भैरहवामा रहेका अग्नि र सिद्धार्थ सिमेन्टको अनुगमन त्रुटीपूर्ण भएको पाइएको छ।
अनुगमनका क्रममा टोलीले यसअघि दुवै सिमेन्टका पाँच–पाँच बोरा नमुना परीक्षण गर्दा दुई–दुई बोरामा तोकिएभन्दा कम तौल भेटाएको थियो।
अनुगमनका क्रममा नमुना संकलन नै न्यूनतम मापदण्डभन्दा कम लिइएको पाइएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वावु पुडासैनीका अनुसार एक ठाउँ वा गोदाममा १ सय देखि १ सय ५० बोरा÷प्याकेट भएमा कम्तीमा २० बोरा÷प्याकेटको नमुना परीक्षण गर्नुपर्दछ।
उनका अनुसार एउटा गोदाम वा ठाउँमा १ सय ५० देखि २ सय ८० बोरा वा प्याकेट भएमा कम्तीमा ३२ वटाको नमुना परीक्षण गर्नुपर्छ।
२ सय ८० देखि ५ सय बोरा वा प्याकेट भएमा ५०, ५ सय देखि १ हजार २ सय बोरा वा प्याकेट भएमा ८०, १ हजार २ देखि ३ हजार २ सय बोरामा १ सय २५ र ३ हजार २ सयभन्दा माथिको सङ्ख्या भएमा २ सय बोरा नमुना लिनु पर्ने व्यवस्था छ।
अनुगमनमा गएका उद्योग मन्त्रालयका जनसम्पर्क अधिकृत यज्ञराज खरेलका अनुसार अग्नी सिमेन्ट प्याकिङ गर्दागर्दै ५ बोरा सिमेन्टमा जाँच गर्दा २ बोरामा कम तौल पाइएको थियो।
अग्नि सिमेन्टका निर्देशक तारा प्रसाद पोखरेलले अनुगमन कार्यमा धेरै त्रुटी रहेको दावी गरे। उनले भने ‘नमुना लिँदा कम्तीमा पनि २० बोरा लिइन्छ, ५० केजीका २० बोरा लिँदा १ हजार केजी पुगेन भने मात्रै तौल कम भएको मानिन्छ।’ तर उद्योगमै आएको अनुगमन टोलीले भने जम्मा ५ बोराको मात्रै नमुना संकलन गरेको उनले बताए।
अर्कोतर्फ, एउटा बोरामा कुल तोकिएको तौलको १ प्रतिशत कम वा बढी हुँदा त्यसलाई तौलको गडबढी भन्न नमिल्ने उनको भनाइ छ।
‘एउटा बोरामा १ प्रतिशतसम्म कम भएर केही हुँदैन, निर्देशिकाले पनि त्यसलाई छुट दिएको छ तर औसतमा तौल कम हुन हुँदैन’ उनले भने।
पुडासैनी पनि पोखरेलको भनाइमा सहमत छन्। उनले भने ‘अन्तर्राष्ट्रिय स्तरमा नै एउटा बोरामा १ प्रतिशतसम्म कम वा बढी हुँदा केही हुँदैन, तर औसतमा तोकिएको कुल परिमाण पुग्नुपर्ने मान्यता छ।’
तर नमुना संकलनका क्रममा तौल कमी पाइएका कुनै पनि बोरामा १ प्रतिशतको सीमा पनि पुगेको छैन।