अन्तर्राष्ट्रिय बजारमा छड बनाउने कच्चा पदार्थ 'बिलेट' को मूल्य बढेपछि नेपाली बजारमा त्यसको असर देखिएको छ।
बिलेटको मूल्य प्रतिमेट्रिक टन ४० देखि ५० डलर वृद्धि भएपछि नेपालमा छडको कारखाना मूल्य प्रतिकेजी ३ रूपैयाँ बढेको नेपाल स्टिल तथा रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष किरण साखःले जानकारी दिए।
'केही महिनायता बिलेटको भाउ स्थिर छैन। त्यसको असर नेपालमा पनि पर्छ,' उपाध्यक्ष साखःले भने, 'मंगलबारदेखि प्रतिकेजी ३ रूपैयाँ बढेर कारखाना मूल्य ७८ रूपैयाँ कायम छ। यो भ्याट र बिक्रेताको नाफा बाहेकको भाउ हो।'
पञ्चकन्या स्टिलको आधिकारिक वितरक लक्ष्मी ट्रेडका प्रोपाइटर दीपक पौडेलका अनुसार बिहीबारबाट सबै प्रकारका छडमा उपभोक्ताले तिर्ने मूल्यमा प्रतिकिलो ६ रूपैयाँ बढेको छ। उपभोक्ताले पहिले ७८ रूपैयाँ किलोमा किन्दै गरेको डन्डी बिहीबारबाट ८४ रूपैयाँ किलोमा किन्नु परेको छ।
त्यस्तै पञ्चकन्या स्टिलको मूल्य भने प्रतिकिलो १०१ रूपैयाँ पुगेको छ।
'कारखानाबाट मूल्य बढेपछि हामीले १३ प्रतिशत भ्याट, ढुवानी र नाफा जोड्छौं,' पौडेलले भने, 'सोही अनुसार उपभोक्ताले खरिद गर्दा सबै डन्डीमा ६ रूपैयाँ बढेको छ।'
एक हजार वर्गफिटमा बन्ने चार कोठाको एक तले घरमा कति छड लाग्छ?
कुनै पनि संरचना बनाउँदा त्यसमा राखिने पिलर, भित्रको पर्खाल आदिले छडको लागत निर्धारण हुने 'बिल्ड इनोभेसन'का निर्देशक तथा बिल्डिङ विशेषज्ञ इञ्जिनियर सुवास अधिकारी बताउँछन्।
'जग राख्दा कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय पच्चीस किलोभन्दा बढी डन्डी लाग्छ,' उनले भने, '१२ वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी अनुमान गर्नुपर्छ।'
जगसँगै राखिने बिममा १२ मिमिको डन्डी र ८ मिमिको रिङ प्रयोग गर्नुपर्ने हुन्छ। अधिकारीका अनुसार यहाँ जम्मा छ सय बीस केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।
याद होस्, यहाँ एक हजार वर्गफिटमा बन्ने एकतले घरका लागि १२ वटा पिलर राखेर डन्डी मापन गरिएको छ। डिपिसी बिमका लागि पनि छ सय बीस केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।
यसपछि झ्यालमा तल र माथि गरी १० मिमिको डन्डी र हुक तीन सय केजीभन्दा बढी लाग्छ। यहाँ चार कोठे घरमा प्रति कोठा दुइटा झ्यालको हिसाब गरिएको छ।
भर्याङमा १२ मिमिको डन्डी प्रयोग हुन्छ। एक तला मात्रै घर बनाइने भएकाले लगभग नब्बे केजी लाग्छ।
पहिलो तलाको बिममा छत अडिएको हुन्छ। छ सय बीस केजीभन्दा बढी डन्डी यहाँ प्रयोग हुन्छ। समग्रमा पहिलो तलामा तीन वटा बिम हुन्छ जहाँ बराबर डन्डी आवश्यक पर्छ।
छतमा सबभन्दा धेरै डन्डी प्रयोग गर्नुपर्छ। यहाँ १० र ८ मिमिका डन्डी प्रयोग गरिन्छ। जम्मा छतका लागि करिव दुई हजार दुई सय केजी डन्डी लागत अनुमान गर्नुपर्ने हुन्छ। यति भएपछि पहिलो तलाका लागि डन्डीको मात्रा पूरा हुने अधिकारीले बताए।
माथिको लागत अनुमान अनुसार जगदेखि एकतले घरका लागि पाँच हजारदेखि छ हजार केजी डन्डी अनुमान गर्नुपर्छ। पहिलो तलामा जगको काम पनि गर्नुपर्ने भएकाले लागत बढी हुन्छ। दोश्रो तलामा तुलनात्मक रूपमा कम डन्डी लाग्छ।
मुख्य डन्डीबाहेक करिब एक सय पचास किलो 'बाइन्डिङ वायर' प्रयोग हुने उनले बताए। साथै डन्डीको आकार अनुसार मूल्य फरक पर्छ।
'८ मिमि र योभन्दा कम आकारको डन्डी सामान्यतया किलोमा पाँच रूपैयाँसम्म महँगो हुन्छ। २५ मिमिभन्दा मोटो डन्डीको मूल्य पनि बढी हुन्छ,' अधिकारीले भने, '१० मिमिदेखि २५ मिमिसम्मको डन्डी बजारमा समान्य मूल्यमा पाइन्छ।'
भाउ बढेसँगै विभिन्न कम्पनीका डन्डी करिब ८४ रूपैयाँ प्रतिकिलोमा पाइन्छ। माथिको अनुपातलाई हालको मूल्यसँग तुलना गर्दा एक हजार वर्गफिटभन्दा कम क्षेत्रफलमा बन्ने एक तले घरका लागि करिब साढे चार लाखदेखि पाँच लाख रूपैयाँ छडमा खर्च हुन्छ।
पञ्चकन्या ग्रुपको डन्डी प्रयोग गर्ने हो भने माथिको करिब पाँच लाखदेखि छ लाख रूपैयाँसम्म लाग्छ। बजार मूल्य परिवर्तन हुँदा लागत स्वतः घटबढ हुन्छ।
माथिको जानकारी अनुसार डन्डी प्रयोग गर्दा दुई तलासम्मको घर बनाउन सकिन्छ। तर त्योभन्दा धेरै तला थप्नु जोखिम हुनाले इञ्जिनियरको सल्लाह लिनुपर्ने अधिकारीले जानकारी दिए।
आवासीय घर बनाउँदा छडको सही छनोट कसरी गर्ने?
२०७२ सालको भुइँचालोपछि फलामे छड निर्माण कम्पनी र उपभोक्ता संख्या बढेको छ। प्रतिस्पर्धी बजारमा सबै कम्पनीले आफू अब्बल रहेको दावी गरिरहेका हुन्छन्। धेरै उपभोक्तालाई भने घरमा कस्तो छड प्रयोग गर्ने भन्ने अलमल भइरहेको हुन्छ।
इञ्जिनियर सुवास अधिकारीका अनुसार छड किन्ने बेलामा ध्यान दिनुपर्ने मुख्य कुरा ग्रेड र गुणस्तर हो।
साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। आवासीय घर निर्माणमा एफइ ५०० र एफइ ४१५ ग्रेडका छड धेरै प्रयोग हुन्छ।
छडको ग्रेड, भारवहन क्षमताका साथै लचकताबारे उत्तिकै सचेत हुनुपर्छ।
'ग्रेडले छडको बलियोपन बुझाउँछ। उच्च ग्रेडका छड भए थोरै परिमाणले काम चल्छ र बलियो पनि हुन्छ,' अधिकारीले भने, 'लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन सहयोग गर्छ।'
ध्यान दिनुपर्ने अर्को कुरा छडको गुणस्तर हो।
निर्माण कम्पनीले बजारमा पठाएको छडको प्रयोगशाला परीक्षण गरेको हुनुपर्छ। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।
त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम भएको अधिकारीले जानकारी दिए।
'छड धेरै किन्दा होस् वा थोरै, प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन,' उनले भने, 'कम्पनी वा आधिकारिक विक्रेताले रिपोर्ट दिन मानेनन् भने आफैंले पनि गुणस्तर जाँच गराउन सक्छौं।'
घर डिजाइन गर्ने कम्पनीहरूले प्रयोगशाला परीक्षण गर्ने र सरकारी तहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा छडको गुणस्तर जाँच हुने उनले जानकारी दिए।
बेलाबेलामा कम गुणस्तरका छड भेटिएको र यस्ता उत्पादकलाई गुणस्तर विभागले कारबाही गरेको खबर पनि सुनिन्छन्। त्यसैले सानो होस् वा ठूलो निर्माणका लागि, नबिर्सिकन त्यो छड गुणस्तर चिह्न प्राप्त हो कि होइन यकिन गर्नुपर्छ। निर्माण सुरू गर्नुअघि नै प्रयोग गरिने छडबारे राम्ररी बुझ्नुपर्छ।
'कहिलेकाहीँ नाम चलेका कम्पनीबाटै गडबढी भएको हुन्छ। यो कुरामा ध्यान दिनुपर्छ,' उनले भने, 'कवाडी फलाम पगालेर बनाएको डन्डी पर्यो भने निर्माण कमजोर हुन्छ। कम गुणस्तरका डन्डी कम मूल्यमा पाइने पनि हुन्छ। सस्तोमा पाइयो भन्दैमा किन्नु जोखिमपूर्ण हुन्छ।'
सामान्यतया हामीले एकपटक घर बनाउँछौं। यसमा वेवास्ता गरे जोखिम र हैरानी दुवै बेहोर्नुपर्ने हुनसक्छ। यदि आफूलाई छडबारे जानकारी छैन भने घर निर्माण जिम्मा दिइएको इञ्जिनियरसँग सोधपुछ गरी बुझ्न पनि उनी सुझाउँछन्।
अहिले बजारमा 'थर्मो मेकानिकल ट्रिटमेन्ट' प्रक्रियाद्वारा उत्पादित छड चल्तीमा छ। यसलाई सामान्य भाषामा टिएमटी छड भनिन्छ। व्यापारिक तथा आवासीय भवनमा टिएमटी छड नै प्रयोग भइरहेको अधिकारीले जानकारी दिए।
यस्तो छड ८, १०, १२, २० मिमि लगायत आकारमा उपलब्ध हुन्छ। घर बनाउने जमिन र संरचनाका आधारमा इञ्जिनियरले सुझाएअनुसार विभिन्न आकारका छड प्रयोग गर्नुपर्छ।