सामान्यतया घर बनाउँदा कोठालाई आधार मानेर घरको आकार र आवश्यक क्षेत्रफल आकलन गरिन्छ। जस्तै चार कोठे घर, तीन कोठे घर। तर यो एकाइ पुरानो भइसकेको छ जसले घरको पूर्ण जानकारी दिन सक्दैन।
त्यसैले हिजोआज कति कोठे भन्दा पनि कति 'बिएचके' भन्ने चलन छ। इञ्जिनियर तथा निजी घर निर्माण कम्पनी 'मेरो घर' का सिइओ विपीन गैरे यो प्रचलन व्यावहारिक भएको बताउँछन्।
'घरको आकारलाई हिजोआज बिएचके भनेर नाम दिइन्छ,' सिइओ गैरे भन्छन्, 'वान-बिएचके, टु-बिएचके, थ्री-बिएचके। बिएचके अर्थात् बेडरम, हल र किचन।'
कुनै घरमा तीन वटा बेडरूम, एक हल र एक किचन छ भने त्यो थ्री-बिएचके घर भयो।
गैरेका अनुसार मानिसलाई आरामदायी रूपमा बस्न कति ठाउँ पर्याप्त हुन्छ भन्ने धेरैले ख्याल गर्दैनन्। विषेशगरी नेपालजस्ता देशमा एउटै कोठामा धेरै जना बसिरहेका हुन्छन्। तर विकसित देशमा निर्धारित ठाउँ पूरा हुनै पर्ने उनी बताउँछन्।
'मानौं कुनै देशमा एक सय वर्गफिटमा दुई जना बस्न नपाइने नियम हुन्छ। यस्तोमा यति ठाउँमा एक जना नै बस्नुपर्छ। दुई जना बस्न दुई सय वर्गफिट क्षेत्रफल लिनुपर्छ,' उनी उदाहरण दिँदै थप्छन्, 'आवश्यकता बुझेर त्यस्तो नियम राखिएको हुनुपर्छ। हामीले पनि बिस्तारै आरामदायी घरको अवधारणा विकास गर्दैछौं।'
त्यसो हो भने आरामदायी घरको न्यूनतम मापदण्ड कति हो त?
एक अध्ययनले देखाएअनुसार हामीले सबभन्दा धेरै समय बेडरूममा बिताउँछौं, पूरा दिनको ३५ देखि ४० प्रतिशत समय। घर बाहिर २२ देखि ३८ प्रतिशत समय बिताउँछौं। त्यस्तै लिभिङरूम (हल) मा २० देखि ३० प्रतिशत। किचनमा हामी ५ देखि १० प्रतिशत समय बस्छौं भने शौचालय र अन्य ठाउँमा पूरा दिनको १० प्रतिशतसम्म बित्छ।
अध्ययनलाई नै आधार बनाउँदा घरमा बिताउने समय अनुकूलताका आधारमा हाम्रो ठाउँहरूको क्षेत्रफल हुनु आवश्यक रहेको इञ्जिनियर गैरे बताउँछन्।
'बेडरूममा ३० प्रतिशत समय बिताउँछौं भने पूरा घरको ३० प्रतिशत क्षेत्र बराबर बेडरूम हुनुपर्छ,' उनी बुझाउँछन्, 'यो न्यूनतम मापदण्ड हो। आवश्यकता र सुविधाअनुसार यो क्षेत्रफल बढाउन सकिन्छ।'
सामान्यतया घरमा निजी (प्राइभेट), सामूहिक (कमन) र उपयोगी (युटिलिटी) स्पेस गरी ३ प्रकारका क्षेत्र हुन्छ। निजी भन्नाले बेडरूम र अट्याच बाथरूम बुझिन्छ। सामूहिक भन्नाले किचन-डाइनिङ, बाहिरको बाथरूम, लिभिङ रूम, पूजाकोठा। त्यस्तै उपयोगी भन्नाले स्टोर रूम, पार्किङ, ग्यारेज आदि।
एउटा सामान्य घरको सामूहिक ठाउँमा किचन, डाइनिङ, लिभिङरूम र बाथरूम अनिवार्य हुन्छन्। किचन, डाइनिङ र लिभिङरूम एकै ठाउँमा सकेसम्म खुला भएमा, थोरै ठाउँबाट पनि फाइदा लिन सकिने इञ्जिनियर गैरे बताउँछन्। बेडरूम भने आवश्यकता अनुसार राखिन्छ।
सामूहिक ठाउँ कत्रो हुन आवश्यक छ?
गैरेका अनुसार इञ्जिनियरिङ हिसाबले घरको बेडरूमका आधारमा सामूहिक ठाउँको क्षेत्रफल तय हुन्छ।
यसका लागि आफूले प्राविधिक वा नाप्ने कुनै टेप बिना कोठा वा ठाउँको क्षेत्रफल थाहा पाउन सिक्दा राम्रो। उपाय पनि सजिलो छ।
सामान्यतया हाम्रो हातको कुहिनादेखि औंलासम्म एक फिट बराबर हुन्छ। प्रायः सबैलाई आफ्नो उचाइ पनि थाहा हुन्छ। हामीले दुवै हात फैलाउँदा हुने लम्बाइ, हाम्रो उचाइ लगभग बराबर हुन आउँछ।
'तपाईंको उचाइ पाँच फिट छ र तपाईं बस्नुभएको कोठा दुवैतिर हात फैलाउँदा लम्बाइ-चौडाइ बराबर हुन आउँछ भने त्यो कोठा पाँच बाइ पाँच अर्थात्, पच्चीस वर्गफिटको हुन्छ,' गैरे प्रस्ट्याउँछन्, 'यो नापलाई आवश्यकता अनुसार अन्दाज गरी प्रयोग गर्न सकिन्छ।'
नापको अन्दाज भइसकेपछि घरमा आवश्यक पर्ने ठाउँको कुरा गरौं।
गैरेका अनुसार किचन सानोमा पाँच बाइ दस फिट (लम्बाइ-चौडाइ) अर्थात् पचास वर्गफिटको हुन आवश्यक छ। त्यस्तै डाइनिङका लागि दस बाइ दस, अर्थात् एक सय वर्गफिट हुनु राम्रो मानिन्छ।
दस बाइ बाह्र, अर्थात् एक सय बीस वर्गफिटको लिभिङ रूम 'स्ट्यान्डर्ड' मानिन्छ। आफ्नो घरको क्षेत्रफलअनुसार यसलाई अझै ठूलो बनाउन सकिन्छ। तर अरू कोठाभन्दा ठूलो भएमा भद्दा देखिन सक्ने उनी बताउँछन्।
एक बेडरूम घरमा एक सय पचासदेखि दुई सय वर्गफिट बराबर कमन स्पेस आवश्यक पर्छ।
अब लागौं बेडरूमको आकारमा।
बेडरूममा प्रयोग गरिने फर्निचरका आधारमा यसको आकार निर्धारण हुने गैरे बताउँछन्। सिंगल, ट्विन (डबल), क्विन-साइज, किङ-साइज बेड, सोफा, दराज के-के राख्ने हो, त्यही आधारमा कोठाको आकार निर्धारण हुन्छ।
सबभन्दा सानो बेडरूमको कुरा गरौं, नौ बाइ नौ अर्थात् एकासी वर्गफिटको। यसमा एउटा ट्विन बेड राख्न सकिन्छ। वा एक जना मात्र सुत्न मिल्ने दुइटा बेड, सानो दराज र सानो टेबल राख्न मिल्छ।
'दुई जना सुत्न मिल्ने बेडरूम भने एक सय वर्गफिटको हुन पर्छ,' उनी भन्छन्, 'ठूलो बेड राख्ने हो भने यो क्षेत्रफल बढाउन सकिन्छ। बेडरूममा ३५ देखि ४० प्रतिशत समय बित्ने हुँदा यो साँघुरो महशुस हुनु हुँदैन।'
तीसदेखि चालीस वर्गफिटमा कमन बाथरूम बनाउन सकिन्छ। अट्याच बाथरूम अझै सानो पनि हुन सक्छ।
गैरेका अनुसार एउटा घरको बीस प्रतिशत क्षेत्रफल हिँड्न, डुल्न प्रयोग हुन्छ। भित्ता र पिलरले दसदेखि पन्ध्र प्रतिशत क्षेत्रफल ओगटेको हुन्छ।
'माथिको क्षेत्रफललाई एकमुष्ठ हेर्दा एउटा बेडरूम, हल र किचनको (वान-बिएचके) घर तीन सयदेखि पाँच सय वर्गफिटमा बन्छ। यसलाई आरामदायी मान्न सकिन्छ,' उनले भने।
त्यस्तै टु-बिएचके घर पाँच सयदेखि सात सय वर्गफिटमा बन्छ। तीन बेडरूमको घर सात सयदेखि हजार वर्गफिट क्षेत्रफलको हुन्छ।
गैरेका अनुसार आरामदायीका हिसाबले न्यूनतम आवश्यक क्षेत्रफलको यो आँकडा भुँइतले घरका लागि मात्रै हो।
यी पनि पढ्नुस्ः
४ कोठे घर बनाउन कति खर्च लाग्छ गिटी-बालुवामा?
घर बनाउँदा कुन सिमेन्ट प्रयोग गर्ने? के छ ओपिसी र पिपिसीको विशेषता
४ कोठे घर बनाउन इँटामा कति खर्च हुन्छ?
घर बनाउन इँटाको विकल्प एएसी ब्लक, १५ प्रतिशत सस्तो