सहरी क्षेत्रमा फलामे छड बिना घर कमै बन्छन्। छडलाई घरको बलियोपनसँग जोडेर हेरिन्छ। यसो भनिरहँदा धेरै छड प्रयोग गर्दैमा घर बलियो हुने पक्कै होइन।
त्यसो भए घर बनाउन कहाँ–कहाँ कस्तो डन्डी कति प्रयोग गर्नु आवश्यक छ?
यसबारे हामीले निर्माण कम्पनी 'बिल्ड इनोभेसन'का निर्देशक तथा बिल्डिङ विशेषज्ञ इञ्जिनियर सुवास अधिकारीसँग कुराकानी गरेका छौं।
उनका अनुसार पहिले त कस्तो किसिमको, कति तले, कति कोठे घर बनाउने हो निश्चित हुनुपर्छ। डिजाइनले धेरै कुरा प्रभाव पार्ने भएकाले सोहीअनुसार इञ्जिनियरसँग छडबारे पूर्ण जानकारी लिनुपर्छ।
तर कुनै घर बनाउँदा 'एमआरटी' (म्यान्डेटरी रूल अफ थम) पूरा हुन्छ भने डन्डीको मात्रा हिसाब गरिरहनुपर्दैन। यो भनेको घर बनाउने ठाउँको क्षेत्रफल यति, यस्तो संरचना लगायत कुरा पहिल्यै निश्चित गरिएको मापदण्ड हो। यो मापदण्ड पूरा भएका घरमा के-कति छड लाग्छ भनेर पहिल्यै अनुमान गर्न सकिन्छ।
'अनिवार्य भनिएको नियममा आवश्यक कुरा हेरफेर गर्न मिल्दैन। यो नियमअनुसार घर बनाउँदा पास गर्न पनि सजिलो हुन्छ,' अधिकारीले भने, 'घरको डिजाइन, मोहोडा हेरफेर गर्नुपरे सोहीअनुसार डिजाइनरले आवश्यक ठाउँमा छड थप्ने र अनावश्यक स्थानमा कम गर्ने सुझाव दिन्छन्।'
यहाँ हामीले 'एमआरटी' अपनाएर बनाइने घरबारे नै कुरा गरेका छौं। यो नियम पूरा हुन केही आधारहरू हुन्छन्।
पहिलो, घरको जम्मा क्षेत्रफल एक हजार वर्गफिटभन्दा कम हुनुपर्छ। साधारणतया आवासीय घर यही क्षेत्रफल आसपास बन्छन्।
दोश्रो, दुइटा पिलरबीचको दूरी १४ फिट ९ इन्चभन्दा बढी हुनु हुँदैन।
अर्को भनेको छतको क्षेत्रफल हो। यहाँ चार वटा पिलरबाट बनेको क्षेत्रफल १४४ वर्गफिटभन्दा कम हुनुपर्छ।
'माथिका तीन कुरा मिलेको अवस्थामा संरचनागत मूल्यांकन नगरी छड तथा डन्डीको मात्रा अनुमान गर्न सकिन्छ,' अधिकारीले जानकारी दिए।
यी नियमलाई आधार बनाउँदा हामीले घरको जगदेखि जानकारी लिनुपर्छ।
सामान्यतया जग राख्दा तल्लो बिममा १२ मिलिमिटर (मिमि/एमएम) को डन्डी प्रयोग हुन्छ। यो बिम घरको जगसँगै हुन्छ। पिलरका लागि भने १६ मिमि र १२ मिमिको डन्डी मिलाएर राख्नुपर्छ।
मुख्य डन्डीहरूलाई ८ मिमिका छडले बाँधिएको हुन्छ। जसलाई निर्माणको भाषामा रिङ वा चुरी भनिन्छ।
अर्को, डिपिसी वा प्लिन्थ बिमको कुरा आउँछ। यहाँ कम्तीमा १२ मिमिको डन्डी राख्नैपर्ने नियम छ। त्यस्तै भर्याङमा पनि १२ मिमिकै राख्नपर्छ।
'यी आकारका डन्डी मात्रा मिलाएर प्रयोग गर्नेबारे भने इञ्जिनियरले नै बताउनेछन्,' अधिकारीले भने, 'कहाँ कति राख्ने भन्ने कुरा प्राविधिक हो, यसै भन्न मिल्दैन।'
झ्यालको तल र माथि पनि डन्डी राख्नुपर्छ। नियमअनुसार यहाँ कम्तीमा १० मिमिका डन्डी हुनुपर्छ। अनि छतमा राखिने डन्डीको कुरा आउँछ। यहाँ अझै ध्यान दिनुपर्ने अधिकारी बताउँछन्।
'छतको पाटो महत्वपूर्ण हुन्छ। त्यसो त सबै आवश्यक छन् तर छतमा सानो खराबीले सधैंभरी समस्या निम्त्याउन सक्छ,' उनले भने, 'यहाँ कम्तीमा ८ मिमिको डन्डी राख्नुपर्छ। तर उपभोक्ताले थप मजबुतिका लागि ८ र १० मिमिको मिश्रण तयार पारेका हुन्छन्।'
अब एक हजार वर्गफिटमा बन्ने चार कोठाको एक तले घरमा कति छड लाग्छ?
कुनै पनि संरचना बनाउँदा त्यसमा राखिने पिलर, भित्रको पर्खाल आदिले छडको लागत निर्धारण हुने इञ्जिनियर अधिकारी बताउँछन्।
'जग राख्दा कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय पच्चीस किलोभन्दा बढी डन्डी लाग्छ,' उनले भने, '१२ वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी अनुमान गर्नुपर्छ।'
जगसँगै राखिने बिममा १२ मिमिको डन्डी र ८ मिमिको रिङ प्रयोग गर्नुपर्ने हुन्छ। अधिकारीका अनुसार यहाँ जम्मा छ सय बीस केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।
याद होस्, यहाँ एक हजार वर्गफिटमा बन्ने एकतले घरका लागि १२ वटा पिलर राखेर डन्डी मापन गरिएको छ। डिपिसी बिमका लागि पनि छ सय बीस केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।
यसपछि झ्यालमा तल र माथि गरी १० मिमिको डन्डी र हुक तीन सय केजीभन्दा बढी लाग्छ। यहाँ चार कोठे घरमा प्रति कोठा दुइटा झ्यालको हिसाब गरिएको छ।
भर्याङमा १२ मिमिको डन्डी प्रयोग हुन्छ। एक तला मात्रै घर बनाइने भएकाले लगभग नब्बे केजी लाग्छ।
पहिलो तलाको बिममा छत अडिएको हुन्छ। छ सय बीस केजीभन्दा बढी डन्डी यहाँ प्रयोग हुन्छ। समग्रमा पहिलो तलामा तीन वटा बिम हुन्छ जहाँ बराबर डन्डी आवश्यक पर्छ।
छतमा सबभन्दा धेरै डन्डी प्रयोग गर्नुपर्छ। यहाँ १० र ८ मिमिका डन्डी प्रयोग गरिन्छ। जम्मा छतका लागि करिव दुई हजार दुई सय केजी डन्डी लागत अनुमान गर्नुपर्ने हुन्छ। यति भएपछि पहिलो तलाका लागि डन्डीको मात्रा पूरा हुने अधिकारीले बताए।
माथिको लागत अनुमान अनुसार जगदेखि एकतले घरका लागि पाँच हजारदेखि छ हजार केजी डन्डी अनुमान गर्नुपर्छ। पहिलो तलामा जगको काम पनि गर्नुपर्ने भएकाले लागत बढी हुन्छ। दोश्रो तलामा तुलनात्मक रूपमा कम डन्डी लाग्छ।
मुख्य डन्डीबाहेक करिब एक सय पचास किलो 'बाइन्डिङ वायर' प्रयोग हुने उनले बताए। साथै डन्डीको आकार अनुसार मूल्य फरक पर्छ।
'८ मिमि र योभन्दा कम आकारको डन्डी सामान्यतया किलोमा पाँच रूपैयाँसम्म महँगो हुन्छ। २५ मिमिभन्दा मोटो डन्डीको मूल्य पनि बढी हुन्छ,' अधिकारीले भने, '१० मिमिदेखि २५ मिमिसम्मको डन्डी बजारमा समान्य मूल्यमा पाइन्छ।'
अहिले विभिन्न कम्पनीहरूले ७७ रूपैयाँदेखि ८१ रूपैयाँसम्म प्रति किलो कारखाना मूल्य कायम गरी बजारमा डन्डी पठाइरहेका छन्। माथिको अनुपातलाई हालको मूल्यसँग तुलना गर्दा एक हजार वर्गफिटभन्दा कम क्षेत्रफलमा बन्ने एक तले घरका लागि करिब चारदेखि पाँच लाख रूपैयाँ छडमा खर्च हुन्छ।
माथिको जानकारी अनुसार डन्डी प्रयोग गर्दा दुई तलासम्मको घर बनाउन सकिन्छ। तर त्योभन्दा धेरै तला थप्नु जोखिम हुनाले इञ्जिनियरको सल्लाह लिनुपर्ने अधिकारीले जानकारी दिए।
यी पनि हेर्नुस्ः
घर बनाउँदा कस्तो छड रोज्ने? किन्दा हेर्नैपर्ने कुरा के-के हुन्?
घरमा पार्केटिङ गर्ने हो? यस्तो छ फाइदा र मूल्य
कोठामा वालपेपर राख्न कति खर्च लाग्छ? के छ फाइदा?