन।
एक हिसाबमा उनीहरूसँग सल्लाह लिनु नराम्रो होइन। तर घर बनाउँदा विज्ञको सल्लाह नै महत्वपूर्ण हुने गैरे बताउँछन्।
'मेरो खाना बनाउने बानी छैन तर परे पकाउँछु। मैले अड्कलेको चामल कि थोरै हुन्छ कि धेरै। पानी मात्रा मिलाउन नजान्दा कि गिलो हुन्छ कि साह्रो,' उदाहरण दिँदै गैरे भन्छन्, 'जसोतसो खाना पाक्छ। खान पनि खाइन्छ। तर जानेर पकाउनु र जसोतसो पकाउनुमा धेरै भिन्नता छ।'
जीवनमा एक पटक बनाइने घर जसोतसो टार्न नहुने उनको भनाइ छ।
यसैगरी आर्किटेक्टबाट नक्सा बनाए घरको ठाउँ व्यवस्थापन राम्रो हुन्छ। जग्गाअनुसार घाम कताबाट लाग्छ, हावा कताबाट बहन्छ लगायत कुरा आर्किटेक्टले विचार गरेर नक्सा तयार पारिदिन्छन्।
गैरे भन्छन्, 'संरचना बनाउन विज्ञकै सल्लाह लिनुस्। सुरूमा अलि महँगो लागे पनि दीर्घकालमा फाइदा लिन पाइन्छ।'
५. प्रविधि प्रयोगः
बजेटभित्र कसरी बनाइसक्ने भन्नेमा घर बनाउने प्रविधिले पनि ठूलो फरक पार्छ। हामीकहाँ पिलर राखेर बनाइने, गारोको, एएसी इँटाको, प्रिफ्याब जस्ता धेरै प्रविधि छन्। राम्रो छ भने प्रविधि प्रयोग गर्न हिचकिचाउनु नहुने गैरे बतउँछन्। सपनाको घर निर्माणमा प्रविधिले सघाउने उनको विश्वास छ।
'प्रविधि राम्रैका लागि आएका हुन्छन्। त्यसमा पनि प्राविधिकले कुन प्रविधि कसरी प्रयोग गर्ने राम्रो सल्लाह दिन सक्छन्। यसले घरको लागतमा ठूलो पार्छ,' गैरेले भने।
६. दक्ष कामदार र ठेकेदारः
हामीले महँगो पैसा तिरेर कोटको राम्रो कपडा किन्यौं, तर सिलाउने मान्छेसँग सीप नभएकाले लगाउनै नमिल्ने भयो। कपडा किन्न पैसा खर्चेको हो तर सिलाइ राम्रो नहुँदा कोट खेर गयो। अब के गर्ने?
यस्तो अवस्थामा दक्ष कामदारको महत्व बुझिने गैरे बताउँछन्।
'पैसा खर्चेर मात्रै राम्रो काम हुन्छ भन्न सकिन्न। तपाईंले कामदार वा ठेकेदार पनि राम्रो रोज्नुपर्छ,' गैरे भन्छन्, 'सूचिकार राम्रो परे थोरै कपडालाई पनि राम्रो र ज्यानमा ठिक्क हुने लुगा बनाइदिनसक्छ। घर बनाउने कुरा यस्तै हो।'
आज सस्तो कामदार खोजेर काम सक्ने मेसो गर्दा निकट भविष्यमा विभिन्न समस्याले घर मर्मत खर्च बढाइदिन सक्छ।
७. निर्माण सामग्री छनौटः
निर्माण सामग्री रोज्दा आवश्यकता र चाहनाअनुसार विचार गर्नुपर्छ। जस्तै घरमा लगाउने टायल एक सय बीस रूपैयाँ वर्गफिटदेखि सात सय रूपैयाँसम्म पाइन्छ। त्यस्तै झ्याल-ढोकामा लगाउने एउटा कब्जा पचासदेखि पाँच सय रूपैयाँ पनि पर्न सक्छ।
यस्तोमा घरको सुरक्षा ध्यानमा राखेर सम्झौता गर्न नहुने गैरे बताउँछन्। सुरक्षाबाहेकका निर्माण सामग्रीमा भने धेरै पैसा खर्च गर्दा अनावश्यक लागत बढ्छ। जस्तै टायल धेरै महँगो छान्नुभन्दा मध्यम मूल्यको छान्दा खर्च कम हुन्छ।
'आकर्षकभन्दा पनि आफ्नो आवश्यकता हेरेर वस्तु रोज्न सक्यो भने निर्माण लागत घटाउन सकिन्छ,' गैरेले भने, 'घरमा प्रयोग हुने यस्ता धेरै सामग्री छन् जसको पहिचान गरेर लागत घटाउन सकिन्छ।'
८. मर्मत खर्चः
सामान्यतया घर एकपटक बनाएर पचास वर्षका लागि ढुक्क हुन सकिन्छ। तर बेलाबेला मर्मत गर्नैपर्छ। गैरेका अनुसार घर बनाउने बेलामै मर्मतबारे हामी धेरैले ख्यालै राख्दैनौं।
एकतले घर ५० लाख रूपैयाँमा पनि बनाउन सकिन्छ, पाँच करोड खर्चे गरेर पनि बनाउन सकिन्छ। खर्च गरे अनुसार निर्माण कति दिगो हुन्छ, विचार पुर्याउन पर्ने गैरे बताउँछन्।
'हामीले घर बनाउँदा कुन कुरामा कति पैसा खर्च गर्दैछु, यसले दिने दिगोपन कति छ र कसरी मर्मत खर्च कम गर्न सकिन्छ विचार पुर्याउनुपर्छ,' उनले भने, 'निर्माणका भाषामा यसलाई प्रोजेक्ट लाइफ साइकल म्यानेजमेन्ट भनिन्छ।'
माथिका कुरामा ध्यान दिएमा बजेटभित्र बलियो घर बनाउन सकिने इञ्जिनियर गैरे बताउँछन्।