हामीले घर बन्न गारो (पर्खाल) चाहिन्छ भन्ने बुझेका छौं। तर पर्खालका किसिम के–के हुन्, कसरी बनाइन्छ, कसरी फिनिसिङ हुन्छ लगायतबारे धेरैलाई थाहा नहुन सक्छ।
यो स्टोरीमा हामीले निजी घर निर्माण कम्पनी 'मेरो घर' का सिइओ तथा इञ्जिनियर विपीन गैरेसँग यिनै विषयमा कुराकानी गरेका छौं।
पर्खालका किसिमः
विशेषगरी संरचनागत बनावटअनुसार पर्खाल दुई किसिमका हुन्छन्।
एउटा, घरको भार थाम्ने (लोड बेयरिङ वाल)।
अर्को, घरका कोठा छुट्याउन लगाइने (नन लोड बेयरिङ वाल)।
पहिले हामी भार थाम्ने गारोबारे बुझौं।
कुनै घर इँटा, ढुंगा वा एएसी ब्लकबाट बनेको छ, तर पिलर राखिएको छैन भने उक्त घरको सबै भार पर्खालमा पर्छ। यस्तो पर्खाल बलियो बनाउनुपर्छ र यसैलाई 'लोड बेयरिङ वाल' भनिन्छ।
'सबै घर पिलर राखेरै बनाइन्छ भन्ने हुँदैन। घर बनाउने स्थान, के प्रयोजनका लागि बनाइने, कत्रो बनाउने भन्ने आधारमा पर्खालको संरचना फरक पर्छ,' इञ्जिनियर गैरेले भने, 'पिलर नभएका बन्ने घरको सबै भार पर्खालमा पर्छ। त्यसैले पर्खाल धान्ने क्षमताको बनाउनुपर्छ।'
गैरेका अनुसार यस्तो गारो एकै ढिक्कामा बनेको हुन्छ। यसले नै छानोको भार पनि थाम्छ। एक तलाभन्दा बढीको घर भए, तला छुट्याउन गारोमाथि सिमेन्टको पिलरजस्तै मोटो तेर्सो स्ल्याब राखिन्छ।
लोड बेयरिङ वाल बनाएपछि भित्तोका कुनै एक भाग भत्काउँछु भन्दा मिल्दैन। किनकी छाना र चारैतिरका गारोसँग जोडिएर यो बलियो भएको हुन्छ। एक कुना भत्काए सबै संरचना कमजोर बन्छ। भत्किन सक्छ।
यस्तो पर्खाल मोटो बनाइएको हुन्छ। लोड बेयरिङ वाल राखेर घर बनाउँदै सबैतिरको गारो समान रूपमा उठाउँदै जानुपर्छ। एकातिरको बनाइसकेर, अर्कोतिरको बनाउन उपयुक्त हुँदैन।
यसबारे अझै धेरै जानकारीका लागि घर बनाउनुपूर्व इञ्जिनियर वा प्राविधिकसँग सम्पर्क गर्नुपर्ने गैरे बताउँछन्।
त्यस्तै अर्को हो नन लोड बेयरिङ वाल।
यो भने पिलर राखिएको घरमा, कोठाहरू छुट्याउन लगाइन्छ। कंक्रिट घरका सबै पिलर उठाइसकेपछि मात्रै यस्तो गारो लगाए पुग्छ। पर्खाल लगाउनु अगावै पिलर राखेर ढलान पनि गरिन्छ। अनि मात्र आवश्यकताअनुसार कोठा छुट्याउन सकिन्छ।
'यो पर्खाल पातलो वा मोटो, जस्तो लगाए पनि फरक पर्दैन। यसमा घरको भार नपर्ने हुँदा भित्री भागमा इँटा, प्लाइवुड, सिसा वा आलुमिनियम जस्ता जुनसुकै सामग्रीको लगाउन मिल्छ,' गैरेले भने।
यस्तो गारो भत्काउन पनि समस्या हुँदैन। घरको भार पिलरमा हुने भएकाले त्यसको फ्रेमभित्र पर्ने पर्खाल सजिलै भत्काएर कोठा फराकिलो पार्न वा अरू सामानको गारो लगाउन पनि सकिन्छ। एउटा मात्र वा सबै भित्ता फोरेर नयाँ लगाउँछु भन्दा पनि फरक पर्दैन।
पर्खालमा इन्सुलेन आवश्यकः
पर्खाल लगाउनु भनेको इँटा र सिमेन्ट जोड्नु मात्र होइन। पर्खालले दुई कोठा छुट्याउनुका साथै तापक्रम सन्तुलन राख्ने र आवाज बाहिरभित्र आउन नदिने पनि काम गर्छ। यसका निम्ति पर्खालमा 'इन्सुलेसन' राख्न जरूरी हुन्छ।
इन्सुलेसन भनेको पर्खालमा प्लास्टर गर्नुअघि वा दुई तहको इँटा राखिएको भए बीचमा राखिने एउटा बोर्ड हो। यो फम, कंक्रिट, विशेष प्रकारको सिसा वा कपडा लगायत विभिन्न सामानबाट बनेको हुन सक्छ।
बजारमा विभिन्न खाले इन्सुलेसन पाइन्छ। प्रायःजसो तापक्रम र आवाज नियन्त्रणका लागि एउटै इन्सुलेसनले काम गर्ने गैरे बताउँछन्। यसका निम्ति आफूलाई कस्तो आवश्यक हो भनेर घर बनाउनुपूर्व इञ्जिनियरसँग सुझाव लिनुपर्छ।
सामान्यतया बाहिरी गारो मोटो बनाइने हुनाले हामीकहाँ इन्सुलेसन राख्ने चलन छैन। धेरैले घरभित्रैका कोठाहरू छुट्याउँदा पनि यसमा त्यति ध्यान नदिने गैरे बताउँछन्। तर काठमाडौंजस्तो घन्चमन्च ठाउँमा बनाइने घरका गारोमा इन्सुलेसनको महत्व अझै बढी हुन्छ।
पर्खाल फिनिसिङः
पर्खाल लगाइसकेपछि पहिले त प्लास्टर नै गरिन्छ। सामान्यतया आधा इन्चदेखि एक इन्चसम्मको प्लास्टर लगाउने गरिन्छ। इँटाहरू नमिलेका छन् भने प्लास्टर अझै मोटो गर्नुपर्छ।
भित्री गारोको प्लास्टर र बाहिरी गारोको प्लास्टरमा केही भिन्नता भने हुन्छ।
बाहिरी प्लास्टरमा सिमेन्ट र बालुवाको मिश्रण १ः४ को अनुपातमा हुन्छ भने, भित्री प्लास्टरमा १ः६ को अनुपातमा मिश्रण तयार पार्न सकिने गैरे बताउँछन्।
गैरे भन्छन्, 'हावा, पानी, तापक्रम आदि कारण बाहिरी प्लास्टरमा खराबी आउन सक्छ। त्यसैले यो बलियो हुनु जरुरी छ।'
प्लास्टरपछि पुटिङको काम हुन्छ। पुटिङ भित्तामा रङ लगाउनु पहिले नै गरिन्छ। पुटिङ भनेको सेतो सिमेन्टको मसिनो धूलो हो। यसलाई पानीको मिश्रणमा मस्याइलो बनाइन्छ र गारोमा एकनासले पातलो तहमा लगाइन्छ।
खासगरी पानी रसाउन सक्ने सम्भावना भएको ठाउँमा पुटिङ गर्नुपर्छ। यसले भित्तामा आउन सक्ने चिरा पनि कम गर्न सहयोग गर्छ। राम्रोसँग पुटिङ गरिसकेपछि प्राइमर लागाउनु पर्छ। यसपछि रङ लगाउन सकिन्छ।
पर्खालमा रङः
बजारमा ए, बी र सी ग्रेडका रङ पाइन्छन्। ए ग्रेडलाई धेरै राम्रो मानिन्छ। तर सी ग्रेडको रङ लगाउनै नहुने भन्ने हुँदैन। कस्तो रङ प्रयोग गर्ने, घर निर्माणमा छुट्याइएको बजेटमा भर पर्ने गैरे बताउँछन्।
'भित्ताको अवस्था सुख्खा वा पानी नरसाउने किसिमको भए सिधै रङ वा वालपेपर लागाउन सकिन्छ,' गैरे भन्छन्, 'बाथरूम वा ओसिलो सतह, पाइपलाइन भएको ठाउँमा फिनिसिङ गर्दा वाटर प्रुफिङपछि मात्रै रङ वा वालपेपर लगाउनु पर्छ।'
रङ लगाउँदा सामान्यतया एउटा कुरा ख्याल गर्नुपर्छ- वार्म कलर लगाउने कि कूल कलर।
रातो, पहेँलो, सुन्तले आदि वार्म कलर हुन्। गैरेका अनुसार चिसो, जाडो ठाउँमा यस्ता रङ प्रयोग गरिन्छ।
त्यस्तै निलो, खरानी वा अरू गाढा रङ लगायत कूल कलरमा पर्छन्। गर्मी ठाउँमा यी रङ बढी प्रयोगमा ल्याइएको हुन्छ। गैरेका अनुसार सेतो भने सदावहार रङ हो।
सबै रङको आ–आफ्नै महत्व र अर्थ हुन्छ। यसमा घरधनीको इच्छाले पनि प्रभाव पार्छ नै।
'पूरै घरमा एउटै रङ प्रयोग गर्दा बजेट व्यवस्थापनमा सहयोग पुग्छ,' गैरेले भने, 'यसरी घरको गारो फिनिसिङ गर्न सकिन्छ।'
यी पनि पढ्नुस्ः घरमा पार्केटिङ गर्ने हो? यस्तो छ फाइदा र मूल्य
थोरै जग्गामा, कम खर्चमा बनाउन सकिने ४ प्रकारका घर (भिडिओ)